काठमाडौं(जस)–प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलेजस्तो संसद विघटन नगरी पूरा कार्यकाल चलाउने बताएका छन् । सत्तारुढ गठबन्धनले मंगलबार सुर्खेतको मेहेलकुनामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए ।
उनले कानुनविपरीत ओलीले दुई पटक संसद विघटन गरेको आरोप पनि लगाए । ‘ओलीले संसदलाई अंगभंग गर्न खोजे,’ उनले भने, ‘जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं । संसदलाई पूर्ण कार्यकाल राख्छौं ।’ साथै देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन् । यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन उनको आग्रह छ । सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताए । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् ।
‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ,’ उनले भने,‘गठबन्धन १५ वर्ष जानेछ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठबन्धनको आवश्यक रहेको पनि बताए । उनले अब ओलीसँग सहकार्य नहुने पनि जानकारी दिए ।
गठबन्धन निरन्तर
देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनले पाउनुपर्ने बताएका छन् । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउँदै उनले गठबन्धन दीर्घकालसम्म रहने बताए । सुर्खेतको मेहलकुनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र तीव्र आर्थिक विकासमा केन्द्रित हुने बताए ।
सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डवको गठबन्धन भएको बताएका छन् । उनले पाँच ‘पाण्डव’विरुद्ध ‘कौरव’हरूको समूह देखा परेकाले एकढिक्का भएर अगाडि बढ्न सुझाव दिए । उनले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावनाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताए । दाहालले निर्वाचनमार्फत अहिलेको गठबन्धनलाई अझै बलियो बनाउँदै लगिने बताए ।
जनताले दिएको अभिमत पूर्णरूपमा पालना गर्न तयार
प्रधानमन्त्री देउवाले जनताले दिएको अभिमत पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे । पश्चिमनवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए ।पश्चिमनवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहनुभएको छ । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिएका छन् ।