सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गैरआवासीय नेपालीलाई सहज तवरले लगानी गर्ने वातावरण निर्माण गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा (पूर्णपाठ)

मंगलबार, पुष २६ २०७९

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली एनआरएनहरूले नेपालमा सहज तरिकाले लगानी गर्ने वातावरण निर्माण सरकारको प्राथमिकता हुने बताएका छन । प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यवसायिक र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत र संरचनागत सुधार गर्ने तथा गैरआवासीय नेपालीहरूले नेपालमा सहज तरिकाले लगानी गर्ने वातावरण निर्माण सरकारको प्राथमिकता रहने बताएका छन । प्रधानमन्त्री प्रचण्डले कृषि, प्राकृतिक स्रोत, ज्ञान र उच्च प्रविधिमा आधारित उद्योगको विकासबाट औद्योगिक उत्पादन बढाई निकासी बृद्धि गर्ने र पूँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुन नदिने पनि प्रतिबद्धता जनाएका छन ।

प्रचण्डको सम्बोधनको पूर्णपाठ
सम्माननीय सभामुख महोदय,

नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो । म सबैभन्दा पहिले उहाँहरूप्रति कृतज्ञता र उहाँहरूको संकल्पप्रति सम्मान व्यक्त गर्दछु । हामी उहाँहरूको वलिदानले बाँधिएका छौँ । उहाँहरूको संकल्पले हामीलाई डगमगाउन र विचलित हुन दिनेछैन ।

नयाँ प्रतिनिधिसभाको गठनसँगै नेपालको संविधानको धारा ७६ को उपधारा २ वमोजिम मेरो नेतृत्वमा विभिन्न राजनीतिक दलको सहभागितामा सरकार गठन भएको छ । यो विश्वासका लागि दलहरूलाई धन्यवाद दिँदै म आज यो सार्वभौम संसदमा सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्न उपस्थित भएको छु ।

सभामुख महोदय,

प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिवद्ध छु । यो देशमा जति पनि सार्थक परिवर्तन भएका छन्, वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन् । एक सय चार वर्ष लामो राणाशासन होओस् वा तीस वर्ष लामो पञ्चायती निरङ्कुशता, वाम–लोकतान्त्रिक सहकार्यबाटै समाप्त भएको हो । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र पनि हामीबीच सहकार्यकै परिणाम हुन् । राष्ट्रिय संकटका संवेदनशील क्षणहरूमा पनि वामपन्थी र लोकतान्त्रिक शक्ति एकै ठाउँमा उभिएका छौँ । हामी मिल्दा देश अगाडि गएको छ, नमिल्दा संकटतिर । ०७२ सालको भूकम्पका बेला सुशील कोइराला प्रधानमन्त्री हुनहुन्थ्यो, म प्रतिपक्षी दलको नेता थिएँ । मैले यही रोष्टममा उभिएर भनेँ, यो संकटमा अब संसदमा कुनै पक्ष–प्रतिपक्ष छैन । प्रतिपक्षको नेता हुँदैहुँदै पनि म उद्धार र पुननिर्माणमात्र होइन, संविधान–निर्माणमा पनि राष्ट्रिय सहमति जुटाउन अग्रसर भएँ । मलाई गर्व छ, त्यसले राष्ट्रलाई सुखद् परिणाम पनि दियो ।

देश अहिले पनि सङ्कटमै छ । साना सङ्कटहरुको समयमै समाधान नखोजेपछि तिनैले ठूला सङ्कट जन्माउँछन् । आर्थिक सूचकांकहरू सकारात्मक छैनन् । प्रधानमन्त्रीका रुपमा मेरो एउटा जिम्मेवारी हुनेछ तर आजसम्म निरपेक्ष गरिबीमा रहेका झण्डै पचास लाख नेपालीलाई त्यहाँबाट निकाल्न पनि हामी वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नैपर्छ । लाखौं युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन पनि हामीबीच सहकार्य हुनैपर्छ । अब पहुँच होइन, विधिको शासन सुरू गर्नु छ । देशको कायापलट गर्ने हो भने लगभग साठी खर्ब विकास खर्च जुटाउनुपर्छ । त्यसका लागि पनि हामीबीच विश्वासपूर्ण सहकार्य जरुरी छ । राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, प्रमुख आर्थिक विषय एवं रणनीतिक पूर्वाधारलगायतका राष्ट्रका आधारभूत विषयहरूमा म राष्ट्रिय सहमतिको विकल्प देख्दिनँ । विस्तृत शान्ति सम्झौताका एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला आज हामीबीच हुनहुन्न तर शान्तिप्रक्रियाका केही काम अझै बाँकी छन् । ती कामलाई तार्किक निष्कर्षमा पु¥याउन पनि मैले आमसहमति अनिवार्य देखेको छु । इतिहासका सबै उतारचढावको स्मरण गर्दै देशमा सुशासन, समृद्धि र तीव्र आर्थिक क्रान्तिका लागि यसपटक सिंगो देश एक ठाउँमा उभिन र पूरै विश्वलाई नेपालको रूपान्तरणको सन्देश दिन म विशेष अपील गर्दछु ।

 

सभामुख महोदय,

म यसपटक ठूलो आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित यो रोस्टममा उभिएको छु । म यसअघि नौ–नौ महिना दुईपटक प्रधानमन्त्री भएँ । आज यो स्वीकार गर्न मलाई कुनै संकोच छैन, पहिलोपटक प्रधानमन्त्री हुँदा मसँग न अनुभव थियो, न टिम । विभाजित मनोदशामा थिएँ र पार्टीभित्रैको संघर्षमा बढी रुमल्लिएँ । सिक्दासिक्दै, भित्र र बाहिरका घेराबन्दीसँग जुध्दाजुध्दै एउटा अप्रिय अवस्थामा मैले प्रधानमन्त्रीबाट राजीनामा दिएँ । तैपनि मैले त्यसबेला सुरू गरेका मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, गरिब किसानको ऋण–मिनाहा र विद्युतीकरणमा तीव्रताले राष्ट्रिय जीवनमा आज पारेको प्रभावबाट थोरै भए पनि सन्तोष हुन्छ ।

मेरो दोस्रो कार्यकाल वैदेशिक सम्बन्धमा ठूलो उतारचढाव आएका बेला सुरू भयो । मधेश आन्दोलनमै थियो । संविधानको सफल कार्यान्वयनमा धेरैलाई विश्वास थिएन । संविधान संशोधनको प्रयासबाट मैले मधेशलाई विश्वासमा लिए र स्थानीय निकायको निर्वाचन गरेर संविधान कार्यान्वयनको विश्वासपूर्ण सुरुवात गरेँ । मूल्यवृद्धि नियन्त्रणमै राखेर आर्थिक वृद्धिदर सात प्रतिशत कट्यो र एउटा आर्थिक मानक बन्यो । लोडसेडिङ अन्त्य भयो । त्यसअघि कहिल्यै पालना नहुने राजनीतिक सहमतिको मैले अक्षरशः पालना गरेँ र अत्यन्त इमानदारीका साथ सत्ता–हस्तान्तरण गरेँ । त्यसरी मैले हाम्रो राजनीतिमा एउटा नैतिक मानक पनि कायम गरेँ । मलाई लाग्छ, मेरो त्यो छोटो कार्यकाल सफल कार्यकालका रूपमा इतिहासमा दर्ज भएको छ । आज परिस्थितिवश तेस्रोपटक प्रधानमन्त्रीका रूपमा विश्वासको मतका लागि अनुरोध गर्न म यो सम्मानित संसदमा उभिएको छु ।

मैले भनिहालेँ, म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु । विश्वासको मत पाएँ भने म प्रधानमन्त्रीको यो कार्यकाल यो इमान्दार स्वीकारोक्तिका साथ सुरू गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहीं न कहीँ चुकेका छौँ । त्यसो हुन्नथ्यो भने हाम्रा लाखौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका हुने थिएनन्, आफ्नै परिवारसँग आफ्नै देशमा रमाइरहेका हुने थिए । पचास लाखभन्दा बढी नेपाली अहिले पनि बहुआयामिक गरिबीमा हुने थिएनन् । हाम्रा विश्वविद्यालयहरू क्यालेण्डरसम्म बनाउन नसक्ने गरी भद्रगोल हुने थिएनन् । शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको नियन्त्रणबाट लगभग बाहिर जाने थिएन । विकास आयोजनाहरू यस्तो लथालिंग अवस्थामा हुने थिएनन् । खेलाडीलाई अरू सुविधा त परकोे कुरा, डाइटसम्म दिन नसक्ने अवस्था हुने थिएन । जनताको हामीप्रति एक ढंगको असन्तोष छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार