शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आज इसाई धर्मावलम्बीहरूले ‘क्रिसमस’ मनाउँदै : राष्ट्रपति, उपराष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना

आइतबार, पुष १० २०७९

काठमाडौं(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।
उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ । राष्ट्रपति भण्डारीले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
–विविधताबीचको एकता नै नेपालीको पहिचान ः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् । इसाई धर्मावलम्बीको पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिदै उनले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम राख्दै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उपराष्ट्रपतिले यस्ता पर्वले समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास रहेको उल्लेख गर्दै उनले विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति रहेको तथा विविधता बीचको एकता नै नेपालीको साझा पहिचान भएको बताए ।
सन्देशमा उपराष्ट्रपतिले भनेका छन् । ‘विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम गर्दै आएका छन् । हामी एकले अर्काको धार्मिक तथा सांस्कृतिक पहिचानलाई स्वीकार र सम्मान गर्न सक्नुपर्दछ । यसो गर्दा मात्र हाम्रो राष्ट्रिय एकता अझै सुदृढ् हुन सक्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार