मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले नेकपा (एमाले) प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गर्नुभएको हो । यसअघि प्रदेश प्रमुख खापुङसमक्ष एमाले संसदीय दलका नेता कार्कीले प्रदेश १ प्रदेशसभाको कूल सङ्ख्याको बहुमत सङ्ख्याको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि पत्र बुझाउनुभएको थियो ।
एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ र जनता समाजवादी पार्टी (जसपा) का एक गरी ६० सदस्यको हस्ताक्षरको पत्र बुझाइएको छ । प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता कार्की, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्गवो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बूको हस्ताक्षरसहित उक्त पत्र बुझाइएको थियो । प्र्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीलाई यही पुस २५ सोमबार दिउँसो २ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताउनुभएको छ ।
प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आज साँझ मुख्यमन्त्रीमा नियुक्ति भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चालनमा मुख्य प्राथमिकतामा सुशासन रहेको बताउनुभयो । वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने छ भन्दै उहाँले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको प्रष्ट पार्नुभयो । उहाँले सभामुख कसले पाउने सम्बन्धमा आपसी छलफलद्वारा निर्णय गरिने जानकारी दिनुभयो ।