दशैं र तिहार नेपालमा मनाईने सबैभन्दा ठुला चाडहरु हुन । नेपालीहरुले दशैं र तिहारलाई धुमधामले मनाउने हुदाँ यी चाडहरु अर्थो सामाजिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छन् । करिब महिना दिनको अन्तरमा पर्ने दसैं र तिहार बीच समयका हिसाबले पनि निकटता छ । त्यसो त दसैं र तिहार मात्रै होईन यसको पेरिफेरिमै छठपर्व, नेपाल संवत र रमजान जस्ता पर्व उत्सव पनि पर्ने गर्दछन् । भिन्न पहिचान र सामाजिक एवम् सांस्कृतिक बिशेषता बोकेका यि पर्वहरु पनि उस्तै विशिष्ठतायुक्त छन् । जसलाई नेपाली समाजले अति महत्वका साथ हेर्दै, लिदै र मनाउने गर्दै आएको छ । नेपाल जातिय हिसाबले पनि विविधतायुक्त रहेको छ भने धार्मिक रुपमा पनि सहिष्णु छ । जहाँ बुद्ध जयन्ती, नेपाली नयाँ बर्ष, ल्होसार, महाशिवरात्री, होली, क्रिसमस तथा अंग्रेजी नयाँ बर्ष, तिज, जनै पुर्णिमा आदि जस्ता पर्वहरु निकै धुमधामका साथ मनाईने गरिन्छ । क्रमशm नेपाली समाजको सांस्कृतिक स्वरुप पनि मौलिक मात्रै नभई रुपान्तरितरपरिवर्तित हुँदै मिश्रित किसिमको बन्दै गईरहेको छ । अर्थात यहाँ मनाईने प्राय हर किसिमका चाडपर्वहरु कोही मौलिक रुपमै मनाउने गर्छन भने कोही उत्सवका रुपमा ग्रहण गर्दै हार्दिकता साटासाट गर्न, सामाजिकपन देखाउन, पर्वको रौनकता बढाउन, सुखको अनुभुती लिन, सदभाव फैलाउने आदी उदेश्य सहित यि चाडपर्वहरु भिन्न किसिमले मनाउने गरेको पाईन्छ ।
दशै र तिहारमा भने अलि बढी सार्वजनिक बिदा हुने हुँदा यि चाडहरु मनाउन नेपालीहरुले झम्मर र तयारीमा पनि निकै ध्यान, समय र धन खर्च गर्छन् । सुर्यको उपासनागरि जलाशयमा स्नान गर्दै मनाइने छठ पर्व पनि उस्तै विछट्ट र रौनकता थप्ने खालको छ । त्यस्तै नेपाल सम्बतलाई नेवास् समुदायले निकै हर्सोल्लासपुर्वक मनाउने गर्दछ । मुस्लिम समुदायले मनाउने रमजान पर्वको पनि आफनो छुट्टै महत्व छ । टिका ग्रहण, आशिष र आदर दर्शाउने संस्कार र संस्कृति मात्रै नभई नवदुर्गाको पूजा गरिने दसैंको मानक ‘मिठो खाने राम्रो लगाउने’ चाडको छ भने लक्ष्मीको पूजा आरधाना गरिने तिहार ‘झिलीमिली’ को चाडको रुपमा रहेको छ । यि सांस्कृतिक पक्षको वैभवतासँगसँगै राष्ट्रिय वैभवता पनि यि चाडपर्वहरुसँग जोडिएको छ । अर्थात देशको अर्थतन्त्र लाई चलायमान बनाउदै समृद्ध तुल्याउन यि चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
चाडपर्वको आर्थिक महत्व
८० प्रतिशत भन्दा माथिको जनसंख्या सहित हिन्दुहरुको अधिक आवादी रहेको नेपालमा दसैं र तिहारले महत्व पाउदै आएको छ । यि चाडहरु मनाउन सरकारले अलिबढि छुट्टी दिने, रोजगारी गर्नेलाई दसैं भत्ता दिने, स्वदेशमै भएकाहरु जुन ठाउँमा भएपनि आफनो गाउँठाउ फिर्ने, विदेशिएकाहरु कमाईधमाई सहित स्वदेश फर्कने गर्दछन् । फलतस् यस समयमा मानिसहरुको आवातजावत निकै बाक्लिन्छ । अर्थात यि चाडपर्वमा यातायातको चाप झण्डै चार पाँच गुणाले बढने गर्दछ । दसैं र तिहार ताक रोटी र अन्य मिठो मसिनो पाकवान खाने, पिङ खेल्ने, टिका लगाउने, लुगाफाटा किन्ने, घरको लिपपोत वा रंगरोगन गर्ने, घरमा नयाँ सामान भित्र्याउने र सजावट गर्ने, नयाँ सवारी साधन खरिद गर्ने आदी चलन रहेको छ । तसर्थ पनि यि चाडबाडको छेकोमा बजारमा माग र आपुर्तीको श्रिंखला स्वतस् बढेर जान्छ । प्रत्येक बर्ष बिशेषत भाद्रको मध्य देखी कार्तिकको अन्त्यसम्म वा असोज र कार्तिक महिनाको दुई वा साढे दुई महिना अवधि बजारमा अधिक चहलपहल बढने गर्दछ । आर्थिक गतिविधिहरूमा व्यापक रुपमा बढने हुँदा व्यक्तिहरुका निम्ती कमाई गर्ने त छदै छ राज्यले पनि बढी राजश्व संकलन गर्ने राम्रो समयका रुपमा यि चाडपर्वहरु पर्नेगर्दै आएका छन् ।
अर्थतन्त्रमा मनोसामाजिक प्रभाव
नेपालमा बर्षभरि हुने आर्थिक कारोबारको ४० देखि ५० प्रतिशतसम्म हिस्सा दशैं, तिहार र छठ पर्वको छेकोमा मात्र हुने गरेको बिश्लेषण अर्थशास्त्री एवम् बजार विज्ञहरुको रहेको छ । यसो हुनुमा मनोसामाजिक परिवेशको पनि गहन छाप पर्दै आउनु एक मुख्य कडि हो । यि पर्वको मिठो खाने र राम्रो लगाउने र रमझम गर्ने भन्ने मानक नेपाली समाजमा स्थापित भएकाले यसका निम्ती मान्छेले पुर्व तयारी समेत गर्ने गरेको पाईन्छ । जसमा सांस्कृतिक बिम्ब, प्रतिस्पर्धाको मनोविज्ञान, देखासिकी आदीबाट मानिसहरु स्वतस् बाँधिने वा प्रभावमा पर्ने गर्दछन् । तसर्थ पनि यो समय बजार पुँजीकृत रहने गर्दछ । बर्षभर मेहनत गर्ने र कमसेकम दसैं तिहार वा छठ मनाउनु पर्छ भन्ने मानसिकताका कारण अन्य समयबाट आर्जित रकम पनि यही समयमा बढि जसो खर्च गर्ने चलन छ । सरसापट गरेरैभए पनि उधारोमा कारोबार गरेरै पनि र ऋृण काडेरै भए पनि मिठो मसिनो खाने, भेटघाट र रमझममा रमाउने भन्ने सोच परम्पराका रुपमा विकास भएकाले पनि यस समयमा बजारमा किनमेल गर्न निक्लनेहरुको अधिक घुँईजो लाग्ने गर्दछ । चाडपर्व भित्रीयो भन्ने वित्तिकै समाजमा एक प्रकारले रौनकता र मादकता बढने गर्दछ । यसकै लहड र लहरसँगै कतिपय मानिसहरु होडबाजीको मानसिकता बोकेर ध्वास देखाउनमा पनि उद्यत रहन्छन् । अर्थात कतिले यो समयलाई आफनो गक्ष प्रदर्शन गर्ने, समाज छरछिमेकमा राम्रो मेसो लिएको भन्ने सन्देश प्रवाह गर्ने अवसरका रुपमा पनि उपयोग गर्ने हुँदा बजारले निकै ठुलो चाप व्यहोर्ने गर्दछ ।
बजार माग र अर्थतन्त्र
मानिसहरुले यस समयमा पहिलो प्राथमिकता खाद्यान्नलाई दिन्छन् । जसमा भान्सामा प्रयोगमा आउने अर्थात नभई नहुने अत्यावश्यकिय दैनिक उपभोग्य वस्तुहरु नुन, चिनी, तेल, चामल, पिठो, गेडागुडी, तरकारी पहिलो प्राथमिकतामा पर्दछन् भने एलपी ग्यासको खपत पनि अधिक मात्रामा हुने गर्दछ । त्यसपछि लत्ताकपडा फलफुल, किसमिस, चकलेट र पेय पद्धार्थलाई प्रायले दोस्रो प्राथमिकतामा राख्ने गरेको पाईन्छ । अर्कोतर्फ यससमयमा बिजुली बत्ती, रङ, गरगहना, कुशन, सरसफाई सामाग्री, सजावटका वस्तु, मोबाईल, टेलिभिजन, ल्याबटप, फ्रिज, वासिङ मेसिन, सवारी साधन आदी सामाग्रीहरुको बजार माग पनि अत्याधिक रहने गर्दछ । त्यसो त आफ्नो रहर पुरा गर्ने हिसाबले पनि मानिसहरुले आफ्नो इच्छा अनुसार घरायसी र व्यक्तिगत प्रयोजनका लागि नयाँ नयाँ सामानहरु किन्ने गर्दछन् । सेवातर्फ पर्यटन उद्योग पनि यस समयमा बढि चलायमान हुने गर्दछ । नवदुर्गामा शक्तीपिठ जाने, मुक्तिनाथमा हुने धार्मिक स्नान र पूजाआजा, कागवेनीमा गरिने सोर्ह श्राद्ध जस्ता धार्मिक आस्थाका कारण पनि पर्यटन उद्योग फस्टाउने गर्दछ । त्यसो त आकाश खुला रहने मौसम भएकाले र उत्सवको माहौल रहने हुँदा यस समय विदेशी पर्यटकहरुको रोजाईमा पर्ने गर्दै आएको पनि छ । जसमा ट्राभल, ट्रेक तथा पर्वतारोहण सम्बद्ध कम्पनीहरुले ल्याउने फेस्टिभल अफरले आकर्षण थप्ने र बाह्य पर्यटक भित्र्याउन पनि टेवा पुग्दै आएको छ । दसैं र तिहार ताका मनोरंजन क्षेत्र पनि उकासिने गरेको पाईन्छ । दसैं र तिहारसँग सम्बन्धित वा यसको छेको पारेर व्यवसायिक फिल्म, म्युजिक भिडियो, गीतहरु समेत रिलिज हुने गर्दछन् । त्यसो त स्कुल र अफिसहरु अघिपछि भन्दा लामो समय बिदा हुने हुँदा यस्ता मनोरंजनमुलक गतिविधिमा रम्न फिल्म हल, नाट्यशाला जाने पार्क तथा चिडियाघर पुग्नेहरुको पनि कमी रहदैन् ।
अर्को तर्फ, यस समयमा सेवा उद्योग अन्तर्गत रेमिट्यान्स र बैंकिङ् कारोबार पनि बढने गर्दछ । विदेशमा रहेकाहरुले घरपरिवारका निम्ती दसैं खर्च पठाउने हुँदा र तलब, भत्ता, व्यापारिक कारोबारबाट हुने आम्दानीको हिस्सा बैंकमा जम्मा गरिने हुँदा अर्थतन्त्र अघिपछि भन्दा चलायमान हुने गर्दछ । वस्तु तथा सेवाको ठुलो परिमाणमा कारोबार हुने हुँदा यस समयमा देशको अर्थतन्त्रमा राम्रै टेवा पुग्ने गर्दछ । अर्कोतर्फ यि चाडपर्वको पेरिफेरिमा राज्यले पनि अधिक करहरु संकलन गर्दछ । नेपालको अर्थतन्त्र आयातमुखी रहेको हामी प्राय सबैमा विदितै छ । यस समयमा मालसामानको आयातको आयतन निकै ठुलो हुनेहुँदा भन्सार लगायतका कारोबारमा लाग्ने कर अधिक मात्रामा संकलन हुन्छ । यसरी चाडपर्वका बखतमा देशको ढुकुटीमा पनि राम्रै आम्दानी जम्मा हुने गर्दछ । तसर्थ पनि यस समयमा देशको अर्थतन्त्र मजबुत हुने गर्दछ । सँगसँगै यस्ता चाडपर्वमा हुने आर्थिक गतिविधिले लामो समयसम्म आर्थिक वृद्धिदरलाई निरन्तरता दिदै दीर्घकालसम्म आर्थिक प्रभाव कायम राख्न महत्वपूर्ण भूमिका समेत खेल्दछन् । तर त्यसो भन्दै गर्दा बेलैमा कृषकसम्म मल नपुग्दा यस बर्ष नेपालको कृषि उत्पादन घटन जाने सन्दर्भ देखी हाल पनि बढ्दो अवस्थामा रहेको आयातको ग्राफ, नेपाल राष्ट्रबैकको कसिलो मौद्रिक नीति र विदेशी मुद्रा सञ्चितीमा हुँदै आएको कमीलाई नजर अन्दाज गर्न भने हुँदैन् । यसरी समग्रतामा हेर्दा आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न त्यति सहज भने हुनसक्ने देखिदैन् । यद्यपि चाडपर्वले सुस्त बजारलाई उकास्नमा भने राम्रै भूमिका खेल्ने छ ।
चाडपर्वमा बजार व्यवस्थापन
दसैं तिहार र छठ पर्व जस्ता चाडपर्वमा वस्तुको माग र आपुर्तिमा हुने बढोत्तरीले बजार व्यवस्थापनको पाटो पनि निकै चुनौतीपूर्ण रहने गर्दछ । बिशेषत बजार निकै व्यस्त हुनेहुँदा शहर क्षेत्रमा हुने ट्राफिक व्यवस्थापन देखी वस्तु तथा अन्य सेवा व्यापारको क्षेत्रमा हुनसक्ने अवान्छनिय कृयाकलापलाई रोक्नुपर्ने दायित्व सरकारमा रहन्छ । लोककल्याणकारी राज्यको परिकल्पना अनुरुप वितरण प्रणालीलाई चुस्त र प्रभावकारी बनाई उपभोक्तामुखी अर्थात नागरिक मैत्री बजार व्यवस्था कायम राख्नु राज्यको दायित्व पनि हो । तसर्थ यस समयमा बजारलाई व्यवस्थित तुल्याउन सरकारले नीतिगत र नियमनकारी दुवै पक्षलाई ध्यानमा राख्दै तयारी गर्नुपर्ने हुन्छ । जसका लागि चाडबाडलाई नै लक्षित गरेर बजार अनुगमन तथा बजार हस्तक्षेप जस्ता बजारलाई सु व्यवस्थित तुल्याउने प्रणालीगत प्रकृयाहरु अबलम्बन गर्न सकिन्छ । हुन त बजार अनुगमन सरकारको नियमित कार्य अन्तर्गत नै रहने गरेको छ । यद्यपि चाडबाडको समयमा उच्चतम संख्यामा कारोबार हुने हुँदा थप जनशक्ती परिचालन गर्न आवश्यक हुन्छ । जुन हालसम्म पनि व्यवस्थापनका हिसाबले कमजोर रहदै आएको देखिन्छ ।
मुख्यतया चाडबाडको बखतमा कालोबजारी गर्ने र महंगी बढाउन पनि खेलहरु हुने गरेको पाईन्छ । जसमा अखाद्य र मिसावटयुत्त गुणस्तरहिन वस्तुको कारोबार गर्ने, तौलमा ठग्ने, कृतिम अभाव सिर्जना गर्ने, मुल्य बढाउने, स्किमका नाममा अस्वस्थकर व्यवसायिक कृयाकलाप गर्दै ग्राहक झुक्याउने जस्ता अवान्छनिय कृयाकलापहरु हुने गर्दछन् । यस्ता गतिविधिलाई नियन्त्रण गर्न सरकारले अभिभावकिय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । सरकारले अनुगमनका माध्यमबाट मात्रै बजारलाई व्यवस्थित गर्न नसक्ने हुँदा बजार हस्तक्षेपको नीति समेत अख्तियार गर्नु पर्दछ । त्यसका निम्ती सरकार नियन्त्रित अर्थात सरकारी स्वामित्वका संस्थानहरुको परिचालन गर्दै बजारलाई थप व्यवस्थित बनाउन सक्छ । बजार मुल्य नियन्त्रण र कालोबजारी हुनबाट बजारलाई रोक्न संस्थानको भूमिका महत्वपूर्ण रहने हुँदा आम उपभोक्ताहरुले चरम महंगी र कालोबजारीको मारबाट उन्मुक्ति पाउने गर्दछन् ।
बिशेषगरि उपभोक्ताहरुलाई राहत उपलब्ध गराउने उदेश्य सहित नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले डेढ दशक अघि देखि प्रत्येक बर्ष सहुलियत दरको सुपथ मुल्य पसल संचालन गर्दै आएको पनि छ । सहुलियत बजारले यस बर्ष पनि निरन्तरता पाएको छ । छठ पर्वसम्म जारी रहने गरि गत आश्विन एक गते देखी सहुलियत बजार शुरु भैसकेको स्थिती छ । जसमा सरकार मातहतका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले छुट सुविधासहित उपभोक्ताहरुलाई सेवा उपलब्ध गराएका छन् ।
साल्ट ट्रडिङ्ले उपत्यकामा घुम्ती सेवासहित नेपालभर कुल ९३ वटा स्टल संचालन गरेको छ भने खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले विभिन्न स्थानहरुमा ४३ स्टल संचालन गरेको छ ।
साल्टले नुन, चामल, तेल, मैदा, दाल, गेडागुडी आदी वस्तु बिक्री गरेको छ भने खाद्यले काठमाडौंमा खसी र च्यांग्राहरुसहित चामल, सिमी लगायतका दलहन आदी खाद्य वस्तु विक्री गरेको छ । सरकारबाट संचालित यि सहुलियत बजारमा बजार माग बढिरहेको चिनी भने उपलब्ध छैन् । चिनीको आयातमा नेपाल सरकारले एक बर्ष अघि देखी लगाएको पावन्दीका कारण नेपाली उद्योगमाथि मात्रै निर्भर रहनुपर्ने अवस्था माझ हालै मात्र भारत सरकारले पनि निर्यातमा रोक लगाएको छ । त्यसो त उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले अर्थमन्त्रालयलाई सहुलियत बजारमार्फत बिक्रीका लागि स्वदेशी उद्योग मार्फत सहुलियत दरमा चिनी उपलब्ध गराउन गरेको आग्रहको सुनुवाई भएको छैन् । उपभोक्ता अधिकारकर्मीले सो सम्बन्धमा प्रधानमन्त्री कार्यालयमा निवेदन पेश गरेता पनि कार्वाही भएको बुझिएको छैन् । यसबाट लोक कल्याणकारी राज्यको उपहास भएको प्रतित हुन्छ । जे होस् सहुलियत बजारमार्फत सरकारले उपभोक्ता बजारमा उपस्थिती जनाउन खोज्नु राम्रो पक्ष हो ।सबै भेग समेटन नसकेतापनि बजारलाई सरकारको पकडबाट बाहिर जान नदिन भने यस सहुलियत बजारले ठुलै सहयोग पुग्नेछ ।
चाडपर्वमा मुल्यवृद्धिको असर
रुस युक्रेन युद्धका कारण लामो समय देखी विश्वबजार नै प्रभावित बन्दै आईरहेको परिप्रेक्ष्यमा नेपाली बजार समेत यसको चपेटामा छ । विश्व बजारमा भएको इन्धनको मुल्यवृद्धीले ढुवानी, यातायात लगायतका व्यापारिक एवम् औद्योगिक क्षेत्रहरु प्रभावित बनेका छन् । यसका कारण बजारमा वस्तु साथै सेवा व्यापारमा पनि निकै नै मुल्यवृद्धी भएको छ । मुल्य निर्धारणमा स्वचालित प्रणाली लागु गरेको आयल निगमले अन्तरराष्ट्रिय बजारमा तेलको मुल्य बढदा बढाए पनि घटदा नघटाऊदा उपभोक्ताहरु महंगीको मार खेप्न वाध्य छन् । दसैं अघि नै दुग्ध पद्धार्थ, खाने तेल, चामल जस्ता अत्यावश्यकिय वस्तुको मुल्य बढेको स्थिती छ भने खाना पकाउने ग्यास देखी अन्य वस्तु र सेवा क्षेत्रमा समेत मुल्यवृद्धी भएको छ । यसले गर्दा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन् । अहिलेको अवस्थामा उपभोक्ताहरुको क्रयशक्ती पनि घटेको छ । समग्रमा हेर्दा हुनेखाने वर्गले त जेनतेन दसैं राम्रै गरि मनाउन पाउलान तर ज्याला मजदुरी गर्ने र कम वेतनिक आय भएका व्यक्ति र परिवारका निम्ती दसैं दशा बन्ने निस्चित छ ।
जनसवाल राष्ट्रिय दैनिकको २०७९ असोज १३ गते बिहीबारको इपेपर
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2023 All right reserved | Site By : SobizTrend