आफ्ना अग्रजहरुको सम्मान सबैलाई हुन्छ र हुनु पर्छ किनकि हामी जहाँ छौँ,जुन अबस्थामा छौँ त्यसको कारण अविभावक नै हुन्। परिवारमा बाबुआमाले आफ्ना सन्तानलाई हुर्काउन,सवल र सक्षम बनाएर आत्मनिर्भर बनाउन प्रतक्ष भूमिका खेलेका हुन्छन। छिमेकी वा आफन्तहरुले बाहिरबाट आशिर्वाद दिएर,सम्झाएर र आबश्यक पर्दा गालि नै गरेर समुदायका नयाँ पिंढीलाई सुरक्षा र प्रेरणा प्रदान गरिरहेका हुन्छन। संघ संगठनमा पनि अग्रजहरुले कामको सन्तुलित मुल्यांकन गर्दै प्रेमपूर्वक नयाँ नेतृत्वलाई हुर्काई रहेका हुन्छन। उनीहरुको योगदान प्रतक्ष रुपले संगठनको लागि भएपनि परोक्ष रुपले देश वा विश्वको लागि भैरहेको हुन्छ। पत्रकार संघ संगठनहरुमा पनि सरदर यहि सार्वभौम नियमले काम गरिरहेको हुन्छ। अर्थात तलबाट माथि सम्मान र अपेक्षा साथै माथिबाट तल वात्सल्य र प्रेम। एक अग्रज गुमाएकोमा राज्य र पत्रकार नेतृत्व प्रति मात्र त्यहि सम्मान र अपेक्षा !
पंतिकारको गुनासो ,स्वर्गीय अग्रज पत्रकार त्रिभुवन पौडेलले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान र पाउनु पर्ने सम्मानबारेको हो। उहाँले २०७९ माघ १ गते जहाज दुर्घटनामा आफ्नो उर्जाशील जीवन मात्र गुमाउनु भएन,आफ्ना कलिला सन्तानहरुलाई हुर्काउन नपाउंदै सन्तान,श्रीमती,अविभावकसँगै सिंगो पत्रकारिता जगतलाई दुखित र स्तब्ध बनाउदै अस्त हुनु भयो। उहाँसंग परिवार सहित देशलाई दिनसक्ने प्रसस्त उर्जाशील समय थियो। उहाँको पत्रकारितामा निम्छरिलो वर्ग सोच थियो,तल्लो वर्ग प्रतिको प्रेमभाव र चेतनाको परिस्कृत प्रभाव थियो। साथै भविष्यमा सिंगो पत्रकारिताको माध्यामबाट समाज,देश र विश्वमा हुँदा खानेहरुको पक्षमा,न्यायिक समानताको आवाज समेत थियो। जुन आवाजलाई संसारभरी बौद्धिक र श्रमिक पत्रकारहरुले आफ्नो ठान्दछन र प्रेम गर्दछन।
‘क्लिक बेट पत्रकारिताको फिल्टर गर्ने संयन्त्र राज्यले छिटो निर्माण नगरे राज्य अफवाहको भुमरीमा फस्छ र देश अर्को विपदमा जान्छ’ भनेर आवाज उठाउने पत्रकार त्रिभुवन उमेरले पंतिकार भन्दा सानो भए पनि सांगाठानिक हिसावले अग्रज हुनुहुन्छ। विश्वभरिका पत्रकारहरुलाई ज्ञात भैसकेको कुरा होकी उहाँ अन्तराष्ट्रिय पत्रकार महासंघको एक मोर्चा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनु हुन्छ। योगदानको कुरा गर्ने हो भने उहाँ कास्की शाखाको उपाध्यक्ष हुँदै २०७४ मा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरिसकेको अनुभवी पत्रकार हुनुहुन्थ्यो। त्यो भन्दा पनि बढी उहाँ समुदायको सुचना सम्प्रेषणमा कठिन जोखिम मोल्न सक्ने अब्बल पत्रकार हो।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरिसक्नु भएको छ । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनु भएको उहाँले पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशक/सम्पादक रुपमा समेत काम गरिसक्नु भएको छ।जनपक्षिय पत्रकाारिता गर्दै आएका पत्रकारलाई प्रदान गर्ने ‘थमन–महेश स्मृति पत्रकारिता पुरस्कार २०७०’बाट सम्मानित भै सक्नु भएका उहाँको योगदानबारे नेपालका प्राय सबै पत्रकारहरु जानकार नै छन्। राज्यलाई पनि यी सबै कुराको जानकारी छैन वा थिएन भन्ने कुरा कसैले पत्याउँदैन।
उहाँ प्रेश सेन्टर,नेपाल केन्द्रको बैठकबाट फर्कने क्रममा दुर्घटनामा पर्नु भएको हो। प्रेस सेन्टरको मिटिंगमा पनि पत्रकारिताको बारेमै चिन्तन र बहस भए होला। आगामी मिसन र सुचना रणनीतिबारे नीतिगत निर्णयहरु भए होलान। अरु के गफ हुन्थ्यो र पत्रकारहरुको मोर्चामा।
भन्नु नपर्ला कि प्रेश सेन्टर पनि नेपाल पत्रकार महासंघको एक हिस्सा हो अर्थात यो वैश्विक पत्रकारहरुको एक युनिट। उहाँको मृत्युको कारण पनि पत्रकारिता कर्मकै शिलशिलामा भएको हो। योग्यताका कुरा गर्ने हो भने राज्यले राजकीय सम्मान गर्न लायक उहाँमा सबै कुराहरु थिए।
यिनै जुझारु पत्रकारहरुको कलमले भत्काएको तानाशाही पुरानो सत्ताको सट्टा नेपालमा परिस्कृत लोकतान्त्रिक पद्दति बिध्यमान छ। त्यसको नेतृत्वमा गरिखाने पत्रकारिताका हिमायतीहरु नै छन्। तर अहिलेसम्म लोकतन्त्रको लागि र गरिखाने बर्गको पक्षमा शहिद पत्रकार कृष्ण शेनको कलम थामेर बस्ने पत्रकारहरुको घरमा पुगेर राज्य प्रमुख वा पत्रकारका अग्रजहरुले समबेदना प्रकट गरेको सुनिएको छैन। यो ज्यादै दुखलाग्दो कुरा हो।
पत्रकार त्रिभुवन पौडेल, पत्रकारिता क्षेत्रका एक प्रखर सम्भावना हुनुहुन्थ्यो । भविष्यको कुरा गर्ने हो भने उहाँले उचालेको कलम सायद कमै पत्रकारहरुले थाम्न सक्ने छन्। त्यस्ता पत्रकार जसको कर्म पथमा नै अस्त भएको छ। त्यसैले राज्यबाट राजकीय सम्मानको पहल नभएपनि सम्पूर्ण पत्रकारहरु(नेपाल पत्रकार महासंघ)ले उहाँको सम्मानको लागि राष्ट्रिय सलामी दिनु पर्छ। जसरि युद्ध मोर्चाको समाचार संकलन गर्ने क्रममा मृत्यु भएका पत्रकारहरुलाई युक्रेन सरकारले केहि समय अघि राजकीय सलामी दियो। त्यसै गरि गण्डकी प्रदेशका पत्रकार कमान्डरको कामकै शिलशिलामा मृत्यु हुँदा श्रमजीवि पत्रकारहरु र उनीहरुका विभिन्न मोर्चाहरुले देशभरिबाट सम्मान पुर्वक सलामी अर्पण गर्दै राजकीय सम्मानको नेपाली परम्परालाई चुनौती दिन सक्नु पर्छ। मन्थलीबाट शुरु भएको पत्रकारहरुको राजकीय सलामी अब नेपाल पत्रकार महासंघ र आबद्ध संघसंगठनहरुले देश ब्यापी बनाउनु पर्छ। सहकर्मी प्रतिको सम्मानमा सम्पूर्ण आस्थाका बारहरु भत्काएर प्रेश युनियन,प्रेश चौतारी,प्रेश सेन्टर लगायत सबै पत्रकार संघ संगठनहरु समबेदनामा एक ढिक्का हुनु पर्छ।
संसारभरि पत्रकारितामा एउटा छुट्टै परम्परा,छुट्टै समभाव र छुट्टै भातृत्वको बिकास हुँदै छ। त्यसको राम्रो प्रभाव नेपालका पत्रकारहरुको बिचमा पनि छ। पत्रकारिताका अग्रज जस्तै दिल भुषण,बबिता बस्नेत ,देव प्रकाश त्रिपाठी,जय प्रकाश त्रिपाठी,नारायण वाग्ले,भागिरथ योगी,भानुभक्त आचार्य लगायत र नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु चाहे किशोर नेपाल,धेर्मेंद्र झा,महेन्द्र बिष्ट,शिब गाउँले,तारानाथ दाहाल,शुरेश आचार्य,गोबिन्द आचार्य वा त्यो भन्दा अगाडि,पछाडीका अध्यक्षहरु नै किन नहुन,हाम्रा सबैभन्दा आदरणीय अबिभावकहरु हुनुहुन्छ। उहाँहरुका लिखित अलिखित निर्देशनहरु नेपालका सबै पत्रकारहरुले चिरकालिक प्रेरणा शास्त्र सरह मान्दछौँ। महासंघका अध्यक्ष बिपुल पोखरेललाई हामीले राजकीय नेतृत्व सरह वा राष्ट्रपति जत्तिकै र कहिले काहिँ त्यो भन्दापनि बढी सम्मान गर्दछौं।
त्यो संस्कारगत प्रभाव पत्रकारिताको क्षेत्रमा बाहेक कति छैन। हामी उहाँहरुका आस्था हेर्दैनौँ,कलमका तिखा ध्वनिहरू सुनेर निर्देशित हुन्छौँ। हाम्रा नेत्रित्वहरू जुनसुकै आस्थाका भए पनि एकै थलोमा प्रेम गीत गाएको देखेका छौँ,राजनैतिक सत्ता र सक्तिको लागि भिख माग्दै राजनैतिक सम्राटका बलेनिमा शिर झुकाएको अहिलेसम्म देखेका छैनौं। त्यसैले हाम्रा नेत्रित्वहरू प्रति हामीलाई सदैव लोभलाग्दो गर्ब छ। पत्रकारहरुको यो अविरल प्रेरणादायी नेतृत्वले पत्रकार त्रिभुवन पौडेललाई उच्च सम्मान दिने सवालमा आस्थाको थाल ठटाएर एक चेलाको सम्मान उठाउन कन्जुस्याई गर्छ भन्ने मलाई रत्तिभर बिश्वास छैन।
कलमका केहि सदाबहार सत्रुहरु हुन्छन। केहि सत्रु झट्ट देखिदैनन भने केहि देखिन्छन। केहि परम्पराको भित्तामा लुकेर लेखिएका नीतिबाट प्रकट हुन्छन भने केहि हतियार लिएर प्रकट हुन्छन। हाम्रा प्रधान सत्रु नाजिज्म,फासिज्मका पक्षपाति मात्रै छैनन्,लोकतान्त्रिक सत्ता भित्रका शक्तिकेन्द्र र उनीहरुले निर्माण गरेका नीतिगत परम्परा पनि हाम्रा सत्रु हुन्। यहि कुराले पत्रकार र अन्यहरुको फरक छुट्ट्याएको हुन्छ। यहि कुराले हामीलाई आस्थाको चौघेराबाट बाहिर निकालेर पारिवारिक बनाएको हुन्छ। त्यसैले पंतिकारले यो आलेखबाट हरेक पत्रकारहरुलाई राजकीय परम्परागत ब्याबस्थालाई उल्ट्य़ाउन आह्वान गरेको हो। अहिले संसारभर नयाँ मान्यता स्थापित हुने चरणमा छ त्यो के भने ‘पत्रकार आँफै राजकीय सम्मानका पहिला हकदार हुन् किनकि उनीहरु चौबिसै घण्टा जोखिममा काम गरिरहेका हुन्छन।’
राजकीय वा राष्ट्रिय श्रद्धा वा सम्मानमा खाली राजनैतिक मोर्चाका सम्राटहरुको पहुँच हुने,उनीहरुका निर्णय नै सर्बोपरि रहने परम्परा अब उल्ट्याउनु पर्छ,पर्छ । त्यसमा सुचना र खबरहरुको समुन्द्रमा पौडी खेल्ने पौडीबाजहरुको सम्मानको नयाँ ईतिहांस निर्माण गर्दै र स्थापित गरिनु पर्छ। पत्रकारलाई राजकीय सम्मान दिने परम्परा विश्वमा सुरु मात्र हैन स्थापित भैरहेको छ। उदाहरणको लागि ब्रायन विलियम्स, विलियम एलेनले अमेरिकामा राजकीय सम्मान पाए। अब्राहम जिमेनेज एनोआ,क्युबामा राजकीय सम्मान पाउने पत्रकार हुन्। नियाज अब्दुल्लाले इराकी कुर्दिस्तानबाट सेभगिल मुसाइभाले युक्रेनबाट,फाम दोआन ट्राङले भियतनामबाट,गैलिना टिमचेन्कोले रुसबाट,शिरिन अबु अक्लेह र कार्लोस डाडालाई ‘२०२२ प्रि-आईपीआई-आईएमएस फ्रिडम वर्ल्डअवार्ड’ले सम्मान गरेको छ। त्यस्तै फिफाले २०२२ विश्वकपमा धमनीविच्छेदबाट मृत्यु भएका स्वर्गीय पत्रकार ग्रान्ट वाहललाई अन्तराष्ट्रिय राजकीय स्तरको सम्मान दियो। एडेल एम बैंक्स – लाइफटाइम अचिभमेन्ट, फ्युनरल रमल्लाहमा मारिएका पत्रकारले प्यालिस्टाइनमा राजकीय सम्मान पाए। अबु अक्लेहले राष्ट्रिय सम्मान पाए भने प्रेस स्वतन्त्रता च्याम्पियन, हर्सेल डब्ल्यू “वुडी” विलियम्सलाई पनि त्यहि तहको सम्मान दिइयो।
बिकसित देशमा पनि पहिले पहिले सामान्यतया राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीको निधनमा मात्र राष्ट्रिय शोकको घोषणा गरिन्थ्यो र राजकीय सम्मान दिइन्थ्यो। तर अहिले पत्रकार त्रिभुवन पौडेल झैँ सेवाकै कारण मृत्यु बरण गरेका वा सुचना सेवामा महत्वपूर्ण योगदान पुर्याएका पत्रकारहरुको निधन भएमा पनि राजकीय सम्मान दिइन्छ । उनिहरुको पद भन्दा जोखिमपूर्ण सेवा र कामको महत्व हेरिन्छ।
जहाज दुर्घटनामा राष्ट्रिय शोक घोषणा गरिनु एउटा पक्ष हो। तर आफ्नो लक्षमा अविचलित महान कर्मबिर पत्रकारको निधनमा राजकीय सम्मान सहित समबेदना व्यक्त गर्ने कुरा अर्को महत्वपुर्ण पक्ष हो। जसले देशको लागि सामिजिक सेवाको कुनै पनि क्षेत्रमा बिशेष योगदान पुर्याएको हुन्छ,त्यो ब्याक्ति राष्ट्रको निधि मानिन्छ। पत्रकार पौडेल पनि पत्रकारिता क्षेत्रका अविचलित कर्म योद्धा हुन्। कर्मपथमै उनले आफ्नो पार्थिव शरीर त्याग्नु पर्यो। उनलाई राज्यले राजकीय सम्मान दिंदा पत्रकारको मात्र नभएर देशकै शिर उचै हुन्थ्यो र राजकीय सम्मानको पुरानो परम्पराले नयाँ आयाममा प्रवेश गर्थ्यो। माघ १ गते जहाज दुर्घटनामा परि दिवंगत हुनुभएका श्रद्धेय अग्रज पत्रकार त्रिभुवन पौडेल लगायत सम्पूर्णमा हार्दिक श्रद्धान्जली ! अस्तु :
(लेखक नेपाल पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष हुनुहुन्छ।) फाइल तस्विर क्रमश स्वर्गीय पत्रकार त्रिभुबन पौडेल, लेखक डिल्ली अम्माई /
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2023 All right reserved | Site By : SobizTrend