बुधबार, असार ८ २०७९
समाजसेवाको क्षेत्रमा निस्वार्थ रूपले लागेर सानै उमेरमा उत्कृष्ट सामाजिक कार्यमा आफूलाई समर्पण गर्ने व्यक्ति सिंगो पृथ्वीमा विरलै हुन्छन् । जो व्यक्ति अभावको बीचमा पनि संघर्ष गर्दै आफूलाई सक्षम बनाएर देश र समाज हितको लागि कार्य गर्ने योजना बनाउँछ त्यस्तो व्यक्ति बेला–बेलामा मात्र यो धर्तीमा जन्मने गर्दछ । समाजका गरीब, असहाय र जीवनदेखि हार खाएका व्यक्तिहरूको सेवा गर्नुका साथै राज्यको उन्नतिलाई समेत आफ्नो कर्तव्य ठानी समाजसेवालाई सर्वोपरि ठान्ने तिनै व्यक्तिहरूमध्ये एक हुन्– अक्कलबहादुर तामाङ लामा । तिनै व्यक्तिको जन्म गरीब किसान परिवारमा काभ्रेपलाञ्चोक जिल्लाको एउटा दुर्गम गाउँ कुरुवासमा बुवा धर्मसिं तामाङ र आमा माइली तामाङको कोखबाट २०३३ साल माघ २६ गते चौथो सन्तानको रूपमा भएको थियो ।

अक्कलबहादुरको बाल्यकालीन बोलाउने नाम ‘बहादुर’ थियो । एउटा गरीब किसान परिवारमा जन्मिएको त्यसमाथि जनजातिको पनि तामाङ जाति; जो अशिक्षा र गरीबीमा वर्षौंदेखि पिल्सिएको छ । आठ वर्षको उमेरसम्म पनि अक्कलबहादुर स्कूल जान पाएनन् । उहाँका आमाबुवालाई ‘पढेर के हुन्छ र त्यही कुटो, कोदालो, हलो, जुवा गर्ने त हो नि’ जस्तो लाग्थ्यो । अक्कलबहादुरको घर नजिकै एउटा चउर थियो जहाँ उ सधैं गाईवस्तु चराउन गोठालो जाने गर्नुहुन्थ्यो, जुन चउरमा विद्यालय थियो । बच्चाहरू पढे–खेलेको देखेर उहाँलाई पनि विद्यालय जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । अक्कलबहादुरका माइला दाजु काठमाडौंमा रिक्सा चलाउने काम गर्नुहुन्थ्यो । एक दिन दाजु ज्ञानबहादुर तामाङ काठमाडौंबाट गाउँमा आएको बेला अक्कलबहादुरसँगै वस्तु चराउन चउरमा जानुभयो । त्यहाँ चउरको स्कूलमा बच्चाहरू देखेपछि ज्ञानबहादुरले भाइलाई ‘तिमी पनि स्कूल जाने हो ?’ भनेर सोधे । अक्कलबहादुरले ‘जाने भनिहाले’ किनकि उहाँमा विद्यालय जाने तीव्र इच्छा थियो । त्यसै दिन दाइ ज्ञानबहादुरले स्कूलका प्रधानाध्यापक ध्रुवप्रसाद पाण्डे गुरुसँग कुरा गरेर उहाँलाई विद्यालय भर्ना गरिदिनुभयो । तर आफूसँग किताब किन्ने पैसा नभएकोले किताब निःशुल्क दिन प्रधानाध्यापकलाई अनुरोध गर्नुभयो । नभन्दै प्रधानाध्यापक पाण्डेले एक सेट किताब अक्कलबहादुरलाई दिएर सहयोग गरिदिनुभयो ।
पहिलो पटक विद्यालयमा प्रवेश गर्दा अक्कलबहादुरको उमेर ८ वर्ष कटिसकेको थियो । आफ्नो पढ्ने इच्छा धेरै भएकोले अक्कलबहादुरले रात–दिन मिहिनेत गरी पढ्नुभयो । त्यस वर्षको परीक्षामा विद्यालयमा सबैले भन्दा उत्कृष्ट अंक ल्याएर प्रथम हुनुभयो । त्यसपछि प्रत्येक वर्ष विद्यालयको प्रथम विद्यार्थी हुनबाट उहाँलाई कसैले रोक्न सकेन । कक्षा ५ सम्म पढ्दा उहाँले कहिल्यै पनि नयाँ किताब पढ्न पाउनुभएको थिएन । कारण थियो– गरीबी । यो कुरा उहाँले पनि बुझिसक्नुभएको थियो । अनि त्यसैबेला उहाँले अठोट गर्नुभयो कि– ठूलो र सक्षम भएपछि गरीब बालबालिकाहरू (जो गरीबीका कारण विद्यालय जानबाट बञ्चित छन्) लाई विद्यालय जान सहयोग गर्नेछु ।

कक्षा १० सम्मको पढाइ सकेपछि २०५० सालमा बुवासँग ५० रुपैयाँ बाटोखर्च मागेर आमा–बुवाको आशीर्वाद लिएर अक्कलबहादुर काठमाडौं पस्नुभयो । काठमाडौं जाने बेला आमा–बुवाले आशीर्वाद दिंदै ‘बाबु ठूलो मान्छे बन्नु, जीवनमा जति दुःख र कष्ट आइपरे पनि हरेस नखानु, अरूको कुभलो कहिल्यै नचिताउनु, सधैं सबैको भलो चिताउनु, सकिन्छ भने गरीब, दीन, दुःखी र असहायलाई सहयोग गर्नु, ठूलो मान्छे बन्ने सपना सधैं देख्नु । अरू त हामी अनपढ मान्छेले के नै पो भन्न सक्छौं र ? हामी भन्दा तिमी नै जान्ने–बुझ्ने छौ’ भनेर भन्नुभएको कुरा उहाँको मानसपटलमा कहिल्यै बिर्सन नसक्ने गरी छाप बनेर रह्यो । जुन कुरा उहाँले जीवनमा कहिल्यै विर्सनु भएन र आमा बुबाले दिनु भएको आर्शीबादलाई आत्मासाथ गर्दै अक्कलबहादुरले आफ्नो जीवनका पाईलाहरू निरन्तर चालिरहे ।
काठमाडौं पसेपछि अक्कलबहादुरले धेरै दुःख र हन्डर पाउनुभयो । कहिले सिमेन्ट बोक्ने, कहिले कठ्यांग्रिएको जाडोमा टेम्पो धुने काम गर्नुभयो । कहिल्यै साइकल नै नदेखेको मान्छेले साइकल गुडाएर सामान बेच्ने हिम्मत गर्नुभयो । कैयौं छाक खाना नै नखाएर भोकै बस्नुप¥यो भने फेर्ने लुगा नहुँदा साहुले कामबाट निकालेको तितो अनुभव समेत बटुल्नुभयो । जस्तै कष्ट भए पनि आमाबुवाले भन्नुभएको ‘कहिल्यै जीवनसँग हार नखानु’ कुरालाई बिर्सनुभएन । अझ संघर्ष र मिहिनेत गर्दै जानुभयो । केही वर्षको संघर्षपछि राम्रो कम्पनीमा काम पाउनुभयो । मिहिनेतले गर्दा नै उहाँ कम्पनीको वागमती अञ्चल प्रमुख समेत बन्नुभयो ।
संघर्षमय जीवनका बाबजूद पनि अक्कलबहादुरले पढाइलाई केही हदसम्म निरन्तर नै राख्नुभयो । काठमाडौं छिरेको आठ वर्षको संघर्षमय जीवनले धेरै कुरा सिकाउनुका साथै केही हदसम्म आर्थिक रूपमा सबल पनि भइसक्नु भएको थियो । उहाँलाई घरबाट सबैले विवाह गर्न सुझाव दिइरहेका थिए । त्यसैले २०५८ साल वैशाख १२ गते आफूभन्दा ७ वर्ष कान्छी कृष्णमाया तामाङसँग विवाहबन्धनमा बाँधिनुभयो । विवाह भएको एक वर्षमै श्रीमतीलाई एक्लै छाडेर भए पनि वैदेशिक रोजगारीमा जाने निधो गर्नुभएको अक्कलबहादुरको सपना आफ्नो जीवनलाई अझ सहज तरिकाले विताउन सकिन्छ, कि भन्ने नै थियो । त्यसपछि वैदेशिक रोजगारीको लागि २०५९ मा दक्षिण कोरिया जानुभयो ।
वैदेशिक रोजगारीमा जानुको एउटै मात्र लक्ष्य थियो– आर्थिक रूपमा केही सफल हुने र दीन, दुःखीको लागि काम गर्ने । जसले गर्दा कोरियामा पुगेर तनमनले त्यहाँको भाषा पनि सिक्दै मिहिनेत र इमान्दारीका साथ कडा परिश्रम गर्नुभयो । जसको प्रतिफल कोरिया पुगेको एक वर्षमै पोस्को कम्पनीले वार्षिक रूपमा गरिने कामदारको नोमिनेशनमा पर्न सफल र अवार्ड जित्न सफल हुनुभयो । जुन अवार्ड इमान्दारीको प्रतीक २४ क्यारेटको सुनको चावी थियो । कोरिया बसाइको क्रममा अक्कलबहादुरले थाहा पाउनुभयो कि कोरियामा रहेका धेरै विदेशी कामदारले दुःख पाइरहेका छन् । कोहीले काम नपाएको, कोहीले तलब नपाएको, कोहीले भाषा नबुझेका कारण बिरामी हुँदा समेत उपचार गर्न नपाएको जस्ता समस्या झेलिरहेको थाहा पाएपछि उहाँले दुःख पाएका नेपालीको सहयोग गर्ने उद्देश्य सहित सन् २००७ मा ‘आपत्कालीन नेपाली सेवा समिति’ नामक संस्था खोलेर आपत्मा परेका नेपालीको सेवा गर्न शुरू गर्नुभयो ।
फलतः विधिवत् रूपमा उहाँ स्वयंसेवकको रुपमा अगाडी बढ्दै सामाजिक कार्यमा होमिनुभयो । रातभरि कम्पनीमा काम गर्ने र दिनमा भाषा समस्यामा परेकाहरूका लागि भाषा अनुवादक हुने, काम नभएकाहरूको लागि खान–बस्नको व्यवस्था गरिदिने, दुर्घटनामा परी इन्स्योरेन्स नपाएकालाई इन्स्योरेन्स दिलाउने, परिवारबाट छुटेर आफ्नो घर परिवारको यादमा तड्पिएकाहरूको लागि कोरियन सरकारलाई अनुरोध गरेर पारिवारिक मिलन गरिदिने जस्ता कार्य गरेर आफ्नो सपनाको नजिक पुग्ने कोशिश गर्नुभयो । यी सबै कार्यको सम्भव आफू स्वयंसेवकको भूमिकामा रहेर कार्य गरी कोरियन स्वयंसेवकहरूसंग सम्वन्ध स्थापित गर्दे त्यहाँका स्वयंसेवकहरूबाट प्राप्त भएको सहयोगले नै भएको थियो । यसरी हजारौं नेपालीलाई सहयोग गर्न कोरियन स्वयंसेवकहरूले निस्वार्थ रूपले सहयोग गरेको देखेर आफू पनि नेपाल फर्केर स्वयंसेवा गर्ने संस्कारको विकास गर्ने दृढ संकल्प गर्नुभयो ।
कोरियामा केही सेवा गर्ने मौका पाए पनि आफ्नो सपना नेपालकै दीन–दुःखीको सेवा गर्ने भएको हुँदा सन् २०१० मा सधैंको लागि कोरिया छाडेर स्वदेश फर्कनुभयो । करीब ७ वर्ष बढी लामो कोरियाको बसाइपछि स्वदेशमा फर्कंदा आफ्नो देशमा पनि पहिला भन्दा पक्कै पनि केही परिवर्तन भयो होला भन्ने कल्पना गर्नु भएकोे थियो अक्कलबहादुरले तर त्यो कल्पना एयरपोर्टसम्म मात्र सिमित रह्यो । अक्कलबहादुर एरपोर्ट आईपुगेपछि पानी पिउन मन लाग्यो, अनि पानी पिउने स्थानमा पुग्नुभयो । तर त्यहाँ छरिएका कप, पानीका फोहोर भाँडा देखेर उहाँलाई पानी पिउनै मन लागेन र उहाँले तत्कालै जनचेतना सहितको ‘सरसफाई अभियान’ सञ्चालन गर्ने निधो गर्नुभयो । कोरियामा सिकेको हुनाले उहाँमा तुरून्त यस किसिमको सोच आयो ।
धेरै वर्षपछि स्वदेश फर्केको हुनाले दुई हप्ता भेटघाटमै विताउनुभयो । भेटघाटकै क्रममा अक्कलबहादुरले देशको सबै जनतामा स्वयंसेवीको भाव जाग्ने गरी ‘सरसफाई अभियान’ चलाउने योजना बनाउनुभयो । तर अभियान शुरू गर्नुअघि आफ्नो आम्दानीको स्रोत बनाउनुपर्छ भनेर अक्कलले आफ्नी श्रीमतीको लागि दैनिक उपभोग्य सामग्रीको ग्रोसरी स्टोर खोलिदिनुभयो र आफ्नो लागि केही कम्पनीमा सेयर लगानी गर्नुभयो । त्यसै क्रममा उहाँले नेपाल–कोरिया कल्चर एक्सचेन्ज एण्ड सोसियल अर्गनाइजेशन (नेकोस) नामक संस्था दर्ता गर्नुभयो । आफ्नै अध्यक्षतामा दर्ता गर्नुभएको संस्था मार्फत अक्कलबहादुरले दुई वटा अभियान (‘सरसफाई अभियान’ र ‘सबैको लागि शिक्षा’) सञ्चालन गर्ने दूरदर्शी योजना बनाउनुभयो । अभियान सञ्चालन गरेर गरीबीको कारण शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यकासाथ सन् २०११ फेब्रुअरी ८ मा आफ्नै जन्म दिन पारेर उहाँले कामको शुरुवात गर्नुभएको थियो ।
उहाँले आफ्नो पहिलो अभियान अन्तर्गत जम्मा ७ जना साथीहरूको साथ जुटाएर काठमाडौंको शंखपार्कमा सरसफाई गरी शुरू गर्नुभएको थियो । त्यसपछि प्रत्येक शनिबार बिहान दुई घण्टा माइकिङ गर्दै ‘इच्छुकहरू स्वयंसेवा गर्न आउनुहोला’ भन्दै बाटोका कागज, प्लाष्टिकका साथै अन्य फोहोरहरू उठाउन थाल्नुभयो । अनि माइकिङमा ‘यो अभियानको नाम ग्रीन एण्ड क्लिन सिटी हो । हामी हाम्रो शहरलाई सफा र हरियाली बनाउने कोशिशमा छौं । सक्नुहुन्छ भने हामीलाई मास्क, पञ्जा, फोहोर हाल्ने बोरा, झाडु जे सकिन्छ दिनुहोला अनि फुर्सद छ भने तपाईंहरू पनि यस अभियानमा सहभागी हुनको लागि अनुरोध छ’ भन्ने गर्नुहुन्थ्यो । मात्र आफू, आफ्नी श्रीमती र दुई÷चार जना साथीहरू मिलेर प्रत्येक हप्ता माइकिङ गर्दै ‘तपाइँहरू पनि आउनुहोस् मिलेर हामी बस्ने ठाउँ सफा गरौं, टोल बस्ती फोहोर भयो भने विभिन्न रोग लाग्न सक्छ, रोग लागे पछि उपचार खर्च धेरै लाग्छ, जटील किसिमका रोग लागेमा मृत्यु समेत हुनसक्छ ।’ भन्दै फोहोर उठाउँदै हिंड्दा कोहीले गिज्याएर ‘ऊ त्यहाँ पनि फोहोर छ’ भन्थे भने कोहीले ‘डलर पचाउने काम’ भनेर खिसी गर्थे । यस्तो सुनेपछि कहिलेकाहीं त अभियान नै छोडौं जस्तो पनि लाग्थ्यो अक्कलबहादुरलाई तर उहाँ विचलित नभई आफ्नो अभियान सफल बनाएरै छाड्ने प्रणकासाथ निरन्तर अगाडि बढ्नुभयो ।

समाजका मानिसहरूले जे भने पनि, जति कुरा काटे पनि आफ्नो अभियानमा निरन्तर लागिरहेका अक्कलबहादुरलाई अभियानको पाँचौं महीनामा एक जना मेडिकल पसलेले ‘एक प्याकेट पञ्जा मेरो तर्फबाट’ भनेर दिंदा अक्कलबहादुरलाई संसारै जितेको जस्तो लागेको थियो । त्यसपछि प्रत्येक हप्ता कोही न कोहीबाट मास्क, पञ्जा, झाडु, बोरा सहयोग आउन थाल्यो । अनि झन् हौसला बढ्यो । तर सहयोग भन्दा पनि सँगै स्वयंसेवा गर्ने मान्छे चाहेको हुनाले बारम्बार स्वयंसेवा गर्न आउनु भनेर माइकिङ्ग गर्दै जाँदा एउटा बच्चाले हेरेर बसेको देखेर अक्कलबहादुरले ‘तिम्रो वरिपरि कागज, प्लाष्टिक केही छ ? छ भने हामीलाई देऊ, हामी लगेर फालिदिन्छौं’ भनेपछि ती बच्चाले दुई–तीन वटा चाउचाउ र लेजका खोल ल्याएर खुशी हुँदै दिए । बच्चाको मनसाय बुझेपछि ‘हामी अर्को हप्ता पनि आउँछौं, वरिपरिको सबै टिपेर राख्नु है’ भनेर जानुभयो । नभन्दै त्यो बालकले अर्को हप्ता एक झोला फोहोर उठाएर राखेको रहेछ । हरेक हप्ता अक्कलबहादुरले चिच्याई–चिच्याई सबैलाई सरसफाई अभियानमा आउन अनुरोध गर्नुहुन्थ्यो । अभियानको दुई चार हप्तादेखि स्वतस्फूर्त एक–दुई जना सहभागि हुन थाल्नुभयो । त्यसपछि प्रत्येक हप्ता मानिसको संख्या बढ्ने क्रम जारी रह्यो र अभियानको एक वर्ष नपुग्दै सयौं युवायुवती, समाजका गन्यमान्यहरू समेत स्वतस्फूर्त अभियानमा जोडिन आए ।
एउटा बच्चा अभियानमा सहभागी हुँदा सयौं मान्छे आउँछन् भने हजारौं बच्चालाई सहभागी गराउन सके लाखौं मानिस अभियानमा जोडिने रहेछन् भन्ने बुझ्नुभएका दूरदर्शी अक्कलबहादुरले विद्यालयको सहयोग लिने विचार गर्नुभयो र विद्यालयमा गएर आफ्नो अभियान बारे प्रधानध्यापकहरूलाई बताउनुभयो प्रधानध्यापकहरूले सकारात्मक रूपले लिएर बच्चाहरूलाई अभियानमा पठाउने प्रतिबद्धता गर्नुभएपछि एउटा नगरपालिकाभरिको प्रत्येक गेटमा स्टिकर टाँसियो । जसको कारण अब प्रत्येक हप्ता हजारौं विद्यार्थी, शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबै निस्केर स्वतस्फूर्त स्वयंसेवा गर्न थाले । अभियानको दोस्रो वर्षसम्म अक्कलबहादुरले चलाउनुभएको अभियानको अनुुसरण गरी शहरका विभिन्न टोल–टोलमा ‘सरसफाई अभियान’ शुरू भइसकेको थियो । टोल–टोलमा अभियान सञ्चालन गर्ने समूह बन्न थालेका थिए । मानांै कि शनिबार स्वयंसेवा गर्न बाहिर निस्केन भने लाज लाग्ने भइसकेको थियो । यो अभियानलाई सरकारले देखे पनि नदेखेको जस्तै गरिरहेको थियो । अक्कलबहादुर चाहनुहुन्थ्यो कि, यो जिम्मेवारी सरकारले लेओस् किनकि सरकारले नीति–नियम बनायो भने जनताले अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।
ठीक त्यसैबेला सरकार परिवर्तन भयो र, प्रधानमन्त्रीको रूपमा डा. बाबुराम भट्टराई आउनुभयो । अनि जनताको सेन्टिमेन्टलाई समाउन जान्ने चतुर व्यक्ति प्रधानमन्त्री डा. भट्टराईले अभियानको नाममा थोरै परिवर्तन गर्नु भई ‘ग्रीन सिटी, क्लिन सिटी’ नामकरण गरी तत्कालीन मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा ‘सर–सफाई अभियान कार्यदल’ बनाउनुभयो । यसरी सरकारी तवरबाट वागमती लगायतका खोला, नाला सर–सफाई अभियान शुरू भयो । जनताको तर्फबाट टोल, रोड, रिङरोड, विभिन्न पार्कहरू सफाई अभियान सञ्चालन भयो र यस अभियानले राष्ट्रिय रूप लियो । एक जना व्यक्ति पागल सरी भएर लागेको अभियानले आज लाखौं अभियन्ता जन्माएको छ । यति मात्र नभएर तत्कालीन के.पी. ओली सरकारले यो अभियानलाई राष्ट्रियकरण गरी विशेष बजेट सहित प्रत्येक स्थानीय सरकारले अनिवार्य सर–सफाई अभियान सञ्चालन गर्नुपर्ने नीति बनाएको छ ।
दोस्रो ‘सबैको लागि शिक्षा’ अभियानको लागि विश्व कन्फ्ररेन्स जोमटेइन १९८० मा नेपालले हस्ताक्षर गरे तापनि कुनै अभियान सञ्चालन नभएकोले फेरि डाकार सेनेगलमा २००० अप्रिलमा भएको वल्र्ड एजुकेशन फोरमले रिन्यू गरेको थियो । तर पनि नेपाल सरकारले अभियान सञ्चालनमा ढिलाइ गरेको थाहा पाएपछि अक्कलबहादुरले त्यही अभियान शुरू गर्नुभयो । विद्यालय जीवनमा कहिल्यै पनि नयाँ किताब पढ्न नपाएको तितो अनुभव भएका अक्कलबहादुरले सन् २०१२ मा गरीब विद्यार्थी पढ्ने विद्यालयलाई लक्षित गरी पुस्तकालय बनाउने अभियान, गरीबीको कारण विद्यालय जान नपाएका बालबालिकालाई विद्यालय पठाउने अभियान शुरू गर्नुभयो ।
सरकारलाई पनि घचघच्याउँदै सबै बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने लक्ष्य र योजनासहित लाग्नुभएको अक्कलबहादुरले विभिन्न विद्यालयमा पुस्तकालयहरू समेत निर्माण गर्नुभयो । आफैं पागल सरी गाउँ–गाउँ, बस्ती–बस्ती पुगेर विद्यालय पहुँच बाहिरका बालबालिका तथा अभिभावकको कारण विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन सरकारलाई घचघच्याइरहनुभयो । कैयौं विद्यार्थीलाई आफैंले विद्यालय खोलेर पढाउन थाल्नुभयो । एकजना व्यक्ति जो सरकारले घोषणा गरी अन्योलमा राखेको अभियानलाई सुचारु गरी सरकारको आँखा खोल्न बाध्य बनायो र सन् २०१५ मा कक्षा ५ सम्म सबैलाई अनिवार्य तथा निःशुल्क शिक्षाको नीति सरकारले घोषणा ग¥यो । जसको कारण त्यही वर्ष ९६ हजारभन्दा बढी बालबालिका विद्यालय भर्ना भए । अझै पनि लाखौं गरीब विद्यार्थी देख्नुभएको अक्कलबहादुरले ‘एक गरीब विद्यार्थी एक अभिभावक’ को नीति ल्याउन सरकारलाई सुझाव दिनुभयो । नभन्दै सरकारले एक गरीब विद्यार्थीको पढाइ खर्च एक सक्षम व्यक्ति, कर्मचारी, व्यवसायी, राजनीतिज्ञ, समाजसेवी तथा विभिन्न पेशा, व्यक्तित्वहरूलाई आह्वान गरी यो कार्यको शुभारम्भ गरिसकेको छ । यसरी अक्कलबहादुर लाखौं बालबालिकाको नजरले नदेखेको पर्दाभित्रको पात्र हुनुभएको छ ।
मानव सेवा र समाज सेवा क्षेत्रमा अक्कलबहादुरले अनेकौं उत्कृष्ट कार्यहरू गर्नुभएको छ । २०७२ सालको महाभूकम्पमा परी मृत्युुसँग जुधिरहेका मानिसहरूको उद्धार गर्ने, बाँचेकाहरू जसको डर र त्रासका कारण पागल हुने सम्भावनालाई तत्काल मनोविमर्श स्वयंसेवक समूह बनाएर हजारौं ठाउँमा मनोविमर्श काउन्सिलिङ्ग अभियान सञ्चालन गर्नुभयो । यति मात्र नभएर विभिन्न परिस्थितीका कारण आफ्नो दैनिक रोजी रोटी जुटाउने रोजगार गुमाएर दैनिक चुल्हो बाल्न समेत नसकी भोक र प्यासले तड्पी रहेका परिवारका लागि ‘हुनेले दिएर जानु नहुनेले लिएर जानु’ अभियान सञ्चालन गर्नु भई लाखौंको निभेको चुलो बालेर भोका जनताको छाक जुटाइदिने कार्य गर्नुभयो ।
यसैगरी विभिन्न प्राकृतिक प्रकोपको कारण धेरै क्षति भएको जिल्ला सिन्धुपाल्चोक र काभ्रेका पूर्ण रूपमा घर नभएका व्यक्तिहरूको लागि पचास परिवारलाई बस्न मिल्ने घर बनाइदिनुभयो । विद्यालय भवन भत्केर पढ्नबाट बञ्चित हुन पुगेका बालबालिकाको लागि तत्काल सोलुखुम्बु, काभ्रेपलाञ्चोक र तनहुँ जिल्लामा गरी पाँच वटा विद्यालय भवन निर्माण गरिदिनुभयो । यति मात्र नभई तराईको बाढीमा डुबानको बेला होस् वा सगरमाथामा गएको हिमपहिरोको बेला होस्; प्रत्येक राष्ट्रिय विपत्तिमा आफ्नो ज्यानको पर्वाह नगरी आफ्नो स्वयंसेवक समूहलाई कुशलतापूर्वक परिचालन गर्नुहुने उत्कृष्ट लिडर हुनुहुन्छ अक्कलबहादुर ।
यत्तिमात्र नभएर विश्वभरि फैलिएको कोभिड १९ को कारण नेपाल सरकारले जनतालाई कुनैपनि राहतको प्याकेज नल्यााइ गरेको लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने लाखौं जनता रोगले भन्दापनि भोकले मर्ने अवस्था सृजना भयो । यो कुरालाई मध्यनजर गरि तामाङले तत्काल आफ्नो स्वयमसेवा संयन्त्र बनाइ “कोही भोको नरहुन” भन्ने अभियान शुरु गरी जसको घरमा चुलो निभेको छ त्यहाँ आवश्यक सामाग्री बोकेर आफ्नो ज्यानको पर्वाह नगरी पुग्नु भयो । सडकपेटी, मन्दिर, अनाथालय जहाँ भोको पेट छ त्यहाँ खानाको पोको बोकेर पुग्नु भयो । त्यसपछि कोरोना कहर केही मत्थर भएर जनवीवन सामान्य बन्दै गर्दा फेरि पनि महामारी शुरु भयो अनि सरकारले फेरि लकडाउन घोषणा ग–यो । फेरि अवस्था पहिलाकै हुने भएपछि तामाङ चिन्तित भयो किनकि पहिलो लकडाउनमा नै आफुले सकेको र आफ्नो नेटवर्कमा भएकाहरु सबैसंग सहयोग लिएर बाँडी सकेका थिए । अत्ति नै सुजबुज भएका तामाङले चलाखीपूर्ण तरिकाले “हुनेले दिएर जानु नहुने लिएर जानु” भन्ने अभियान चलाएर लगभक सैतिसहजार भन्दा बढीको भोको पेट भर्ने अतुलनिय उकृष्ट समाजसेवीको दर्जामा आफुलाई प्रमाणित गर्नु भयो । यत्तिमात्र नभएर आफुले सञ्चालन गरि रहेको महिला उद्दमशिल तथा रोजगार केन्द्रमा तत्काल स्वयमसेवाको रुपमा महिला दिदी बहिनीहरु परिचान गरि हजारौं मास्क बनाइ देशै भरि निःशुल्क मास्क वितरण गरी जनतालाई र सरकारलाई समेत सहयोग गरेको कार्यको उच्च मुल्याङकन गरी तामाङलाई हामी नेपाली ग्लोबल संस्थाले “कोभिड हिरो” अवार्डबाट सम्मान समेत गरिएको छ ।
हाल शुरु गरेको गरीबी निवारण कार्यक्रमले तामाङको सामाजिक कार्यको उचाइ झन बढेको छ । किनकि गरीबी निवारणको लागि दैनिक उपभोग्य वस्तुको स्टोर राखि दिएको छ । त्यस स्टोरबाट सामान खरिद गर्ने उपभाक्तालााइ सामानबाट हुने नाफाको आधा खरिद कर्तालााई त्यस स्टोरको शेयर ादिने गर्दछ । जसले गर्दा एउटा गरीब थाहै नपाइ स्टोरको मालीक भैरहेको हुन्छ । यसैगरी महिला उद्दमशिल तथा रोजगार केन्द्रको स्थापना गरी निःशुल्क रुपमा गरीब तथा एकल महिलाहरुलाई तालिम दिई स्वरोजगार बनाउनु साथै रोजगारी समेत दिने कार्य अतुलनिय छ । देश, विदेशका विभिन्न स्थानमा सम्पन्न हुने सम्मेलनमा समेत सहभागी भएर अक्कलबहादुरले समाजसेवा र मानव सेवाको क्षेत्रमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । यसरी अक्कलबहादुरले व्यक्ति, समाज र राष्ट्र समेतमा पु¥याउनुभएको सामाजिक सेवा तथा कार्यको उच्च मूल्यांकन गर्दै उहाँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै विभिन्न विधामा सम्मान गरी पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय सम्मानहरु
नेपाल सरकारको सम्मानीय राष्ट्रपतीबाट ‘समाज सेवी रत्न’ विभुषणबाट सम्मान
वन मन्त्रालयबाट “राट्रिय वातावरण संरक्षण सम्मान”
नेपाल सरकार जनसंख्या तथा स्वास्थ्य मन्त्रालयबाट “रष्ट्रिय जनस्वास्थ्य सेवा सम्मन”
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट “अमुल्य योगदान” सम्मान
नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयबाट “सामाजिक अभियन्ता” सम्मान
Volunteer of the Year Award – 2016 by Korea Federation of Volunteer Center. 8th August 2016.
Humanitarian Award In the “Legends of the Martial Arts” Hall of fame, USA. 22nd October, 2016.
अन्य धेरै संस्थाहरुबाट समेत सामाजिक अभियन्ताको रुपमा सम्मनीत भैसकेको नागारिक समाजकका अथक सेवक हुन तामाङ । निरन्तर समाजसेवाको माध्यमबाट गरीब, असहाय, दीन दुःखीहरूको जीवन परिवर्तनको लागि शिक्षाको ज्योति फैलाउने प्रण गर्नुभएको अक्कलबहादुरले ‘संघर्षमय जीवनलाई अवसरको रूपमा लिनु, जे काम गर्दा खुशी हुन्छ त्यही काम गर्नु, कहिल्यै पनि विकल्प राखेर काम शुरू नगर्नु, किनकि विकल्प छ भन्ने भयो भने त्यो काममा जति ध्यान दिनुपर्ने हो त्यति दिइँदैन, कुनै पनि काम गर्दा समाज र राष्ट्रलाई सर्वोपरि ठानेर गर्नु’ भन्नुहुन्छ ।
अक्कलबहादुरले जीवनमा कहिल्यै हार खानुभएन । उहाँ एक कुशल, योजनाकार, साहसी र संघर्षशील योद्धा हुनुहुन्थ्यो । जस्तो सुकै काला बादलहरू मडारिएर उहाँको जीवनलाई ढाक्न खोजे पनि उहाँ कहिल्यै डगमगाउनु भएन । जीवनको उकाली–ओरालीमा जस्तोसुकै परिस्थिति झेल्नु परे पनि राष्ट्र र समाजसेवालाई भगवान सम्झनुहुने अक्कलले कहिल्यै पनि आफ्नो राष्ट्रलाई आँच आउने कार्य गर्नुभएन ।
https://epaper.janasawal.com/2022/06/23/5264/
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij