काठमाडौँ(जस)–प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् ।
शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ । राष्ट्रिय पोशाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भईदिनसमेत सचिवालयले आग्रह गरेको छ । प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्योहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।
संसद् सचिवालय शपथको गृह कार्यमा
सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन् । हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ । कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए । उनहरूले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए ।
सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब रु पाँच हजार आठ सयको लागतमा तयार भएको हो । शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
नयाँ राजनीतिक दल सम्पर्कमा आउन थाले
प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ । सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका हुन् । आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए ।
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि आएर संसदीय प्रक्रिया र आफूहरु रहने कार्यालयका बारेमा जानकारी लिएका हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि ती दलले आइबार सम्पर्क गरेका थिए् । उक्त निर्वाचनमा नेपाली कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ । प्रत्यक्षमा कूल ५७ स्थानमा विजयी भएको उक्त दलले समानुपातिक निर्वाचन प्रणालीमा ३२ सिट पाएको छ । यस आधारमा कांग्रेस ८९ सिटसहित पहिलो बनेको हो ।
प्रत्यक्षमा ४४ स्थानमा विजयी भएको नेकपा(एमाले)ले समानुपातिकमा ३४ स्थान पाएको छ । यस आधारमा सो दलको कूल सिट सङ्ख्या ७८ भएको छ । तेस्रो स्थानमा रहेको नेकपा(माओवादी केन्द्र)ले प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएकामा समानुपातिकतर्फ १४ गरी कूल ३२ सिट पाएको छ ।
पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको राष्ट्रिय वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात स्थान र समानुपातिकतर्फ १३ सिट गरी कूल २० स्थानसहित चौथो स्थानमा रहेको छ । नेकपा(एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ कूल १० स्थानमा जित निकाले पनि समानुपातिकतर्फ निर्धारित मत सीमा पूरा गर्न नसक्दा कुनै पनि स्थान पाएन । कानुनअनुसार कूल सदर मतको तीन प्रतिशत बराबरको मत सीमा पूरा नगर्दा सो दलले समानुपातिकतर्फ कुनै पनि सिट नपाएको हो ।
राप्रपाले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ सात गरी कूल १४ सिट पाएको छ । जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच गरी कूल १२ सिट पाएको छ । संसद्मा पहिलो पटक प्रवेश गर्न लागेको जनमत पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच गरी कूल छ सिट प्राप्त गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले चार स्थानमा आफूलाई सुरक्षित गरेको छ । नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समान एक÷एक स्थानमा जित निकालेका थिए । यस आधारमा १२ राजनीतिक दलको संसद्मा प्रतिनिधित्व रहने भएको छ । त्यस्तै पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । निर्वाचन आयोगले कूल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत मङ्सिर २९ गते नै बुझाइसकेको छ । यस्तै यही पुस ३ गते आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विजयी भएका सांसदलाई प्रमाणपत्र वितरण गरेको थियो ।
राष्ट्रपतिबाट सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आइतबार नै आह्वान भएकामा सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारीसमेत थालेको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व जनाएका नयाँ राजनीतिक दललाई ‘हेल्लो सरकार’ रहेको स्थानमा कार्यालय उपलब्ध गराउने तयारी गरिएको छ ।