धनगढी। गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तले आफूहरु सुदूरपश्चिमको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका छन्।
कैलाली उद्योग वाणिज्य संघसँगको छलफल कार्यक्रममा अध्यक्ष पन्तले सुदूरपश्चिमको विकासमा लगानी गर्न गैरआवासीय नेपाली इच्छुक रहेको बताएका हुन्।
सुदूरपश्चिम पर्यटनको लागि सम्भावना बोकेको क्षेत्र भएको बताउँदै पन्तले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण बनाइदिन उद्योग वाणिज्य संघसँग आग्रह गरे।
‘सुदूरपश्चिम पर्यटनको लागि प्रचुर सम्भावाना बोकेको क्षेत्र हो। अहिले गैरआवासीय नेपालीसँग पैसा छ,’ पन्तले भने, ‘बाहिर बस्नेहरुलाई स्थानीय विश्वासिलो साझेदार चाहिन्छ। संभाव्यताको क्रंक्रिट अध्ययन गरेर प्रपोजल ल्याउनुस्। हामी लगानी गर्न तयार छौँ।’
स्थानीय साझेदारले लगानीे सुरक्षाको ग्यारेण्टी र वातावरण राम्रो छ भन्ने विश्वास दिलाउन सके गैरआवासीय नेपाली लगानी गर्न पछाडी नहट्ने पन्तको भनाइ छ।
‘लगानी गर्ने मान्छेले फाइदा खोज्छ। विदेशमा बस्नेलाई लगानी सुरक्षित छ भन्ने विश्वास दिलाउन पर्छ,’ उनले भने, ‘त्यति गर्नुभयो भने लगानीको कुनै कमी हुने छैन। यहाँ लगानी गर्नको लागि थुप्रै क्षेत्र छन्। एआएनसँग सहकार्य गर्नुस्।’
छलफलमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको पर्यटन, औद्योगिक तथा उड्ययन क्षेत्रमा सम्भावाना रहेको बताउँदै गैरआवासीय नेपालीलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गरे।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले गैरआवासीय नेपाली संघले सुदूरपश्चिमको सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा आर्थिक विकासमा योगदान पुर्याउन आग्रह गरे।

कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, सल्लाहकार कुल आचार्य ,उपाध्यक्ष बद्री केसी, महासचिव हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी र शनिकुमार ओली लगाएतको सहभागिता थियो।