काठमाडौं(जस)–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन माग गरेका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनु पर्ने बताएका हुन् । कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र कांग्रेसको पनि कमजोरी रहेको उनले बताए ।
कोइरालाले कांग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए । ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौं,’ कोइरालाले भने । आफूहरूको मान्यता निर्वाचन पछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए । गठबन्धन विभाजन भएको विषयमा नेपाली काँग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गर्नुभयो । यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने ।
अन्तिम समयमा महामन्त्रीहरुलाई बोलाएर निर्णय गरेको भए राम्रो हुने भन्दै कोइरालाले भने, ‘निर्णय गर्दा महामन्त्रीहरुलाई बोलाएको भए हुन्थ्यो । सबैलाई बोलाएर गर्दा पनि हुनेथियो तर, त्यो सम्भव थिएन । कम्तीमा पदाधिकारीलाई बोलाएर । त्यो पनि सम्भव छैन भने महामन्त्रीलाई बोलाएको भए हुनेथियो ।’
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा तीव्र विवाद सुरु भएको छ । संस्थापन पक्षको एकलौटी सोच र व्यवहारका कारण कांग्रेस पहिलो पार्टी भएर पनि प्रतिपक्षमा सीमित हुनुपरेपछि डा.शेखर कोइराल–गगन थापा समूहले छलफल सुरु गरेको छ ।
बुधबार काठमाडौंको बालुवाटारमा भएको भेलामा इतर समूहले संस्थापन पक्षको एकांकी र सत्ता लिप्साकै कारण कांग्रेस सत्ता बाहिर पुगेको निष्कर्ष निकालेको छ । आजको बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत सहभागी थिए ।
इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न केन्द्रीय सदस्यको भेला बोलाउने भएको छ । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न अर्को भेला बोलाउने भएको हो । कांग्रेस केन्द्रीय समितिको बैठक २२ पुसमा बस्दैछ। त्यसैले इतर समूहको बैठक केन्द्रीय समितिको बैठकअघि बस्ने तय भएको छ। सत्ताको केन्द्रमा हुँदाहुँदै पनि सुझबुझ पुर्याउन नसक्दा संघसहित सबै प्रदेशमा सरकार गुम्ने भएपछि पार्टी सभापति देउवा रक्षात्मक अवस्थामा पुगेका छन् ।