पोखरा(जस)–गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले पछाडि पार्दै धिताल सभामुखमा निर्वाचित भएका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत ल्याएकी छन् । प्रदेशसभा बैठकमा ५८ जना सांसद सहभागी थिए । शनिबार बसेको प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा धिताललाई सांसद फणीन्द्र देवकोटाले सभामुखको लागि प्रस्ताव पेस गरेका थिए भने एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले समर्थन गरेका थिए । संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल सभामुखमा पदमा निर्वाचित भएका हुन् ।
भिमसेन गाउँपालिका–२ का धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले पक्षमा मत दिएका थिए । स्याङ्जाको वालिङ नगरपालिका–८ कि तिवारी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । तिवारीलाई सांसद डिल्लीराम सुवेदीले प्रस्ताव प्रस्तुत गरेका थिए भने टकराज गुरूङले समर्थन गरेका थिए । शनिबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो । प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाको पहिलो बैठक पुस १८ मा बसेको थियो । सोही मिति अनुसार माघ २ गते १५ दिन पुग्छ । ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका २२, राप्रपाका २, स्वतन्त्र सांसद र प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको कांग्रेसका २७ सांसद छन् ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराएका छन् । प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा शनिबार साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो ।