शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौँ (जस)–नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा रहेका नेपालीहरुलाई राजनीतिक बाहेक सामाजिक, संस्कृतिक तथा आर्थिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको जनाएका छन् । उनले विदेशमा काम गरिरहेका नेपाली नागरिकहरुलाई मताधिकार दिलाउन सरकारले तयारी गरि रहेको बताए । उनले अर्को चुनावसम्म कम्तिमा समानुपातिकमा मात्रै भए पनि मतदान गर्न यवस्था मिलाइने आश्वासन दिए ।
नेपाली कांग्रेसको प्रचार प्रसार विभागद्वारा पार्टीको भ्रातृ संस्था, नेपाली जनसम्पर्क समितिका संसार भरिरहेका पदाधिकारीहरुको भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधान मंत्री देउवाले विभिन्न देशमा बस्ने नेपालीहरुलाई सकभर नेपाल आउन, नभए आफ्नो परिवार, नातागोतालाई फोन गरेर रुख चिन्ह वा गठबन्धनका उम्मेदवारहरुको पक्षमा मतदान गर्न भन्नुका साथै विश्वभर अभियान चलाउन आग्रह पनि गरे । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधान गर्न आफुहरु नीतिगत सुधार गर्ने पक्षमा रहेको बताए ।
मुलुक अहिले दैनिक १५ घण्टा लोडशेडिंग हुने अवस्थाबाट बिजुली निर्यात गर्ने अवस्थामा पुगेको र ३० वर्ष पहिले एउटा मेडिकल कलेज रहेकोमा अहिले देश भरि २० ओटÞा मेडिकल कलेज रहेको उनले बताए । ‘हरेक पांच वर्षमा हुने आवधिक चुनावले लोकतन्त्रलाई बलियो बनाउँछ । नेपाली कांग्रेसलाई विजयी बनाउन प्रतिबद्धतापूर्वक लाग्न अनुरोध गर्दछु,’ देउवाले भने ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुक भित्र वर्तमान संविधान र लोकतन्त्रका पक्षधर तथा संविधान विरोधी तथा राजावादीहरुको बिचमा जनताले छनोट गर्नु पर्ने बताए । उनले ’नो नट अगेन’ भनेर अभियान चलाई रहेकाहरुले प्रतिगामीहरुकै पक्षपोषण गरिरहेको दावी पनि गरे । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आफ्नो पार्टीले स्पष्ट भिजन सहित घोषणापत्र सार्वजनिक गरेको जनाए । घोषणापत्र नेपाली जनताको आकांक्षा लाई सम्बोधन गर्ने किसिमले तयार गरिएको तर यथार्थमा आधारित रहेको उनले बताए ।
नेपाली कांग्रेसको प्रचार प्रसार विभागका संयोजक तथा प्रवक्ता डा प्रकाश शरण महतले ओली सरकारको पालामा विदेश नीतिमा अस्थिरता देखिएको र कोभिड महामारी संग जुध्न सरकार असफल भएको भन्दै देउवा सरकार बन्ने बित्तिकै ९५ प्रतिशत जनताले खोप पाएको र जनजीवन सहज भएको दावी गरे । अहिले पनि संविधान विरोधी प्रवृत्ति कायमै छ । तर हामी यो संविधान भत्काउने हैन, संविधानलाई संशोधन गर्दै अगाडी जाने छौं,’ उनले भने । कांग्रेसको प्रवास समन्वय प्रचारप्रसार उपसमितिका संयोजक किरण पौडेलको सभापतित्वमा आयोजित अन्तरक्रियामा विभिन्न देशका जनसम्पर्क समितिका पदाधिकारीहरु तथा गैर आवासीय नेपाली संघका पदाधिकारीहरुले आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार