❝अहं ब्रह्मास्मि अर्थात मेरो शरीर तथा चेतन शक्ति भित्र ब्रह्माण्डको सबै भौतिक तत्व र उर्जा समाहित छ। त्यसैकारण म ब्रह्म हूँ।❞चार्वाक दर्शनको सैद्धान्तिक पक्षलाई व्याबहारिक अभ्यासबाट पुष्टि गर्ने श्रेय सर्वप्रथम ऋषि महर्षि तथा ब्रह्मर्षीहरुमा जान्छ। उनीहरुले ब्रह्माण्डलाई अणु परमाणुहरुको बिस्तार भनेर प्रमाणित गरे। ग्रह र ताराहरुको गति पत्ता लगाए र समयको ब्याबस्थापन गर्दै पात्रोको निर्माण गरे। पुरातन भौतिकबादी खगोलविदहरुले जीवको सरिरलाई पनि ब्रह्माण्डमा अन्तर निहित ब्रह्म पदार्थको ब्यबस्थित संयोजन भनेका छन्। खगोलका ज्ञाता ब्रह्मर्षीहरुले संकेत गरेको ब्रह्म पदार्थ भन्नाले त्यसको भौतिक रुप मात्र नभएको बताउँदै द्रष्टा ,दृश्य ,दर्शन भन्दा बाहिरका शक्ति र तरङ्गहरु पनि ब्रह्म हुन् भनेका छन्। उनीहरुले उर्जाको भाव पक्षलाई पनि ईथरको परिभाषा भित्र समेटेका छन्। मानिसको दिमाग र हृदयबाट चल्ने शुक्ष्म (क्वान्टम) तरंगको छाल र त्यसले सृजना गर्ने भावले हाम्रो दिमागद्वारा ज्ञान,बिबेक,सम्झना र भावनाको रुपमा निरन्तर शरीरलाई नेतृत्वदायी प्रभाव पारि रहन्छन भन्ने कुरालाई पनि पौराणिक उपनिषद्हरुमा उल्लेख गरिएको पाइन्छ। जसको महत्वपुर्ण योगदान चार्वाकको भौतिकबादी मतलाई अहम महत्व दिने महर्षिहरुमा जान्छ। त्यसलाई बुझ्न महर्षि चार्वाक वा चार्वाक मतबारे बुझ्न आबश्यक छ।
चार्वाक मत भनेको केहो त ? :
ई.पू. २००० भन्दा पहिलेको चार्वाक दर्शन भौतिकवादलाई जन्माउने पहिलो दर्शन मानिन्छ। बृहस्पतिले नै ‘बार्हस्पत्य दर्शन’ को नाम दिई साधारण नागरिकलेे चलनमा ल्याएको लोकायत दर्शनलाई व्यवस्थित गरेकोले उनलाई यो दर्शनको भाश्यकार मानिन्छ।चार्वाकको प्राकृतिक भौतिकबादले स्वर्ग,पुनर्जन्म,आत्माको अलग अस्तित्व र भाग्यलाई मिथ्या मान्दथ्यो। बौद्ध दर्शन (५६३-४८३ ई.पू.) को विकास हुनुभन्दा पहिले पूर्ववैदिक कालदेखि नै मानव जातिले भौतिक जगत्मा विश्वास गर्दै जीवनमा प्रयोग गर्दै आएको लोकायतिक विचार लोकप्रिय बन्यो र त्यसलाई पछि चार्वाक दर्शन भनियो । चार्वाक ऋषिले नै लोकायत दर्शनलाई व्यापक बनाएकाले चार्वाक नाम रहन गएको तर्क गरिन्छ । तर यो तर्क बिबाद रहित भने छैन। गण प्रथामा आधारित समाजलाई निरङ्कुश राजाहरुले बिस्थापित गर्दै लगेपछि भौतिकबादी मतको कारण सप्तर्षि लगायत धेरै ब्रह्मर्षीहरुले आफ्नो थात थलो छोडेर जंगल बसाई सर्न बाध्य बनाएको कुरा बिभिन्न पुराणहरुमा पाइन्छ। बर्ण ब्याबस्थाका सँस्थापक राजा मनुको पाचौं पिढिमा स्वर्गका राजा नहुसले सप्तर्षिलाई झुक्याएर गरेर सचि अपहरण काण्डमा सहभागी गराएपछि ऋषिहरुले बिद्रोह गरेको प्रसंग श्रीमद् भागवतमा छ। यसरि खोज अन्वेषणबाट आफ्नो तर्कलाई प्रमाणित गर्ने भौतिकबादी दार्शनिकहरु गण प्रथा सकिए पछि कति अपमानपुर्वक मारिन्थे वा जंगल धपाइन्थे त्यसको एक उदाहरण हो यो। त्यसैले चार्वक मत पूर्वीय प्राग भौतिकबादी दर्शनको अविछिन्न सृंखला हो भन्न सकिन्छ। आफ्नो तार्किक विश्लेषण गरी अभ्यासबाट प्रमाणित गरिने भौतिक सत्यलाई बेदब्यासहरुले चार्वाक मत भन्न थालेको हुन सक्छ । त्यसै अनुरुप अनुसन्धानलाई प्रार्थमिकता दिने र प्रमाणिक सत्यलाई स्विकार्ने दार्शनिकहरुलाई पौराणिक पूर्वीय सांस्कृतिकले दर्शनको रुपमा स्विकार्न बाध्य भएको हो।
चार्वाक दर्शन अनुशार ब्रह्माण्डमा रहेको सक्ति वा पदार्थ पुरै नष्ट हुँदैन। यो आफ्नो प्राकृतिक अबस्थामा सदैब रहन्छ। ब्रह्माण्डको उत्पत्ति पुर्व पदार्थको प्राकृतिक अबस्था सुसुप्त थियो। त्यो बेला पदार्थ गहन अन्धकारमा एक आयामि भएर रहेको थियो। त्यसलाई यस्तो थियो भनेर न लक्षण बताउन सकिन्छ न तर्क गर्न सकिन्छ। त्यो पदार्थ उत्पत्तिको कारण तत्वको निरन्तर अन्तरक्रियाबाट सम्भव भएको हो। त्यसैले ब्रह्माण्डको सनातनी पदार्थको न आफ्नो बल थियो न समयको लागि गति। प्रारम्भको ब्रह्माण्ड बारेमा बेदले भनेको छ कि,’त्यो अविद्या पदार्थ भएर पनि शुषुप्त र अदृश्य थियो।
पौराणिक कालमा जतिपनि आयुर्वेदिक,खगोलिय र बैज्ञानिक खोज भए त्यो सबैको देन चार्वक दर्शन हो। त्यसको मुख्य जस स्वघोषित ईश्वर रुपमा स्थापित राजा महाराजाहरुद्वारा प्रताडित ऋषि,महर्षि र ब्रह्मर्षीहरुमा जान्छ। यी सबै खोजहरु ईश्वरबादको कल्पना आउनु पुर्व नै गरिएको हो।
चार्वाक दर्शनका आधार :
चार्वाक दर्शनका मुख्य आधार भन्नाले आत्मा-ज्ञान मीमांसा,आचार मीमांसा,मोक्ष,चार्वाक लोकायत,बृहस्पति शुत्र, आधारभूत सिद्धान्त,अदृष्ट एवं ईश्वरको निषेध अबधारणा,जीव एवं चैतन्य बारेको अवधारणा,शरीरको सहउत्पादन नै स्मरण हो भन्ने मान्यतालाई मानिन्छ। यो बेद पुर्वको पौराणिक दर्शन भए पनि यसमा चार्वाक, माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक र आर्हत लगायत लोकायतमा धेरै भेद छन्।
चार्वक दर्शनको मुख्य आधार खोज र अनुभवबाट प्राप्त शिक्षालाई स्थापित गर्नु थियो। त्यसको लागि गण-कुल प्रथा युपयुक्त थियो। गणकुल प्रथालाई निरंकुशताले परास्त गर्न थालेपछी खगोलीय तथा प्रयोगात्मक खोजको लागि आदिम गुरुहरुले गुरुकुलको स्थापना गरेका हुन्।
पछि महाभारत कालमा आइपुग्दा लोकायत विचारलाई चार्वाक दर्शन भनेर नामकरण गरेको देखिन्छ । जब समाज कविला गणप्रथाबाट दास युगमा प्रवेश गर्यो त्यसपछि दास मालिक वा राजाहरुले चार्वाक दर्शनमाथि आक्रमण शुरु गरे। चार्वाक दर्शनलाई मान्ने ब्रह्मर्षी,महर्षि,कुल नेता र ऋषिहरुलाई आफ्नो आक्रमणको निशाना बनाए। पछिलो अन्धकार युगमा चार्वाक वा लोकायत विचार लिनेलाई राक्षसहरुको बिचार नै भन्न थालियो ।
चार्वाक भनेको के हो ? त्यो दर्शनको पक्षपोषण गर्ने व्यक्ति वा समूहको नाम हो अथवा समुच्च दर्शन हो ? यो बिषय अहिलेसम्म बिबादित नै छ । तर यो एक प्राचीन दर्शन भन्नेमा मतैक्यता छ किनभने वैदिक कालको विकास पूर्व तत्कालीन कुल वा गण प्रथामा समाज खासै विभाजित थिएन ।
कर्म गर्ने, कर्मलाई नै सर्वपरी मान्ने , जीवनको चक्रलाई सुखपूर्वक चलाउने त्यस बेलाको समाजिक पद्धति थियो । चार्वाक दर्शन बुद्ध र जैन दर्शनभन्दा अगाडिको दर्शन हो किनभने बुद्ध र जैन दर्शन अनात्मबादी दर्शन भए तापनि तिनमा कतै कतै चार्वाक दर्शनको विरोध पाइन्छ । बौद्ध कालदेखिको इतिहास वर्तमानसँग जोडिएको छ तर चार्वक दर्शन युगौँसम्म दमन चक्रमा परेकोले मनुहरुले त्यसका सबै लेखौट मेटाउदै लागे।
लोकायत दर्शन:
माथि नै भनि सकियो कि आदिम कालका गण-कुल गुरुहरुको समूहद्वारा लोकहितका लागि प्रवाहित अविच्छिन्न विचारधारात्मक दृष्टिकोण नै लोकायत दर्शन हो । यस अन्तर्गत ब्रह्माण्डको खोजमा लागेका ब्रह्मर्षी,सामाज बिज्ञानको खोजमा लागेका महर्षि र गुरुकुलका छात्र छात्राहरुलाई अध्यापन गराउने ऋषिहरु पर्दथे। आदिम पुर्बिय दर्शनका बिज्ञ राधाकृष्णनका अनुसार लोकायत भौतिकवादका लागि प्रयोग गरिएको संस्कृत शब्द हो (प्रभात, २०७४ : १५९) । यो दर्शनले ईश्वर, पुनर्जन्म, भाग्य र आत्मालाई स्वीकार गर्दैन । त्यसैले चार्वाक दर्शनलाई अनिश्वरवादी, भौतिकवादी, पदार्थवादी, यथार्थवादी, प्रकृतिवादी, वस्तुवादी, जडवादी, देहात्मवादी र लोकायतवादी भनेर विभिन्न नाममा चर्चा गरिन्छ ।’
उनका अनुशार चार्वाक दर्शन विशुद्ध भौतिकवादी दर्शन हो । यो दर्शन विज्ञानसँग सम्बन्धित छ । जे कुरालाई शरीरका पाँच इन्द्रिय जस्तै नाकले सुँघ्ने, आँखाले देख्ने, जिब्रोले स्वाद लिने, कानले सुन्ने र शरीरले महसुस गर्न सक्छ त्यो नै यथार्थ ज्ञान हो । त्यसैले पृथ्वी, पानी, आगो र हावा यी चार भौतिक तत्व यस दर्शनका मूख्य आधार हुन् । उनले दिएका तर्क अनुसार,मानिस जन्मनु हुर्कनु,ज्ञान र सिप हासिल गर्नु, बिहे गर्नु, वंश विस्तार गर्नु, कर्म गरेर जीवन निर्वाह गर्नु, कर्म गर फल प्राप्त गर भन्नु, बिनाकर्म कष्ट हुन्छ भन्नु, सुखपूर्वक हुने मृत्युलाई मोक्ष मान्नु, पूर्वजन्म थिएन, पुनर्जन्म हुँदैन, स्वर्ग-नर्क यहीँ छ, अन्य लोकको अबधारणा गलत छ , सम्पूर्ण शक्ति भौतिक जगत्मा निहित छ भन्ने कुराहरु लोकायतले मानेका मान्यताहरु थिए। मातापितालाई बाँचुञ्जेल उच्च सम्मानसहित सेवा गर्न सिकाउने, मृत्युपछि पुनर्जन्मलाई अस्विकार गर्ने,काल्पनिक ईश्वरको अस्तित्वलाई अस्विकार गर्ने, पंचतत्व पृथ्वी, जल, आकास,अग्नि र वायुको भौतिक अस्तित्वलाई स्विकार्ने तथा कर्मकाण्डलाई बहिस्कार गर्ने ज्ञान नै लोकायत वा चार्वाक दर्शनका आधारभूत सिद्धान्त हुन् ।
चार्वाक दर्शनले पृथ्वी, जल, अग्नि र वायु नामका चार तत्वलाई सृष्टिको मूल तत्व मान्दछ र ईश्वर, परलोक तथा पुनर्जन्मलाई मान्दैन । यस दर्शनअनुसार चेतना भौतिक पदार्थको सहउत्पादन हो। ब्रह्माण्डको सृष्टि र संचालन गर्न कुनै सृष्टिकर्ताको आवश्यकता छैन, पदार्थहरू आफैँ प्राकृतिक नियमानुसार उब्जिन्छन् र नष्ट हुन्छन् । स्वर्ग-नर्क, यज्ञ, दान-पुण्य व्यर्थ हुन् । अन्य कुराहरू भौतिक पदार्थ तथा रसायनको संयोगबाट निस्रित भएका हुन्छन् । जसबाट उत्पन्न भए त्यसैमा विलीन हुन्छन् । मृत्यु भएपछि शरीर र चेतना नाश हुन्छ । पुनर्जन्म हुँदैन । त्यसैले सुखसाथ बाँचेर सुखपूर्वक मृत्युवरण गर्नुपर्छ किनभने मृत्यु नै मोक्ष हो (प्रभात, २०७४ : १५८)।’
प्रयोगात्मक ज्ञान र अनुभवको सिद्धान्त:
चार्वाक दर्शनका अनुसार भोगिरहेको जीवन नै यथार्थ हो । जीवन एक पटक मात्र पाइन्छ; दोहोरिन्न । त्यसैले यो जीवनमा जति दिन बाँचिन्छ त्यस बेलासम्म मेहनतका साथ काम गरेर सुखका साथ जीवन बिताउनुपर्छ । परलौकिक तरंगहरुको कल्पनामा मोहित भएर बस्नु अन्धकारतर्फको यात्रा हो। आफ्ना सन्तानलाई व्यावहारिक र जीवनोपयोगी ज्ञान र सीप मात्र दिनुपर्छ । इमानदारीपूर्वक मेहनतसाथ काम गर्दागर्दै पनि सुखसँग जीवन बिताउन अपुग भएमा ऋण गरेर भए पनि घिउ खानुपर्छ । भोकभोकै बस्नुहुँदैन । पितृ ऋण तीर्नु पर्छ । दु:खमा पिरलिएर बस्नुहुँदैन किनभने यो जीवन जलेर खरानी हुन्छ । मृत्यु नै मोक्ष हो । शरीर भष्म भए पछि फेरि जीवनको पुनर्जन्म हुँदैन । चार्वाक दर्शनको व्यापक प्रचारमा रहेको निम्न श्लोकको सार त्यही नै हो ।
“यावज्जीवेत्, सुखम् जीवेत् । ऋणम् क्रित्वा, घ्रितम पिबेत् ।।
भस्मिभूतस्य देहस्य । पुनारागमनम् कुत: ?”
पूर्वीय दर्शनका खोजकर्ताहरुको अभिलेख अनुशार,चार्वाक मतका पक्षधर ब्रह्मर्षी तथा कुल पिताहरु भेदभाव रहित समाजका पक्षधर थिए । चार्वाक मतका पक्षपाति महर्षिहरु वर्णाश्रम व्यवस्थाका आलोचक थिए । त्यसैले यो दर्शनलाई दास मालिक र वर्णाश्रम व्यवस्थाका पक्षपातीहरूले पछिल्लो समयसम्म पनि लखेटी नै रहे । कति मानिस भौतिक दर्शनका पक्षपाती भए तापनि ईश्वर, भाग्य र पूनर्जन्मका पक्षपाति राजा वा दास मालिकहरुले उनीहरुको निरन्तर दमन गरिरहे । फलस्वरुप: दास युगको मध्यम कालमा व्यक्ति, परिवार, समाज र राज्यले आर्थिक उन्नति गर्न सकेन ।
चार्वाक दर्शनका प्रणेता ऋषी बृहस्पतिलाई मानिन्छ । महर्षि चार्वाक र उनका चेलाहरुलाई बृहस्पतिका शिष्य एवम् उनका विचारको व्याख्याता, भाष्यकार एवम् प्रचारक भनी कतै-कतै चिनाइएको छ । बृहस्पतिले नै ‘बार्हस्पत्य दर्शन’ को नाम दिई साधारण नागरिकलेे चलनमा ल्याएको लोकायत दर्शनलाई व्यवस्थित गरे । इन्द्रियले महसुस गर्न सक्ने तथ्य प्रमाणलाई सत्य हो भन्नु यो दर्शनको मूल पक्ष हो भनेर बार्हस्पत्य दर्शनमा बताइएको छ। चार्वाक दर्शनको रुपमा अहिलेसम्म बाँचेको बृहस्पति सूत्र (६०० ईसा पूर्व) बाहेक अन्य सबै यसका पुस्तक मनुको काल पछि योजनाबद्ध रुपमा नामेट पारियो।
बुद्धघोषका अनुसार लोकायत ज्ञान तार्किक तथा द्वन्द्वात्मक छ । लोकायतिकहरू तर्कलाई व्यङ्ग्यात्मक र विनोदपूर्ण बनाउन खप्पिस थिए । ‘चार्वाक ऋषिको तार्किकताबाट धेरै वैदिक जनसमुदाय प्रभावित हुँदै जान थालेपछि लोकायतिक एवम् चार्वाक मतवालाहरूको तार्किकताबाट टाढै रहनू, चार्वाकसँग संवाद नै नगर्नू भन्ने मनुले थिति बाँधे ।’ (प्रभात, २०७४: १७५) चार्वाक मत मान्नेहरु बर्ण ब्याबस्था बिरोधि,समानताका पक्षधर र भौतिकबादी भएकाले उनीहरुको बिचारसँग निषेध गर्ने नीति लिईयो । धार्मिक जडताको अँध्यारो युगमा मनुबादीहरु चार्वाक दर्शनका खतरनाक सत्रु सावित भए।
ऋषि, महर्षिलगायत चार्वाक दर्शन माथि आक्रमण शुरु:
व्यवहारमा खारिएको अनुभव नै चार्वाक दर्शनको सार भएकाले यो मान्यता आदिम गण समाजमा अत्यन्त लोकप्रिय रहेको थियो। तर जब प्रत्ययवाद वेदान्त दर्शन वा ब्रह्मवादले ‘ईश्वर, पूर्वजन्म-पुनर्जन्म, पाप-धर्म, स्वर्ग-नर्क, दान-पुण्य, ब्रह्म सत्य, जगत मिथ्या जस्ता अबधारणाहरु ल्यायो। त्यसपछि निरङ्कुश राजाहरुलाई ऋषि महर्षिहरुले पनि आफ्नो भाग काटेर कर तिर्नु पर्ने नियम बनाउन थालियो। मनुहरुको दवावमा प्राप्त भौतिक सुख ईश्वरको कृपाबाट प्राप्त भएको हो, आत्म नै सत्य हो’ भन्ने दर्शन लेखाउन थालियो।त्यसपछि लोकायत दर्शनका सूत्रहरूलाई च्यात्ने, लोकायतवादीलाई निर्मूल गर्ने अभियान बढोत्तरी भयो। त्यति मात्रले नपुगी लोकायत दर्शनमा भएका ब्याबहारबादी पक्ष र सूत्रलाई नकारात्मक सन्देशको रूपमा व्याख्या गर्न थालियो। चार्वाकको दर्शनलाई ‘यो जीवनमा ऋण गरेर, चोरेर, लुटेर जसरी भए तापनि मोजमस्ती गर’ भन्ने दर्शन हो भनेर भ्रम सृजना गर्दै लगियो ।
ब्रह्मसूत्रमा मात्र नभई उपनिषद् कालमा समेत चार्वाक मतका पक्षपातिहरुलाई राक्षस भनिएपछि सोहीबमोजिम लोकायत मतलाई निस्तेज पार्न कर्मकाण्डी ब्राह्मणले नेतृत्व गरे । पछिल्लो समय जसरी बोन धर्म, बुद्ध र सनातनी हिन्दू धर्ममाथि मुस्लिम धर्मावलम्बिबाट आक्रमण भयो, ठिक त्यसै गरी उपनिषद, बुद्ध र जैन कालदेखि नै चार्वाक दर्शनको विरोध गर्ने र तिनका सूत्र सबै जलाउने , नष्ट गर्ने अभियान नै चलाइयो। बौद्ध, जैन, साङ्ख्य, न्याय, वैशेषिक, मीमांसा दर्शनका साथै रामायण, महाभारत र उपनिषद् जस्ता ग्रन्थमा चार्वाकको विरोधमा जे जति विचार आए, जे जसरी उनका सूत्रको विरोध गरियो त्यसको बिपरित पछिल्लो समयमा चार्वाक दर्शनका सिद्धान्त तथा सूत्रबारे जानकारी लिन, सङ्कलन गर्न र व्याख्या गर्न कपिल मुनि लगायतको अर्को दार्शनिक तप्का लागि रह्यो । फलस्वरूप यो पुरातन भौतिकबादी दर्शन चार्वाक दर्शनको रूपमा आजसम्म बाँच्न सकेको हो ।
त्यसैले नेपाल प्रज्ञा प्रतिष्ठानले हरिभद्रसूरिको ग्रन्थ उल्था गरी प्रकाशन गरेको ‘षड्दर्शन समुच्चय’मा बौद्ध, न्याय, साङ्ख्य, जैन, वैशेषिक, मीमांसा र चार्वाक गरी पूर्वीय ज्ञान सृंखलालाई सात पौराणिक पुर्बिय दर्शनहरू अन्तर्गत राखिएको छ ।
चार्वाक परिवेशबारे महाभारतको खण्ड ५, शान्ति पर्व, अध्याय ३८ र ३९ अन्तर्गत महाभारतमा भएको कौरव पाण्डवको युद्ध समाप्ति पछि जव पाण्डवहरु हस्तिनापुर दरवार प्रवेश गर्न लाग्दछन,त्यतिनै बेला ब्राह्मणहरुको बिचमा रहेका चार्वाकले युधिष्ठिरलाई सोधेको प्रसङ्ग यसरि उल्लेख छ ;
‘इमे प्राहुर्द्विजा: सर्वै समारोप्य वचो मयि ।
धिग् भवन्तं कुनृपतिं ज्ञातिघातिनमस्तु वै ।। २६।।
किं तेन स्याद्धि कौन्तेय कृत्वेमं ज्ञातिसंक्षयस् ।
घातयित्वा गुरुंश्चैव मृतं श्रेयो न जीवितम् ।। २७।।’
(‘हे युधिष्ठिर, यहाँ उपस्थित सबै ब्राह्मणहरूले उनीहरूको तर्फबाट समेत ममार्फत उनीहरूको कुरा भन्न भन्दै छन् र त्यो म भन्दै छु, सुन् ! हे कुन्तीनन्दन तिमी आफ्ना भाइबन्धुको हत्या गर्ने एक दुष्ट राजा हौ । तिमीलाई धिक्कार छ । त्यस्तो पुरुषको जीवनबाट के फाइदा छ ? यसप्रकार यी बन्धुबान्धवको विनाश गरेर गुरुहरूको हत्या गराएर बाँच्नुभन्दा त मर्नु राम्रो । जीवित रहनु बेकार छ ।’)
त्यसपछि बैसम्पायनको आदेशमा चार्वाक दार्शनिकलाई तत्कालै दुर्योधनको मित्र भएको आरोपमा हत्या गरिएको प्रसङ्ग महाभारतमा छ।
वर्तमान युगमा जे जसरी आफ्ना विरोधीलाई सत्तामा हुनेहरूले हत्या गर्ने प्रयास गर्दछन,ठिक त्यसरी नै त्यस बेला मानव सभ्यताको विकासले जन्माएका बैज्ञानिक विचारकहरुको हत्या गरिन्थ्यो।महाभारतमा वेदव्यासले राजाका चाटुकारको रूपमा ब्रह्मवादी कथित ज्ञानी ब्रह्माणलाई लगाएर चार्वाक जस्ता भौतिकवादी, लोकायतवादी, लोकतन्त्रवादी दार्शनिकलाई भौतिक रूपमा नै सफाया गर्न लगाउथे। उनीहरुको यो हत्या सृंखला भारतबर्षमा युगौंसम्म चलि रह्यो।
महाभारतको यो प्रसंगलाई हेर्दा थाह हुन्छ कि दास युगको प्रथम चरण पछि राजाहरुले आँफुलाई ईश्वर घोषणा गर्ने परम्पराको थालनी गरे। त्यो प्रथाका बिरोधि वा कुल प्रथाका अनुयायी भौतिकबादी ब्रह्मर्षी,महर्षि र ऋषिहरुको हत्या हुन थाल्यो। त्यसपछि ऋषि महर्षिहरु गाउँमा बस्न सक्ने अबस्थाको अन्त्य भयो। उनिहरु बाँच्न र आफ्नो अनुसन्धानलाई जीवित राख्न जंगलमा कुटी बनाएर बस्न थाले। लोकायत दर्शन माथि हिंसात्मक दमन ब्रामणहरुको निर्देशनमा राजाहरुद्वारा गरिन्थ्यो। यो दर्शनको प्रभाव समाप्त पार्नु बाहेक दूर्योधनको मित्र हो भन्दैमा राजाले महाभारतको युद्ध समाप्त भई सकेपछि चार्वाकलाई मार्नु पर्ने कारण के थियो र ?
चार्वाकको हत्यापछि महाभारतको कथामा चार्वाकले ब्रह्माजीबाट बरदान प्राप्त गरेको भन्ने कुरा उल्लेख गरिएको छ। चार्वाकले सत्य युगमा धेरै वर्ष बदरिकाश्रममा तपस्या गरेर ‘कुनै प्राणीबाट डराउन नपरोस्’ भन्ने वरदान प्राप्त गरेको कुरा कृष्णले युधिष्ठिरलाई बताएका छन् । कृष्णले युधिष्ठिरलाई क्षत्रीय धर्मअनुसार युद्धमा भाइबन्धुको हत्या गरिएको भएपनि त्यसको दोष नलाग्ने बताउदै चार्वाकको कुराबाट विचलित नहुन आग्रह गरेका छन् । यसबाट बुझिन्छकि राजाहरुको युगमा भौतिकबादी मतलाई अलौकिक मतवाला ब्रमाणबादीहरुले कति सम्म दमन गर्दथे।
त्यस्तै अयोध्या प्रकरणमा महर्षि जावलीले रामचन्द्रलाई अयोध्या फर्कन दिएको आग्रह पनि चार्वाकको विचारसँग मिल्दोजुल्दो छ। यी सबै कुराहरूले अनिश्वरबादी सिद्धान्त धेरै प्राचीन थियो भनेर प्रमाणित गर्दछ। बेद तथा उपनिषद बाहेक सांख्य दर्शन, जुन अलौकि सक्तिलाई स्थापित गर्ने दर्शन भएर पनि त्यसमा धेरै लोकायत दर्शनको प्रभाव रहेको छ ।
निष्कर्ष:
अन्त्यमा,वेदव्यासले ब्रह्मवादीबाट चार्वाक दर्शनका पक्षधरहरु माथि दानवको आरोपमा आक्रमण गर्ने आदेश दिएपनि महर्षि चार्वाकको मत पूर्वीय दर्शनमा अहिलेसम्म बाँचिरहेको छ। साँचो अर्थमा चार्वक मत मान्नेहरु ज्ञानी हुन् भन्ने कुरालाई स्वयम् ब्यासले स्वीकारेका छन् । महाभारत कालको राजतन्त्रात्मक युगमा समेत लोकायत दर्शन लोकप्रिय नै रहेकाले बाध्यताबस भए पनि महाभारतमा उल्लेख गरिएको हो । त्यो दर्शनले राजपरिवार, सामन्ति र वर्णाश्रमीलाई थर्कमान पारेको थियो र त्यो तत्कालिन जनपदमा (गणप्रथाको बीच) लोकप्रिय थियो । त्यसैले लोकायतको रुपमा बाँच्न सफल भएको हो । वेदव्यासले शासक र सामन्तलाई चार्वाक दर्शन सदैब सशक्त छ भनेर देखाउनका लागि कृष्णमार्फत चार्वाकको बारेमा जानकारी गराइएको हुन सक्छ । हस्तिनापुरमा चार्वाकको हत्यालाई लोकायतवादको मृत्यु र ईश्वरवादको विजयको रुपमा देखाएर राजा इश्वरका अवतार हुन् भनेर प्रमाणित गर्न खोजिएको देखिन्छ।
त्यसैले ब्रह्मवादी शक्तिशाली रहेको बेला भौतिकबादी चार्वाकको मृत्यु देखाइनु अस्वाभाविक होइन।परन्तु त्यहाँ लोकायतवादी चार्वाकलाई निषेधभन्दा पनि त्यो दर्शन जीवित छ, होसियार हुनुपर्छ भनेर ब्रह्मवादीलाई प्रतिरोधमा उतार्न गरिएको सन्देशले पनि गण समाजको अन्त्य राजतन्त्रको शुरुवातलाई देखाउन खोजेको छ। आदिम साम्यवादी गण प्रथाको भौतिकबादी चेतनालाई कसरि राजाहरुले ब्रमाणबादीहरुको सहयोगमा दमन गरे ? त्यसलाई बुझाउन राजा नहुसको सासनकालमा चार्वाक मतका आविस्कारक सप्तऋषिहरुमाथि गरिएको अपमानलाई पनि लिन सकिन्छ।
यसलाई निर्बिबाद रुपमा मान्न सकिन्छकी ई.पू. २००० भन्दा पहिलेको यो दर्शन भौतिकवादको जगबाट जन्मेको दर्शन हो।यो जगत बाहेक स्वर्ग भन्ने अर्को जगत मिथ्या कल्पना हो । मृत्यु नै मोक्ष हो। पुर्नजन्म हुदैन।जन्मभूमिलाई नै बिश्वामित्रले त्रिसंकुलाई स्वर्ग बनाइ दिए जस्तै सामर्थ्यले सुन्दर बनाउन सकिन्छ। मृत्यु अन्तिम सत्य हो।मृत्यु पश्यात आत्माको फरक अस्तित्व सम्भव छैन भन्ने थप चर्चा तत्वमिमांसा र ज्ञानमीमांसाबारे रामायणमा चार्वाकको प्रसङ्ग सहित विस्तृत रुपमा उल्लेख गरिएको छ ।बेद पुर्वको चार्वाक मतको बारेमा जानकारी लिनुछ भने सर्वदर्शनसंग्रह, सर्वदर्शनशिरोमणि र बृहस्पतिसूत्रलाई राम्रोसंग अध्ययन गर्नु आबस्यक छ। कसै कसैले अर्थशास्त्रका रचनाकार कौटिल्य ऋषि एवं लोकायत दर्शनका प्रणेता बृहस्पतिलाई एउटै हुन् भनेर व्याख्या गरेका छन्। अर्थशास्त्री तथा धर्म बिज्ञ हेमचन्द्रका अनुसार अर्थशास्त्र, कामसूत्र, न्यायसूत्र-भाष्य, पञ्चतंत्र र चाणक्य नीतिका रचनाकार चार्वाक मतका पक्षधर कौटिल्य ऋषिलाई मानिएको छ।
सन्दर्भ सामग्री:
१. प्रभात, विष्णु, दर्शन बोध, २०७४, नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँ ।
२. प्रभात, विष्णु, प्रज्ञा संस्कृति कोश, २०७४, नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँ ।
३. महाभारत, खण्ड ५, शान्ति पर्व, अध्याय ३८ र ३९ ।
४. हरिभद्रसूरि (गोपीरमण उपाध्याय), षड्दर्शनसमुच्चय, २०७३, नेपाल प्रज्ञा-प्रतिष्ठान, काठमाडौँ
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij