काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५- ० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे ।
पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।
पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ को खेलमा विजयी सुरुवात गरेको छ । आईतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४ ० को सहज जित निकाल्यो ।
पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड बिनाअंक पुछारमा छ ।