बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले न्युक्यासललाई चार गोलले हरायो, चेल्सी बराबरीमा रोकियो

लिभरपुल र टोटेनह्यामले अंक बाँडे

सोमबार, पुष ५ २०७८

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४-० गोल अन्तरले हराएको छ । गए राति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीका लागि खेल सुरु भएको पाँच मिनेटमै रुबेन डियासले गोल गर्दै अग्रता दिलाए । यस्तै, खेलको २७ औं मिनेटमा जोआ कान्सेलोले गोल गरे भने ६३ औं मिनेटमा रियाद महरेज र ८६ औं मिनेटमा रहिम स्ट्रर्लिङले एक/एक गोल गरे ।

जितसँगै सिटीले १८ खेलमा ४४ अङ्क जोडेको छ । न्युक्यासल १० अङ्क जोडेर १९ औं स्थानमा छ । यस्तै, इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा चेल्सीले उल्भ्ससँग गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै चेल्सीले १८ खेलमा ३८ अङ्क जोडेको छ । चेल्सी तेस्रो स्थानमा छ । उल्भ्स भने २५ अङ्क जोडेर ८ औं स्थानमा छ ।
लिभरपुल र टोटेनह्यामले अंक बाँडे
इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्यामले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गए राति भएको खेलमा लिभरपुल र टोटेनह्यामले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

टोटेनह्यामका लागि खेलको १३ औं मिनेटमा ह्यारी केनले गोल गरे । खेलको ३५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए भने खेलको ६९ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । खेलको ७४ औँ मिनेटमा टोटेनह्यामका सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई २-२ गोलको बराबरीमा ल्याए ।

खेलको ७७ औं मिनेटमा रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै १८ खेलमा ४१ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको दोस्रो स्थानमा छ । टोटेनह्याम २६ अङ्कसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार