शनिबार, असोज २९ २०७९
नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपतिद्वारा समुद्घाटन
कास्की । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्नुभयो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताउनुभयो । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस प्रतियोगिताले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उहाँले बताउनुभयो । आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उहाँले सबै खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै उहाँले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएनसहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ जनाको उपस्थितिका बीच समुद्घाटन गरिएको हो । उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता छ ।
समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ । मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी गराइएको थियो । यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ । उद्घाटन समारोह अगावै रङ्गशालाका प्याराफिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति थियो । सातवटै प्रदेशको संस्कृति झल्कने गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो । उद्घाटनकै क्रममा आतिबाजी पड्काइएको छ ।
समारोहका मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गर्नुभएको छ । झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ«ेलाई रेखांकित गरिएको छ । मन्त्री गहतराजले खेलकुदको विकासका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने बताउनुभयो । खेलकुदको गुरुयोजना लगायतका कार्यक्रमअघि बढाइएको उहाँले बताउनुभयो । केन्द्रदेखि स्थानीय तहसम्म खेलसम्बद्ध निकायहरू खेलको विकासका लागि लागेको उहाँले बताउनुभयो । सङ्घीय संरचनाअनुसार सबै प्रदेशले आफ्नो तयारी सहित पहिलोपटक यस प्रतियोगितामा सहभागी भएको उहाँले बताउनुभयो । यस प्रतियोगितासँगै आगामी दिनमा तयार हुने खेलाडीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताउनुभयो । गण्डकी प्रदेशमा खेल पर्यटनका पर्याप्त सम्भावना रहेको उहाँले बताउनुभयो । खेलका माध्यमबाट अन्तराष्ट्रिय एवं राष्ट्रिय रुपमा एकता कायम गर्न सकिने उहाँले बताउनुभयोे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पोखरामा भएको यस खेलले खेल क्षेत्रको विकाससँगै गण्डकी प्रदेशको पर्यटकीय सम्भावनालाई अझै उजागर गर्ने बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले स्वागत गर्दै नेपाली खेलकुदको इतिहासमा यसको महत्वपूर्ण स्थान रहने बताउनुभयो ।
कूल ३६ वटा खेल र दुई प्रदर्शनी सहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । कूल छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ । प्रतियोगितामा करिब एक हजार ३०० पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो ।
३६ खेल मध्येका २६ वटा खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भैरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा नवौं राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन् । उद्घाटनकै अवसरमा निर्णयकका तर्फबाट भलिबलका रेफ्री पहलसिंह थापा र खेलाडीका तर्फबाट प्याराग्लाइडिङका सुशिल गुरुङले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित सपथ ग्रहण गर्नुभएको थियो । समारोहमा ओलम्पिक टर्च प्रज्वलन गरिएको थियो दीकाबहादुर बोगटीले प्रज्वलन गर्नुभएको थियो ।
नवौँ राष्ट्रिय खेलकुद : चुनौती पन्छाउँदै भव्य उद्घाटनसम्म…
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो । हालको लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको प्रतियोगिताको आठौँ समापन समारोहमा नवौँ आयोजनाको जिम्मेवारीसहितको खेलकुदको झण्डा बोकेर गण्डकी प्रदेशको टोली पोखरा आएको थियो ।
विसं २०७७ फागुन अन्तिम साताका लागि नवौँको मिति तय भएर तयारी सुरु गर्दा विश्वव्यापी फैलिएको कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन । सम्पूर्ण देश आक्रान्त बन्यो । राष्ट्रिय खेलकुद गर्ने वातावरण बनेन भने सरकारको खेलकुदभन्दा जनताको जीवन बचाउने प्रमुख जिम्मेवारी आयो । जसका कारण तोकिएको मितिमा राष्ट्रिय खेलकुद हुन सकेन ।
विसं २०७८ को माघ÷फागुनका लागि पुनः तयारी सुरु गर्दै गर्दा कोभिडको प्रभाव कायमै रह्यो । विसं २०७९ जेठ २२ देखी २८ गतेसम्म अर्कोपटक मिति तोकियो । केही तयारीका काम भए पनि दोस्रो स्थानीय तह निर्वाचनका कारण सो समयमा पनि राष्ट्रिय खेलकुद सम्भव भएन । हरेक दुई÷दुई वर्षमा हुने राष्ट्रिय खेलकुद पटक÷पटक मिति सर्दै गएपछि प्रतियोगिताका सम्बन्धमा आशङ्का कायमै रह्यो । विगतमा १५ वर्षसम्म पनि राष्ट्रिय खेलकुद नभएकाले आशङ्का गर्नेलाई बल पुगेको थियो ।
सरकारले गत जेठ दोस्रो साता असोज २८ देखी कात्तिक ३ गतेसम्म नयाँ मिति घोषणा गरेपनि धेरैले प्रतियोगिता हुनेमा शङ्का व्यक्त गरेका थिए । निर्वाचनको सम्मुख साथै दसैँ, तिहार जस्ता ठूला चाडपर्वको बीच भएकाले पनि आशङ्का गर्नेहरुलाई बल पुग्यो । मौसमको चुनौतीका कारण पछिल्लो सातासम्म पनि प्रतियोगिता हुनेमा आशङ्का कायमै रहेको थियो ।
तर धेरैको आशङ्कालाई चिर्दै र चुनौतीको सामना गरेर, अविश्वासलाई विश्वासमा परिणत गर्दै नेपाली खेलकुदको कुम्भ मेलाको आज भव्य समुद्घाटन सम्पन्न भएको छ । सुःखद पक्ष प्रतियोगिता उद्घाटनका दिन खुलेको माछापुच्छ«ेले सबैलाई खुःसी दिएको थियो । पोखरा रङ्गशालाको १६ हजार पाँच सय दर्शक क्षमताको भरिभराउ प्यारापिटका दर्शकलाई साक्षी राखेर नवौँको उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य उद्घाटन गरेर राष्ट्रिय खेलकुदको शुभारम्भ गर्नुभयो ।
उद्घाटन समारोहमा प्रस्तुत मार्चपास, झाँकी, सांस्कृतिक कार्यक्रम र नृत्यले सम्पूर्ण देशलाई एकताबद्ध बनाएको सन्देश दिएको छ । पूर्वमेचीदेखि महाकालीसम्मका विभिन्न जाति र समुदायका देशप्रेमका गीत र सङ्गीत रङ्गशालामा गुञ्जिदा सबैलाई उत्साहित पा¥यो । प्रतियोगितालाई रोचक र भव्य बनाउन गरिएको आतिशबाजीले सम्पूर्ण पोखरेली र खेलप्रेमीको ध्यान खिच्न सफल भयो ।
प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले अन्तिम घडीसम्म पनि प्रतियोगिताका लागि चुनौती रहे पनि भव्य उद्घाटन गर्न पाउँदा खुःसी लागेको बताउनुभयो । उहाँले केही कमजोरी रहेपनि मुलभूत रुपमा प्रतियोगिताको भव्य तयारी भएको र उद्घाटन समारोहले सबैलाई हर्षित बनाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदका लागि थुपै चुनौतीहरु रहे पनि त्यससँग जुध्दै भव्य उद्घाटन गर्न सफल भएका छौँ । पछिल्लो समय अनपेक्षित वर्षाको चुनौती पनि रहेन । सात महिनाको तयारीले प्रतियोगिता सम्भव भएको हो ।” गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँको आयोजनाले पोखरेलीहरु हर्षित छन् । सँगसँगै नवौँका लागि बन्नुपर्ने पौडी, सुटिङ र हक्कीका खेल पूर्वाधार नबन्दा उनीहरु निरास पनि छन् ।
पोखरा रङ्गशालामा खेल पूर्वाधार नथपिँदा आफूहरु चिन्तित बनेको अग्रज खेलाडी हरिप्रसाद पराजुलीले बताउनुभयो । यसको समाप्तिपछि बाँकी खेल पूर्वाधार निर्माणका लागि सरकारले ध्यान दिनुपर्ने उहाँ बताउनुभयो ।
आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गतका केही खेल असोज २३ देखि नै सुरु भएकामा अधिकांश खेल आजदेखि प्रदेशका आठ जिल्लामा सञ्चालन भएका छन् ।
खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताउनुभएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताउनुभयो । “वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरुले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन ।” सरकार, राखेप, खेल सम्बद्ध सङ्घ संस्था, खेलाडी र सरोकारवाला सबैले संकल्प गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामी संकल्प गरौँ । खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौँ, राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौैँ । किनकी साझा प्रयासबिना यसको विकास कठिन हुन्छ ।”
राष्ट्रिय खेलकुद खेलाडी, सम्बद्ध पदाधिकारी र समर्थकका लागि यो ठूलो महोत्सव भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले ४१ वर्षअघि भएको राष्ट्रिय खेलकुदको प्रथम संस्करणबाट यहाँसम्म आइपुग्दा नेपाली खेलकुदले थुप्रै उतारचढावहरु पार गरेको बताउनुभयो । वर्तमानमा आइपुग्दा थुप्रै किर्तिमान बनेको, अवसर सिर्जना भएका, चुनौतीहरु पन्छिदै गएका र सम्भावनाहरु देखिएको बताउँदै उहाँले भौतिक पूर्वाधार निर्माण हुँदै गएको र राष्ट्रिय खेलकुद आयोजना हुने सहरले आफूलाई फेर्ने अवसर पाएको बताउनुभयो ।
खेलकुद आमनेपालीहरुको लागि चाँँसो र प्राथमिकताको विषय बनेको बताउँदै उहाँले यसप्रतिको सोचमा निकै सकारात्मक परिवर्तन आएको उल्लेख गर्नुभयो । राष्ट्रिय खेलकुदले विविध चुनौती पनि भोगिरहेको बताउँदै उपराष्ट्रपति पुनले हरेक संस्करणमा केही नयाँ गर्दै आएको बताउनुभयो ।
राष्ट्रिय खेलकुद हजारौँ खेलाडीको खेल जीवनको भविष्यसँग जोडिएको हुन्छ भन्दै उपराष्ट्रपतिले यो आफ्नो क्षमता र प्रतिभा राष्ट्र सामु प्रदर्शन गर्ने, राष्ट्रले नयाँ प्रतिभा जन्माउने र किर्तिमानहरु सिर्जना हुने प्रमुख अवसर भएको बताउनुभयो । राष्ट्रिय खेलकुदको आयोजनाले भौतिक पूर्वाधारको विकास हुने बताउँदै उहाँले यसबाट राष्ट्रको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुग्ने र यस्ता अवसरमा हुने छलफल र भलाकुसारीबाट खेलकुद क्षेत्रका विकासका लागि नीतिगत रुपमा महत्वपूर्ण सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
विश्वमा भ्रातृत्व, शान्ति र समझदारी विकासका लागि खेलकुद महत्वपूर्ण कडी भएको उल्लेख गर्दै उहाँले यो व्यक्तिगत विषय भन्दा पनि सिङ्गो समाज र राष्ट्रको महत्वपूर्ण चिनारी र पहिचान भएको बताउनुभयो । अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान र राष्ट्रिय चिनारी उचो बनाउन खेलकुदको व्यापक विकास आवश्यक रहेको बताउँदै उहाँले यो स्वास्थ्य, पहिचान, राष्ट्र, अनुशासन, समृद्धि र राष्ट्रिय एकताका लागि आवश्यक भएकोमा जोड दिनुभयो ।
पदक जित्नु मात्र नभई जिल्ला र प्रदेश तथा विभागबाट प्रतिस्पर्धा गर्दै राष्ट्रिय खेलकुदसम्म आइपुग्नु आफैमा ठूलो विजय भएको उल्लेख गर्दै उहाँले कुनै समय राष्ट्रिय खेलकुदका लागि छनौट भए पनि विविध कारणले आफू सहभागी हुन नपाएको स्मरण गर्नुभयो । स्रोत र साधनको अभाव लगायतका विविध कठिनाइ भोगिरहे पनि नेपाली खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता प्रशंसनीय भएको उहाँले बताउनुभयो ।
खेलकुदबाट प्राप्त प्राविधिक शिक्षाको प्रमाणपत्रलाई औपचारिक शिक्षा सरह मानिनुपर्ने आवाज उठिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस विषयलाई गहिरो गरी मनन् गर्न, अध्ययन गर्न र निचोडमा पुग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटनका अवसरमा मार्चपाससहित सांस्कृतिक कार्यक्रम
पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद््घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ ।
‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रममा रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ सहभागी छन् ।
उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागिता छ ।
उद्घाटन समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ । मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी छ । यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ । रङ्गशालाका प्यारापिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति छ ।
समारोहमा मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गर्नुभएको छ । झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ«ेलाई रेखाङ्कित गरिएको छ । कार्यक्रममा मन्त्री गहतराजले खेलकुदको विकासका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने बताउनुभयो । खेलकुदको गुरुयोजनालगायतका कार्यक्रमअघि बढाइएको उहाँले बताउनुभयो । केन्द्रदेखि स्थानीय तहसम्म खेलसम्बद्ध निकाय खेलको विकासका लागि लागेको उहाँले बताउनुभयो । सङ्घीय संरचनाअनुसार सबै प्रदेशले आफ्नो तयारीसहित पहिलोपटक यस प्रतियोगितामा सहभागी भएको उहाँले जानकारी दिनुभयो । प्रतियोगितासँगै आगामी दिनमा खेलाडीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा प्रतिस्पर्धा गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद गण्डकीमा हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताउनुभयो । गण्डकी प्रदेशमा खेलपर्यटनका पर्याप्त सम्भावना रहेको उहाँको भनाइ थियो । खेलका माध्यमबाट अन्तराष्ट्रिय एवं राष्ट्रियरूपमा एकता कायम गर्ने उहाँले बताउनुभयोे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले पोखरामा भएको यस खेलले खेल क्षेत्रको विकाससँगै गण्डकी प्रदेशको पर्यटकीय सम्भावनालाई अझै उजागर गर्ने बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव घिसिङले स्वागत गर्दै नेपाली खेलकुदको इतिहासमा यसको महत्वपूर्ण स्थान रहने बताउनुभयो । कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । कूल छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ ।
प्रतियोगितामा करिब एक हजार तीन पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो ।
छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन् । उद्घाटनकै अवसरमा निर्णयकका तर्फबाट भलिबलका रेफ्री पहलसिंह थापा र खेलाडीका तर्फबाट प्याराग्लाइडिङका सुशील गुरुङले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित सपथ लिनुभएको थियो । रङ्गशालामा विभिन्न सांस्कृतिक प्रदर्शनी सञ्चालन भइरहेका छन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij