दोहा । तमुहरूको एकता आजको आवश्यकता’ मूल नारासहित तमु (गुरुङ) समाज र तमु प्ये ल्हु संघ कतारको संयुक्त आयोजनामा राष्ट्रिय पर्व ‘हि–ल्होसार तथा स्यों कै कार्यक्रम’ भव्य रूपमा मनाइएको छ ।
बाघ वर्गलाई बिदाइ गरी बिरालो वर्गलाई स्वागत गर्दै मनाइएको कार्यक्रममा तमु प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष चन्द्र ल्हेङे तमुको अध्यक्षता तथा एनआरएनए आइसिसीका उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो ।
एक ल्हो लाई बिदाई गरी अर्को ल्होलाई स्वागत गर्दै खेगी चिबबाट रूप (पुरै) लगाई एक आपसमा शुभकामना आदान–प्रदान गरिएको कार्यक्रममा समाजका कलाकारहरूले तमु संस्कृति झल्किने स्वागत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै हरेक वर्ष छेलो प्रतियोगिता गरी वर्ष भरिको तमु म्रु (राजा) छान्ने प्रचलन अनुसार बिरालो वर्षको राजाका रूपमा टीका गुरुङ(स्याङ्जा) चुनिएका छन् भने राहुल गुरुङ(पाल्पा) द्वित्तीय स्थानमा रहेका छन् ।
तमु संस्कार अनुसार क्रेकी (सम्मान) प्रमुख अतिथिसहित विभिन्न विशिष्ट व्यक्तिहरूलाई गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि भाटले तमुहरू समुदायकै उत्कृष्ट समुदाय रहेको बताए । कार्यक्रममा बिशेस अतिथिहरु एनआरएनए आईसिसि सचिव प्रविन गुरुङ, एनआरएनए आईसिसि कोशाध्यक्ष सुनील शाह, एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले शुभकामना ब्यक्त गरेका थिए ।











