आइतबार, चैत्र ६ २०७८
प्रगतिशील मंचको गौरबमय ईतिहास
ईतिहाँसको त्यो बलशाली,गरिमामय र क्रान्तिकारी सुन्दरताको उज्यालोमा जन्मेको जन प्रगतिशील मंचले आफ्नो १२औं अधिवेशन सम्पन्न गरेको छ। यो मंचले ईतिहाँसका गौरबमय संघर्षका कालखण्ड पछि अनेकन अबरोध र टुटफुट बेहोर्दै अहिलेको अबस्थासम्म आईपुगेको हो। अहिले मन्चको १२औं अधिबेशनले स्थापनाकालदेखि नै निरन्तर काम गरेका प्रकाश पौडेललाई अध्यक्षमा चयन गरेको छ । उनि यो संस्थाले शुरु गरेको बहुआयामिक संघर्षका एक संस्थापक नेतृत्वकर्ता समेत हुन्।
ईतिहाँसको क्रान्तिकारी स्प्रिट तथा कार्यदिशालाई रक्षा गर्ने अविभारा प्रकाशको काधमा आए पनि मंच नै दुई खेमामा विभक्त भएको अहिलेको अबस्थामा मंचले के कस्तो भूमिका खेल्ला,त्यो त भविष्यकै गर्भमा छ। सबै कुराको छिनोफानो रणनैतिक कार्यदिशाले गर्ने हो। समय सापेक्ष कार्यदिशा र जुझारु सामुहिक नेतृत्वको इच्छा शक्तिले संगठनको नाम कसरि संसारभर लोकप्रिय हुन्छ,त्यसको ज्वलन्त उदाहरण हो सन् २००२ ताकाको नेपाली जन प्रगतिशील मंच ।
(२००२ मार्चमा जन प्रगतिशील मञ्च बेल्जियमको नेतृत्वमा भएको ऐतिहासिक हतियारविरोधि आन्दोलनको एक झलक, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउपा हतियार खरिद सम्झौताको लागि बेल्जियम पुग्दा)
यो मंच सन् २००० मा बेल्जियममा बन्दा संसारभर त्यो नामको कुनै अर्को नेपाली संगठन थिएन। अहिले आएर यसको नाम बेल्जियमबाट अन्तराष्ट्रिय रुपमा प्रसारित र स्थापित बनिसकेको छ। सायद कतिलाई थाह होला कि यो नाम जनयुद्ध सहयोग समितिबाट कसरि बेल्जियमको सरणार्थी आन्दोलनसंग जोडिंदै पहिलो पटक नेपाली जन प्रगतिशिल मंच बनेको थियो ? यसको नामाकरण सर्वप्रथम कसले गरेका थिए ?
कुनै पनि सामाजिक वा राजनैतिक संघ संगठनहरुको कार्यदिशा सहि छ,नीतिहरु समुदायको हित सापेक्ष छन् र नेतृत्व कार्यक्रमहरु प्रति इमान्दार छ भने त्यसले अकल्पनीय सफलताहरु हाँसिल गर्न सक्दछ। युरोप बसाइको शुरुवाती चरणमा नेपाली शरणार्थी समस्यादेखि मुलुकको द्वन्दलाई मानवताको पक्षमा आवाज बुलन्द बनाउने एकमात्र संगठन त्यहि मंच थियो । त्यसले मुलुकको असहज राजनैतिक अवस्था,नागरिकको गैह्र कानुनि हत्या र तात्कालिक देउपा सरकारसंग बेल्जियम सरकारले गरेको हतियार बिक्रि सम्झौताले पार्ने सम्वाभित असरबारे बेल्जियममा बृहद बहस चलाउने पनि त्यहि मंच मात्र थियो।
मंचले चरम द्वन्द्धको तात्कालिन अबस्थामा समय सापेक्ष बहस,संघर्ष र प्रचार प्रसारलाई कुशलता पुर्वक संचालन गरेको हुनाले नै युरोपमा नेपाली शरणार्थीलाई युरोपियन संरक्षण प्रदान गराउन सफल भयो। अर्को तर्फ नेपालमा चलिरहेको जन बिद्रोह दवाउनको लागि बेचिन लागेका ५००० थान अत्याधुनिक’मिनिमी मेशिनगन’मंचकै सफल दवावको कारण नेपाल जान पाएनन्। यी बेल्जियममा नेपालीहरुको संघर्षले निर्माण गरेका ऐतिहाँसिक सत्य हुन्। यस तथ्यलाई बंग्याउने वा बटार्ने हक कसैलाई पनि छैन।’ जसलाई अमेरिकाकी पत्रकार लि अर्नेष्टोले युरोपको भ्रमणपछि तयार पारेको एक रिपोर्टमा समेत उल्लेख गरेकी थिइन्।
संघर्षको शुरुवाती वातावरण
बेल्जियमको कानुनी मान्यता प्राप्त सङ्गठन जन प्रगतिशील मञ्चले सन् २००१ देखि अनवरत सङ्घर्ष र मानव अधिकारको लागि गरेका अन्तर्राष्ट्रिय स्तरका अभियानको कारण संसारभरि नेपालीको चर्चा हुन थाल्यो। पछि मञ्चले नेपालको विद्रोहमार्फत उठेका मुद्धाहरू, नेपाली सर्वसाधारणमाथि भइरहेको दमन र मानव अधिकारको उल्लंघनलाई अन्तराष्ट्रियकरण गर्ने अभियान शुरु गर्यो। नेपालको मानवअधिकार उल्लंघनको भयावह स्थितिबारे हुने बहसमा यहाँका स्थानीय राजनैतिक पार्टीहरूले समेत चासो राख्न थाले। यो अभियानले नेपाली शरणार्थी समस्याका कारणबारे पनि युरोप भरिका राजनैतिक पार्टी, मानव अधिकार कर्मी र सरणार्थी नेत्रित्वहरू बीच ठुलो बहस चलायो। सरणार्थि आन्दोलनको न्यायिक आवाज, नेपालको आन्दोलनबारे चलाएको बहसका कारण युरोपका नागरिक अगुवादेखि राजनैतिक नेतृत्वसम्म नेपाल सुनिन थाल्यो ।
अन्तत,यहाँको कामदार पार्टीका पूर्व महासचिव डाक्टर क्रिसमेक्स, ग्रीन पार्टीकी तत्कालीन उपप्रधान तथा गृहमन्त्री जुल्ली मिएल्के, समाजवादी पार्टीका सभासद, नेतागण र यहाँका मध्यपन्थी धारका नेतासमेत नेपालमा मानवअधिकार उल्लंघनको विपक्षमा उभिए । आन्दोलनकै शिलशिलामा,सन् २००२ को सरदमा नेपाल पठाइन लागिएका घातक ‘मिनिमी राइफल’रोक्न बेल्जियमको उच्च अदालतमा मुद्दा दायर गरियो।
(२००२ मा बेल्जियमको उच्च अदालतमा नेपाल पठाइन लागिएका घातक ‘मिनिमी राइफल’ रोक्न मुद्धा दायर गरिँदैको अवस्थामा मिडियाकर्मीहरुसंग)
(नेपालमा बेल्जियमले पठाउन लागेका हतियारविरोधी आन्दोलन उत्कर्षमा शाही नेपाली दुतावास र बेल्जियम सांसदमा विरोध पत्र बुझाइँदै)
यहाँको सरकारमा यो मुद्धाले हलचल मच्चियो। दिनदिनै नारा जुलुस हुन थाले। सन् २००२ मा जन प्रगतिशील मंचले संचालन गरेको संघर्षबारे कुरा गर्दा तात्कालिक नेतृत्व मध्ये एक कृष्ण खतिवडाले भने – ‘त्यो बेलाको परिवेशको कुरा सुन्नुस् है त ! सन् २००२ को अन्त्यतिरको कुरो हो। त्यो बेला नेपालमा चलेको द्वन्द्व उत्कर्षमा थियो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा थिए । गते र महिना मैले ठ्याक्कै भन्न सकिनँ, तात्कालिक बेल्जियमका सत्तासिन ग्रीन पार्टीका एकजना सांसदले मलाई सुचना दिए कि ‘५५०० स्वचालित हतियार विद्रोहको दमन गर्न नेपाल लगिँदै छ । देउवा स्वयम् सम्झौता गर्न आएका छन्। द्वन्द्व भएको देशमा हतियार बेच्न यहाँको मानव अधिकारवादी कानुनले मिल्दैन।यसलाई रोक्न कानुनि लडाई सँग सँगै आन्दोलन गर्नुपर्छ। सांसदले यति भनिसकेपछि मैले सङ्गठनको तुरुन्त मिटिङ बोलाएँ र तुरुन्त एक्सनमा जाने निर्णय भयो।’
बेल्जियमसँग नेपालको देउपा सरकारले गरेको घातक ‘मिनिमी राइफल खरिद सम्झौता’को विरोधमा बेल्जियमका समाजवादी, ग्रीन इकोलोग,भीएलडी लगायत सभासदले संसद् भवन भित्र नेपाली नेताहरु पस्नको लागी वातावरण मिलाई दिए। नेपाली शरणार्थी नेता रामबहादुर गुरुङ, नवीन सापकोटा र कृष्ण खतिवडा संसद् चलिरहेको बेला सभामा प्रवेश गरेर नेपालको मानव अधिकारको पक्षमा सहयोग मागे, नारा घन्काए र आफ्ना प्रचार पम्प्लेट वितरण गरे । पर्चाले संसद् भवन रङ्गियो।सांसद सभा नेपालमय बन्यो।
यो घटनालाई नेपालीहरूद्वारा बेल्जियमको संसद भवन नेपालीहरुद्वारा कब्जा भनेर प्रचार गरियो। बिबिसी लगायत युरोपका मूख्य मिडियाहरूले त्यसको लाइभ प्रसारण गरे।यहि बिरतापुर्ण संघर्षले बेल्जियममा नेपालीलाई चिनायो। (सरकारका प्रतिनिधि र नेपाली प्रतिनिधिबीच र बार्ताको क्रममा-२००२ )
पछि यहाँको माथिल्लो अदालतमा सरकारले मुद्धा हार्यो,नेपालीहरुले मुद्धा जिते। नेपालमा घातक हतियार जानबाट रोकिए। मुद्धा हारेपछि सरकार नैतिक संकटमा पर्यो। सरकारले गर्ल्याम खायो। त्यसपछि नेपालीहरुको चर्चा संसार भरि अझै ब्यापक हुन पुग्यो।
(नेपाली जन प्रगतिशील मंचको टोलीसंग बेल्जियमकी तत्कालीन उपप्रधान तथा गृहमन्त्री जुल्ली मिएल्के)
युरोप भरि त्यो संघर्षको यस्तो प्रभाव पर्यो कि त्यहि संघर्षको कारणले युरोपभरि नेपालीलाई कानुनी रूपमा बस्ने अनुमति दिने वातावरणको सृजना भयो। अहिले बेल्जियम लगायत युरोपमा स्थाइ बसोबास गर्ने अधिकांश त्यही आन्दोलनपछि कागज पाएकाहरू हुन् भन्दा अतिशयोक्ति नहोला । बेल्जियममा त्यो आन्दोलनले एकातिर नेपाली स्थाइ बसोबासको लागि आधार तयार गर्यो,शरणार्थी प्रमाणीकरणलाई सहजीकरण गर्यो, मानवीय मुद्धा उठाएर नेपालीको सकारात्मक छविलाई अन्तराष्ट्रियकारण गरिदियो । अर्कोतिर नेपालीहरूमा सङ्गठित हुनुपर्छ भन्ने जागरण पनि ल्याइदियो। नेपालीहरु यो वा त्यो रुपमा क्रमश संगठित हुने वातावरण सृजना हुँदै गयो। अहिले त बेल्जियममा पाँच दर्जन भन्दा धेरै नेपाली संगठनहरु क्रियाशील अबस्थामा देखिन्छन।
(सोम चौधरी,हरि सापकोटा,डिल्ली अम्माई र नबिन सापकोटाद्वारा फ्रान्सका नेपालीहरुले गरेको आन्दोलनमा ऐकबद्धता)
अन्त्यमा, हामीले के कुरा बिर्सन हुँदैन भने नेपाली शरणार्थी मुद्धाहरूलाई नेपालीबाट यहाँको स्थानीय भाषामा रूपान्तरण गरिदिएर ठुलो सहयोग गरिदिने अर्को तप्का पनि बेल्जियममा छ। भाषिक रुपान्तरण मार्फत बेल्जियमको नेपाली समाजलाई बिर्सन नसकिने योगदान पुर्याउनेमा राम घिमिरे, रवीन्द्रमान श्रेष्ठ, रजनी प्रधान, शुष्मा थापा, चिजकुमार श्रेष्ठ लगायत बिशेष ब्याक्तित्वहरु पनि यहाँ हुनुहुन्छ।शरणार्थी आधारमा बनेको बेल्जियमको नेपाली समाजलाई अहिलेको अवस्थामा ल्याई पुर्याउन जन प्रगतिशील मंचको तात्कालिक संघर्षले जति सहयोगीको भूमिका खेल्यो झन्डै त्यहि अनुपातमा भाषा अनुवादकहरुको पनि योगदान रहेको कुरालाई कसैले नकार्न नमिल्ला।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij