बिहिबार, जेष्ठ १२ २०७९
समाचारको मूल उद्देश्य जनसमुदायको जिज्ञासा सान्त पार्नु हो। मानिसहरुले सदैव आफ्नो वरपरका घटनाहरूको बारेमा जानकारी लिन चाहि रहेका हुन्छन। मानिस आँफुसंग सम्बन्धित सुचना,घटना र काम कारवाहीको बारेमा नजिकबाट जान्न उत्सुक रहन्छ। मानिसहरुका ति जिज्ञासा र कौतुहलताहरु केवल समाचार मार्फत पुरा हुन्छन। त्यसैले समाचारदाताले आफ्नो मिडियामार्फत समाचार दिंदा पाठकले जुन उद्देश्यका लागि समाचार सुन्दै वा पढ्दै छ, त्यसको सुरुमै पूर्ण जानकारी प्राप्त होस् भन्ने कुरालाई ख्याल गरिकन शिर्षक र समाचार तयार गरिन्छ ।
एक पटक महात्मा गान्धीले भनेका थिए,”पानीको मुसलधारे प्रवाहमा जस्तै पत्रपत्रिकामा ठूलो शक्ति हुन्छ। यसलाई खुल्ला छाड्यो भने गाउँ मात्र नभएर देश नै बगाइ दिञ्छ। त्यसैगरी एउटा निरंकुश कलमले समाजको विनाश निम्त्याउन पनि सक्छ।” त्यसैले पत्रकारितामा देशको मूल कानुनसंग नबाझिने गरि आचारसंहिता लागु गरिएको हुन्छ। आचार संहिता पत्रकारहरुकै नियामक प्रेस काउन्सिलद्वारा लागु गरिएको हुन्छ भने त्यसको अनुगमन पनि पत्रकारहरुले नै गर्दछन। तर समाचार लेखनमा पत्रकारहरुको नियमन मुख्य रुपमा आत्मिक(स्वनियमन) हुनु पर्छ,पत्रकारितामा राज्य पक्ष वा बाहिरि अङ्कुश(मानसिक दवाव र अबरोध) बिष समान मानिन्छ।यो पत्रकारिताको मुलभुत कुरा भयो। यस लेख भित्र चलाइने आजको बहस समाचारको स्वरुपबारे हो।
ब्रेकिङ्ग वा सामान्य समाचार लेखनको शैली अन्य विधाका लेखहरु जस्तो व्याख्यात्मक हुँदैन। समाचार लेखनको बारेमा मुख्य कुरा भनेको सुचनाको आधारभूत ढाँचा पछ्याउनु हो। त्यो ढाँचा बनाउन पत्रकारिताबारे बुझेकाहरुले सामान्यतया सिकेका हुन्छन। यदि समाचार लेखनको सामान्यज्ञान छैन भने शैलीगत ज्ञानका लागि बिगब्याङ्ग शैली सिक्न सकिन्छ। मुख्य बिन्दुबाट फैलिने शैलीलाई बिगब्याङ्ग शैली भनिन्छ। समाचार लेखन शैलीलाई अर्को तरिकाले भन्दा उल्टो पिरामिड शैली पनि भनिन्छ।
लेखनका आ-आफ्नै शैली र तरिका हुन्छन। साहित्यिक विधामा आलेख अथवा निबन्ध व्याख्यात्मक अथवा भुरुंग शैली(दुई तिर खुम्चिएको ढाड फुकेको ) अबलम्बन गरिन्छ। समाचार लेखन शैली भन्दा फिचर लेखन शैली फरक हुन्छ।समाचार लेखनमा वस्तुनिष्ठता र तथ्यको शुद्धतामा जोड दिइन्छ।पत्रकारले समाचारमा आफ्नो विचार राख्न सक्दैनन्। त्यसैले समाचारमा पत्रकार कुनै पक्ष बिपक्षमा नलागी यथार्थ सुचना दिन सक्नु पर्छ। तर फिचरमा लेखकले आफ्नो धारणा राखेका हुन्छन। वा वृत्त लेखनमा मनोवृत्ति र भावना व्यक्त गर्ने गजवले मौका पाइन्छ।
दोस्रो,कुरा केहो भने,फिचर वा स्थम्भ लेखनमा उल्टो पिरामिड-शैली प्रयोग गरिएको हुन्न।फिचर लेखनमा कुनै निश्चित रूपरेखा वा सूत्र हुँदैन । यसमा कथामा जस्तै पिरामिड शैली अपनाउन पनि सकिन्छ। फिचर लेखनको भाषा सरल, रचनात्मक, आकर्षक र समाचार लेखन शैलीको ठिक विपरीत भएर पनि पाठकको मन छुने हुनु पर्छ ।
समाचारकै बिबिध विधा भएर पनि समाचार लेखनमा फिचर लेखन शैली काम लाग्दैन। महाबिष्फोट(बिगब्याङ्ग) र उल्टो पिरामिड सिद्धान्त ब्रेकिंग न्युज र सामान्य सुचनामुलक समाचार लेखनका आधारभूत सिद्धान्त हुन्। यी दुवै समाचार लेखन सिद्धान्तहरु समाचार लेखनको सरल, उपयोगी र व्यावहारिक सिद्धान्त हुन्। यसको बिपरित कथा,निबन्ध लगायत अन्य विधामा पिरामिड शैली अबलम्बन गरिन्छ। यसमा व्याख्या विवरणबाट शुरु गरेर मात्र अन्तमा निष्कर्ष सुनाइन्छ। समाचारमा त्यस्तो हुँदैन। समाचारको शिर्षक नै सम्पूर्ण घटनाको निष्कर्ष हो। शीर्षकले समाचारमा मुख्य प्रश्नको उत्तर दिन सकेन भने त्यो समाचार राम्रो मानिदैन।
शुरुमै भनियो कि समाचार लेखनको उल्टो पिरामिड सिद्धान्त कथा लेखनको प्रक्रियाको ठीक विपरीत हो। यसमा घटना, विचार वा समस्याको सबैभन्दा महत्वपुर्ण तथ्य वा जानकारी(चरम बिन्दु) पहिले बताइन्छ भने कथा वा उपन्यासमा चरमोत्कर्ष अन्तिममा आउँछ। त्यसैले समाचार लेखनलाई उल्टो पिरामिड शैली भनिन्छ किनभने यसको लेखन शैली अनुशार पिरामिडको फेदमा सबैभन्दा महत्त्वपूर्ण तथ्य वा जानकारी समावेश हुँदैन र यस शैलीमा पिरामिडलाई उल्टो पारिएको हुन्छ। यसमा, सबैभन्दा महत्त्वपूर्ण जानकारी पिरामिडको शीर्षमा हुन्छ र कम महत्त्वपूर्ण जानकारी तल घट्दो क्रममा हुन्छ । महाबिष्फोट सिद्धान्तमा पनि उल्टो पिरामिडकै जस्तो प्रक्रिया लागु हुन्छ। सानो बिन्दुमा रहेको बिष्फोटको पदार्थ एक ठाउँबाट टुक्रिन शुरु गर्छ र ठुलो क्षेत्रमा क्रमश फैलिदै जान्छ।

शैली प्रतिपादन :
यो सिद्धान्त १९ औं शताब्दीको मध्यमा प्रयोग गर्न सुरु भयो, तर बिश्व युद्धको कालमा आबा मार्फत मृत्युको खबर परिवारलाई दिंदा प्रयोग गरियो । त्यतिबेला संवाददाताले टेलिग्राफ मेसेजबाट समाचार पठाउनु पर्थ्यो, जसका सेवाहरू अनियमित, महँगो र दुर्लभ थिए। यति मात्र होइन, कहिलेकाहीँ प्राविधिक कारणले टेलिग्राफ सेवा पनि अवरुद्ध हुने गर्दथ्यो । त्यसैले टेलिग्राफबाट पठाउने समाचार संवाददाताहरूले बुझिने गरि तर संक्षिप्तमा बताउनु पर्ने हुन्थ्यो र त्यसमा पनि सुरुका केही लाइनहरूबाट घटनाको सम्पूर्ण, महत्वपूर्ण तथ्य र जानकारी दिनुपर्थ्यो। खासगरी यहि शैलीबाट नै समाचार लेखन अहिलेसम्म निर्देशित छ।
समाचारबारे थप :
समाचार लेखनको उल्टो पिरामिड शैली घटनाको विवरण लेख्ने वा सुनाउने भिन्न तरिका हो,जसमा घटेको घटना, पक्ष विपक्षका विचार, समस्याको सबैभन्दा महत्वपुर्ण तथ्य वा पक्षहरू सर्बप्रथम लेखिन्छ वा सुनाइन्छ र त्यसपछि अन्य तथ्य वा जानकारीहरू क्रमश घट्दो क्रममा लेखिन्छ वा भनिन्छ। यस शैलीमा, घटनाको विवरण शिलशिलाबद्ध नभएर महत्त्वपूर्ण तथ्य वा जानकारीबाट सुरु हुन्छ।
समाचारको स्वरुप :
एउटा पूर्ण समाचारमा मुख्य रूपमा के भयो, कोसँग भयो, कहाँ भयो, कहिले भयो, किन र कसरी भयो भन्ने छवटा प्रश्नको उत्तर दिने प्रयास गरिन्छ।
समाचारलाई लेखनको सुविधाको लागि मुख्यतया तीन भागमा विभाजन गरिएको छ – अग्रभाग(आवरण), मुख्य भाग र निष्कर्ष वा निचोड । यसमा,अगाडिको भाग वा परिचयलाई पहिलो र कहिलेकाहीँ समाचारको पहिलो र दोस्रो अनुच्छेद भनिन्छ। आवरण कुनै पनि समाचार विवरणको सबैभन्दा महत्वपुर्ण भाग हो किनभने सबैभन्दा उत्तम तथ्य र जानकारी यसमा लेखिएको हुन्छ। यसपछि समाचारको मुख्य भाग आउँछ, जसमा घट्दो क्रममा जानकारी र विवरण दिनुका साथै यसको पृष्ठभूमि पनि उल्लेख गरिएको छ। अन्य लेखहरुमा सामान्यतया अन्तमा निष्कर्ष वा निचोड आउँछ। बिशेष गरि समाचार लेखनमा निष्कर्ष भन्ने कुरा पनि हुँदैन, न त समाचारको अन्त्यमा अब समाचार सकियो भनेर भनिएको हुन्छ ।
आवरण(अनुहार):
उल्टो पिरामिड शैलीमा समाचार लेखनको सबैभन्दा महत्त्वपूर्ण पक्ष आवरण लेखन हो। शिर्षक समाचारको पहिलो अनुच्छेद हो, जहाँबाट समाचार विवरण सुरु हुन्छ। अग्रभागकै आधारमा समाचारको गुणस्तर निर्धारण हुन्छ । एउटा आदर्श आवरणमा कुनै पनि समाचारको सबैभन्दा महत्त्वपूर्ण जानकारी समावेश हुनुपर्छ र यो कुनै पनि अवस्थामा ३५ देखि ५० शब्दहरू भन्दा बढी हुनु हुँदैन। मुख अन्तर्गत के, को, कहाँ, कहिले, आदि बुँदाहरू विचार गरिन्छ।

मध्य भाग(शरीर):
समाचार लेखनको उल्टो पिरामिड लेखन शैलीमा, अग्रभागमा उल्लेख गरिएका तथ्यहरूलाई समाचारको मुख्य भागमा व्याख्या र विश्लेषण गरिन्छ। समाचार लेखनको आदर्श नियम यो हो कि समाचारको प्रसंग कुनै पनि बिन्दुमा समाप्त भएमा, त्यसपछिको अनुच्छेदमा समाचारको बाँकी भागसँग तुलना गर्न मिल्ने कुनै पनि तथ्य समावेश नहुने गरी लेख्नुपर्छ। समाचार यसको कुनै पनि अन्तिम बिन्दुमा पूर्ण, पढ्न योग्य र प्रभावकारी हुनुपर्छ। समाचारको निष्कर्षले किन र कसरी जस्ता छ वटा कारणहरू मध्ये दुईवटा जवाफ दिने प्रयास गर्दछ। घटना कसरी र किन घट्यो भन्ने जान्नको लागि, त्यसको पृष्ठभूमि, सन्दर्भ र समग्र घटनाकको जाँच पड्ताल गरि खोज्ने प्रयास गरिन्छ। यसबाट मात्र समाचारको वास्तविक अर्थ र प्रभाव प्रष्ट हुन्छ । किनकि समाचारको मध्यभाग कारणको वरिपरि हुन्छ।
अन्त्य(बन्द):
यो समाचारको अन्तिम बिन्दु हो। जसमा समाचारका लेखकले समाचारका कारणहरू प्रस्तुत गरी पाठकका लागि विचार गर्नुपर्ने एउटा बिन्दु छोडेका हुन्छन, जुन अत्यान्त छोटकरीमा राखिन्छ । साथै, समाचारका सम्पूर्ण तथ्यको स्रोत पनि यसमा लुकेको हुन्छ ।
समाचारको समापन गर्दा मुख्य तथ्य मात्र नभई समाचारको आवरण र अन्त्यमा एकरूपता हुनुपर्छ भन्ने कुरामा ध्यान बिशेष दिनु पर्दछ । तथ्य र तिनका विभिन्न पक्षहरूलाई समाचारमा यसरी प्रस्तुत गरिनुपर्छ कि यसले पाठकलाई निर्णय वा निष्कर्षमा पुग्न मद्दत गरोस। समाचारमा भएको श्रोतको तथ्यले अनुसन्धान कर्मीलाई प्रारम्भिक रिपोर्ट बनाउदा समेत सघाउने काम गरोस।
माथि बताइए अनुशार,एक समाचार बनाउँदा उसको स्वरुपलाई मात्र ध्यान दिएर पुग्दैन। एक लेखक वा पत्रकारले आफ्नो भाषा र शैलीगत कुराहरुमा पनि मिहिन रुपले ध्यान दिंदै असहज परिस्थितिमा समेत आँफुलाई एक स्वाभिमानी र जिम्मेवार सुचनाबाहकको रुपमा उभ्याउन सक्नु पर्दछ।
राम्रो फिचर तथा समाचार लेखनको लागि ध्यान दिनुपर्ने भाषा-शैलीगत र केहि मनोगत कुराहरु पनि छन् जसलाई बुँदागत रुपमा निम्नानुशार राखिएको छ :
१)समाचार लेखनमा सकभर छोटा वाक्यहरू लेख्ने प्रयास गर्नु पर्छ। जटिल वाक्यहरूको तुलनामा सरल वाक्य संरचनालाई प्राथमिकता दिनुपर्छ।
२)सामान्य बोलीचालीको भाषा र शब्दहरू प्रयोग गर्ने प्रयास गर्नु पर्छ। अन्य भाषाको मिसावट वा बाहिरी शब्दहरूको प्रयोगबाट सकभर बच्नु पर्छ । शब्दहरूको वास्तविक अर्थ बुझी यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्दा समाचारले दिन खोजेको सुचनामा अलमल हुँदैन ।
३)यात्रा विवरण,फिचर वा अन्य राम्रा लेखहरु लेख्दा राम्रोसंग पढ्नु जरुरि हुन्छ। समाचार लेखनमा पनि छनौट गरेका नमुना समाचारहरु पढ्नु जरुरि हुन्छ।
४)आफ्नो समाचार वा फिचरको खेश्रा कम्तिमा २/३ पटक पढेर दोहोरिएका र भद्दा वाक्य हटाउनु जरुरि हुन्छ। समाचार वा लेख नरम र अलमल पार्ने भन्दा कडा र बुझिने महत्त्वपूर्ण मानिन्छ ।
५) लेखेको फिचर,आलेख वा समाचारले तपाईको आफ्नो भावनालाई छुन्छ कि छुदैन ? ख्याल गर्नु पर्दछ।
६)संसारभरमा राम्रा स्तम्भकार,लेखक र पत्रकारहरु उसका आफ्नो वरिपरि घटेका घटनाबाट बनाएका लेख स्तम्भहरुबाट प्रसिद्ध भएका थिए।
त्यसैले समाचार वा लेखका बिषयबस्तुहरु समाज र वातावरणमा गहिरो नजरले हेर्ने हो भने जतिपनि भेटिन्छन। तर ति सबै प्रति एउटा लेखकले हेक्का राख्नुपर्छ र तिनीहरूलाई गहनातामा हेर्न सिक्नु पर्छ। तिनै परिवेशबाट आफ्ना लेखहरू छनौट गर्न जान्नु पर्छ।
७)तथ्य बिना न त समाचार बन्छ न त फिचर। एक राम्रो लेखकमा तथ्य र प्रमाणहरु सङ्कलन गर्ने क्षमता छैन भने त्यसले पत्रकारिता वा लेखकीय धार छोड्दा उपयुक्त हुन्छ। यो कुनै भाँडाकुटी खेल जस्तो रमाइलोको लागि गरिने पेशा हैन। यसमा बिचार,समबेदना,ज्ञान र कर्तव्यको उचित संयोजन हुन्छ र समुदाय प्रतिको त्यागले पत्रकार हमेसा झुकेको हुन्छ।
८)समुदायसंग एक पत्रकार बिनम्र हुँदाहुँदै पनि गलत मनसायका मानिसहरुले पत्रकारको सेवामा अबरोध पुर्याई रहेका हुन्छन। सरकारले पनि पत्रकारलाई नियन्त्रको नाममा दमन गर्ने छिद्र खोजिरहेको हुन्छ। एक पत्रकार वा स्तम्भकार सदैव मनोबैज्ञानिक दवावमा हुन्छ। भैपरी आउने विषम परिस्थितिबारे आँफुलाई बचाउन,परिस्थितिको विचार विश्लेषण गर्न र कठिन परिस्थितिको सामना गर्न एक पत्रकारमा पेशागत मर्यादा प्रति सचेतता,निर्णय प्रति दृढता र धैर्यता हुनुपर्छ।
सं-(लेखक अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका अध्यक्ष हुन् भने उनि नेपाल पत्रकार महासंघ बेल्जियम शाखामा समेत आबद्ध छन् )
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij