काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) का कारण विगतका दुईवटा दशैं धेरै नेपालीका खल्लो बने । कोरोनाको डरले दशैंमा घर फर्किने योजना बनाएका विदेशमा रहेका लाखौं नेपाली देश फर्किन पाएनन् । स्वदेशमै रहेका धेरै नेपाली पनि कोरोनाकै कारण गाउँघर फर्किनन सकेनन् । तर, यसपटक अवस्था फरक बनेको छ । कोरोना संकट लगभग समाप्तिको अवस्थामा पुगेसँगै नेपालीजनको सबैभन्दा ठूलो र महत्वको पर्व दशैंका लागि उत्साह फर्किएको छ । कोरोनाका कारण जारी प्रतिबन्ध प्राय सबै देशले हटाइसकेको अवस्थामा स्वदेश तथा विदेशमा रहेका लाखौं नेपाली यसपटक दशैं मान्न गाउँघर फर्किरहेका छन् ।
सांस्कृतिक एकताको प्रतीक
हिन्दू धर्मालम्बीहरूको पर्वका रुपमा परिभाषित गरिदै आएको भएपनि दशैं सांस्कृतिक एकताको अनुपम प्रतिकका रुपमा रहँदै आएको छ । प्रायः सबै धर्म, वर्ग र क्षेत्रले दशैंलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन । नेपालमा दशैंको माहोल नै यस्तो हुन्छ कि त्यसले जोसुकैलाई प्रभाव पार्छ नै । सरकारी काम गर्ने कर्मचारी, निजी तथा कर्पोरेट संस्थाका कर्मचारी, मजदुर, व्यापारी, उद्योगीदेखि आम नेपालीसम्मका लागि दशैं विभिन्न कारणले उल्लासको पर्व बन्छ । अत्यावश्यक सेवामा खटिने कर्मचारी र सेवा प्रदायकबाहेका सबैजसोले परिवारसँग बसेर दशैं मनाउने, घुमघाम गर्ने, मीठो मसिनो खाने र राम्रो लगाउने पर्वको रुपमा दशैं मनाउने गर्छन् । जुनसुकै क्षेत्रका व्यक्ति पनि परिवारका सदस्यसँग जोडिएर वा साथीभाईसँग रमाइलो गरेर दशैं मनाउने गर्छन् । समग्रमा भन्दा दशैं आम नेपालीको लागि वर्षभरको कामधन्दा र दौडधूपबाट बचाएर निकालिएको फूर्सद हो । अन्य सबै प्रकारका तनाव भुलेर पारिवारिक वातावरणमा रमाउने साथीभाई इष्टमित्र भेटघाट गर्ने बेला पनि हो । आफ्ना मान्यजनसँग टीका, जमरा र आशीर्वाद थाप्नेमात्र होइन कि दशैंले व्यक्ति, परिवार र समाजमा आत्मीयता, भातृत्व र स्नेहको पनि प्रर्वद्धन गर्दै आएको छ ।
अर्थतन्त्रलाई टेवा
दशैंलाई अर्थतन्त्र चलयामान गराउने चाडका रुपमा अर्थशास्त्रीहरूले अथ्र्याउने गरेका छन् । स्थानीय तथा संसदीय चुनाव हुँदा हुने अर्थतन्त्रको चलायमान नेपाली अर्थतन्त्रमा उल्लेख्य मानिन्छ भने दशैं पर्व त्यो भन्दा बढी चलायमान हुने समय भएको अर्थशास्त्रीहरू बताउँछन् । चुनाव हुने वर्ष सरकारी खर्च बढी हुन्छ भने दशैंमा आम उपभोग्यदेखि दशैंलाई दृष्टिगत गरेर हुने सरकारी खर्च पनि उल्लेख्य हुने गरेको छ । दशैंमा वस्तु तथा सेवाको प्रयोग बढ्छ । प्रायः सबै क्षेत्रका कर्मचारीले एक महिनाको तबल बोनसका रुपमा प्राप्त गर्ने भएकाले पनि दशैंमा सबैले मन फुकाएर खर्च गर्छन भने आवश्यक वस्तुको जोहो गर्छन । मौसम परिवर्तन हुने समयको सुरुवात भएकोले दशैंमा लगाउने नयाँ लुगासँगै लगत्तै आउने जाडोको कपडाको व्यापार पनि यही बेलाबाट बढ्न सुरु हुन्छ ।
दशैंमा सबै क्षेत्रमा हुने कारोबार अन्य समयको तुलनामा ६० प्रतिशतसम्मले बढ्ने सम्बन्धित क्षेत्रका व्यापारीहरू बताउँछन् । खाद्यान्न, लत्ताकपडा, सवारी साधान खरिद, घरायसी विद्युतीय सामान, ग्याजेटसहितको व्यापार चम्कने गर्छ । दशैंमा सबै क्षेत्रको व्यापार व्यवासाय फस्टाउने गरेको छ । अन्य समयमा फूर्सदिला हुने मोबाइल, लत्ता कपडा, सवारी साधान, घरायसी प्रयोगका सामान, इलेक्ट्रोनिक वस्तुहका व्यापरिलाई यो बेला भ्याइनभ्याई छ । घुमघाम गर्ने र खानपानमा रमाउने नेपालीबाट हुने खर्च बढ्ने गरेको छ भने स्वादेशी र विदेशी गन्तव्यमा रमाउन चाहने पर्यटकको पनि चहलपहल सुरु हुन थालेको छ ।
दशैंको समयमा रेमिटेन्स आय पनि बढ्ने हुँदा अर्थतन्त्र चलयमान हुन्छ । दशैंमा विदेशमा रहेको नेपालीले पठाउने रेमिटेन्स अन्य समयको तुलनामा बढ्ने हुन्छ । वर्षेनी यस्तो रेमिटेन्स बढ्दै गएको भएपनि कोरोना महामारीमा पनि यसले अर्थतन्त्र चलयामान बनाउनमा सहयोग पुर्याएयकोे देखिन्छ । यो वर्ष पनि दशैं सुरु हुनु अगाडि नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि हुँलै साउनमा ९२ अर्ब २१ करोड रेमिटयान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो महिना साउनमा नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । नेपालबाट मासिक रुपमै बाहिरिने १३ हजार नयाँ कामदार र एकपटक गएर आएका पुनः विदेशिने ११ हजार नेपालीले मासिक पठाउने रेमिटेन्सकै आधारमा नेपालको अर्थतन्त्र धानिएको छ ।
चलहपलहको माध्यम यात्रा र किनमेल
दुई वर्षदेखिको कोरोना महामारी न्यूनीकरण हुँदै गएपछि र खोपका कारण ढुक्कको अवस्था श्रृजना भएपछि यो वर्षको दशैं चहलपहल बढ्न थालेको हो । एक गन्तव्यबाट अर्को गन्तव्यमा जाने स्थालमार्गदेखि हवाई मार्गसम्मका यात्रुको चाप बढेको छ । दशैंलाई काठमाडौंबाट बाहिरिने नेपालीको संख्या उल्लेख्य हुने गरेको छ । महामारीका कारण गत वर्ष परिवारसँग रमाउन नपाएका कामकाजी नेपाली यसपटक भने बेलैमा परिवारसँग घुलमिल हुन पुग्ने तम्यारीमा जुटिसकेका छन् । दशैंसँगै बजारमा बढ्ने भीड बढन थालेको छ भने यात्रा र किनमेलमा नेपाली व्यस्त हन थालेका छन् । वस्तु तथा सेवा खरिद बिक्रीका लागि आम उपभोक्ता तथा व्यापारीको बजारमा भीड छ । वर्षेनी स्थलमार्गबाट मात्रै २० लाखभन्दा बढी नेपाली काठमाडौं बाहिर दशैंलाई नै जाने गरेका छन् । महामारीका कारणले गत वर्ष कम भएको आवतजावत यो वर्ष खोप लगाएकै कारण र महामारी समाप्त हुदै गएकोले सहरदेखि गाउँसम्म नै चहलपहल सुरु भएको छ । अधिकांश नेपालील कोरोना खोपको दुबै मात्रा पूरा गरेका छन भने धेरैले बुष्टर डोज पनि लगाइसकेका छन् । दशैंमा गाँउघर जानेले गर्ने किनमेलदेखि सहरमै बस्नेले प्रयोग गर्ने सामानसम्मको व्यवासाय बढेको छ ।
अफर र छूटको दशैं
दशैं हरेक नेपालीका लागि मात्रै नभएर उद्योगी र व्यापारीको पनि चाड हो । दशैं भन्ने वित्तिकै अत्यावश्यक सेवादेखि विलासिताका सामानसम्ममा अफर र छूट दिने गरिएको छ । नेपाली अर्थतन्त्र चलयमान बनाउन यस्तो अफर र छूटले पनि थप सहयोग गरेको छ । अर्थतन्त्र चलायमान बढाउन दशैं आफैंमा महत्वपूर्ण चाड हो भने छूट र अफरले झन उत्साह थप्ने गरेको छ । आम नेपाली दशैंलाई नै सामान खरिद गर्ने योजना बनाउने र दशैंलाई पैसा जम्मा पारेर लत्ताकपडा किन्नेदेखि सवारी साधान र विलासिताका साधान मानिने महंगा सवारी र सुनचाँदी जोड्ने गर्छ । यही बेला पूmर्सद हुने भएकोले बाहिरफेर घुम्न निस्कन्छन् । जसका कारण हरेक क्षेत्र, पेशा, व्यवासायले सम्बन्धित ग्राहक आकर्षण गर्न छूट र अफरको वर्षा नै दशैंलाई चलाउने गरेका छन् । यस्तो छूट र अफरको वर्षाले नयाँ ग्राहक आकर्षित गर्न सकिने र कारोबारको भोलुम बढाएर एकैपटक बढी नाफा कमाउने व्यवसायीको उद्देश्य हुने गरेको छ ।
बजारमा अहिले खाद्यान्नदेखि यात्रा गर्दासम्म छूट र अफर आएको छ । दैनिक उपभोग्य वस्तु मानिने खाद्यान्न किन्दा पनि उद्योगी व्यवासायीले आफ्नो ब्राण्डतर्फ आकर्षित गर्न र व्यापार व्यवासाय बढाउन छूट अफर चलाएका छन् । मोबाइल, सवारी साधन, विद्युतीय सामाग्री, रेमिटेन्स, हवाई यात्रा, वालेटबाट हुने कारोबार तथा भुक्तानी सेवाप्रदायकको नगदरहित कारोबारसम्ममा उपहार र छूटको वर्षा सुरु भएको छ । यी सेवा र सुविधामा ग्राहकलाई नगद छूट, हात खालि नजाने उपहार, स्योर सर्ट, स्क्रार्च कुपन, लक्की ड्र, उत्कृष्ट प्रयोगकर्ता, सेवा वा सुविधा प्रयोग गरेवापत लिने उपहार सामान्य हौसल्लादेखि नगद, गाडी, मोटरसाइक र घुम्न जाने प्याकेजसम्म हुने गरेको छ । ग्राहक आकर्षण गर्न हुने यस्तो छुट र अफर नयाँ सेक्टरमा पनि जान थालेको छ । अहिले इसेवबाट मोबाइलमा रिचार्ड गर्दा मोटरसाईकल, यति एयरलाइन्सबाट हवाई जहाज यात्रा गर्दा स्कूटर, मोबाइल टिभी किन्दा उपहारदेखि दैनिक उपभोग्यदेखि विलासिताको सामान किन्दासमम यस्तो उपहार राखिएको छ । यसले ग्राहक तान्न मात्रै नभएर नाफा बढी कमाउन व्यवसायी लालायीत हुने गरेको अर्थशास्त्री बताउँछन् ।
बजारमा भीडभाड
दशैं लक्षित बजारको चहलपहल बढेका कारण नेपाली बजार चलायमान भएको छ । जहाँ गयो त्यहीँ भीड बढेको छ । बजारमा लत्ता कपडा, खाद्यान्न, सवारी साधन, सुनचाँदी, भाडावर्तन, फर्निचर एण्ड फर्निसिङ रंगरोगनमा भीडभाड बढेको छ । सार्वजनिक सवारी यात्रा गर्न जानेदेखि विमानस्थल प्रयोग गर्नेसम्मका यात्रुका कारण पनि बजारमा चहलपहल र भीडभाड बढेको देखिन्छ । यात्रा सबैलाई गर्ने पर्ने र सेवा सुविधा सबैलाई चाहिन्छ हुँदा यात्रा तथा किनमेल सबैको लागि उत्तिकै आवश्यक हुने हुँदा बजार चलायमान हुनका साथै भीडभाड बढ्ने हुन्छ । बजारमा बढेको यस्तो भीड अन्य समयको तुलनामा दशैमा ४० देखि ५० प्रतिशतले बढ्नुलाई स्वभाविक पनि मान्न थालिसकिएको छ ।
बजारमा भएकै सामान खरिदमा यस्तो भीडभाड हुन्छ । बजारमा चिनियाँ र भारतीय सामान छ्यापछ्प्ती छन् । अझै केही चिनियाँ सामान अवरुद्ध भएका कारण आउन ढिलो हुँदा पनि बजारमा भने चलहपल र भीडभाड कम भएको छैन् । विकल्पमा ग्राहकले पुराना सामानै उठाउने र जे पाइन्छ त्यहीं खरिद गर्ने गरेका छन् । चीनबाट दैनिक सामान आउन ढिलो गरेको भएपनि भारतीय सामान दशैं अगाडि नै आइसकेका कारण बजारमा गतिविधि बढाएको छ । लत्ताकपडा, घरायसी सामानमा पछिल्लो समय चिनियाँ सामानको प्रयोग बढी हुने गरेको छ । यी सामान दशैंलाई दृष्टिगत गरेर पहिल्यै जोहो गर्नेको व्यापार बढेको छ भने ढिलो गरि ल्याउनेको पनि अब सामान बजार आइसकेको कारण चहलपहल बढाएको महाबौंद्धका व्यापारीहरू बताउँछन् । उनीहरूका अनुसार किनमेल गर्ने ग्राहक अहिले होलसेलबाट खुद्रामा पुगिसकेका छनु । होलसेलबाट खुद्रा व्यापारीले दशैलाई चाहिने सामान लगिसकेका कारण अब ग्राहक आप्mनो अनुकुल ठाउँमा किनमेल गर्न थालेका छन् ।
खर्बौको व्यापार
दशैंका लागि नेपालमा खाद्यान्नमै खर्बौ खर्च हुने गरेको छ । दशैंको महिना मात्रै मासिक चार अर्ब रुपैयाको चामल खपत हुने गरेको छ । अन्य अत्यावश्यक वस्तुको पनि उपभोग यस्तै गरी बढिरहेको छ । खाद्यान्न र अत्यावश्यक सामाग्रीको खपत सामान्य दैनिकी चलाउन पनि आवश्यक पर्ने भएपनि दशैंलाई नै दृष्टिगत गरेर र दशैं केन्द्रित अर्थतन्त्र भएको अर्थविदहरू बताउँछन् । दशैंलाई नयाँ नोट साट्ने चलन पनि छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यो वर्ष दशैंलाई मात्रै करिब ३० अर्ब भन्दा बढीको नयाँ नोट साटिने भएका छन् । यस्तो नयाँ नोट दशैं सुरु हुनु भन्दा एक साता अगाडि नै राष्ट्र बैंकबाट १३ अर्ब रुपियाँको नयाँ नोट बैंक तथा वित्तीय संस्थाले लगिसकेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तो नयाँ नोटको सटही दशैंको फूलपातीको दिनसम्म सटही हुने गर्छ । नयाँ नोट साटेर दशैं मनाउने तथा दशैंमा टिकाटाले गर्दा साना तथा नयाँ नोटको प्रयोग बढी हुने गर्छ । राष्ट्र बैंकले पनि बर्षेनी नयाँ नोट बजारमा पठाउने गरेको छ । यो वर्ष भने सबै वाणिज्य बैंकलाई नयाँ नोट वितरण गर्न अनिवार्य गरेको र विकास बैंक तथा अन्य वित्तीय संस्थाले पनि नयाँ नोट वितरण गरिरहेकोले गत वर्षको तुलनामा यो वर्ष नयाँ नोट सटहीमा सहजता भएको पनि उल्लेख छ ।
दशैंमा विलासिता मानिएका ठूला र महंगा सवारी, सुन चाँदीसहितको कारोबार पनि बढी हुने गरेको छ । विलासिताका सेवा कतिपय अवस्था अनुसार प्रयोगकर्ताका लागि अत्यावश्यक भइसकेको हुन सक्छ । पछिल्लो समय विलासिताका सामान आवश्यकतामा परिणत भइसकेका छन् । सवारी साधन, मोबाइल, टीभी, कम्प्युटरसहितका साधन पहिले विलासितामा गणना गर्ने गरिएको थियो भने अहिले अत्यावश्यक भइसककेको छ । कतिपय महंगा सवारीलाई मात्रै विलासितामा नै मानिने गरिएको भएपनि सरकारले भने दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुबै प्रकारका सवारी सधानलाई विलासिताको सूचीमा राखेको छ । भन्सार विभागले नेपालमा आउने यस्ता सवारी साधानमा ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको छ । नेपाल भित्रने सवारी साधानको क्षमताको आधारमा चार पाङ्ग्रेका लागि मूल्यको २२५ देखि ३०७ प्रतिशसम्म र दुई पाङ्ग्रेका लागि १०६ देखि १९३ प्रतिशतसम्म भन्सार शुल्क तोकिएको छ ।
भन्सार विभागकै तथ्यांक अनुसार पनि नेपालमा मासिक ११ अर्ब रुपैयाँको सवारी साधन र यसका पाटपूर्जा आयात हुने गरेको छ । यस्तो आयात सुनचाँदी मात्रै मासिक ६ अर्बको खपत हुने गरेको पनि तथ्यांकले देखाएको छ । विद्युतीय सामान खरिदमा हुने खर्च साढे तीन अर्ब छ भने तयारी पोशाकमा हुने खर्च मासिक साढे दुई अर्ब रुपियाँको छ । यस्तो तथ्यांक दशैं अगाडिको महिनामा हुने गरेकोले दशैंलाई अझै बढ्ने पनि उल्लेख छ ।
जनसवाल राष्ट्रिय दैनिकको २०७९ असोज १३ गते बिहीबारको इपेपर
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij