काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङसँग नेपाली समय अनुसार बिहान सवा ११ बजे प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । हङकङ पनि नेपाललाई पराजित गर्ने योजनामा हुनेछ ।
पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । विश्वकप छनोट अन्तर्गत नै बैककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।
छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने तालिका रहेको छ । त्यसैगरी नेपालको तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्नेछ ।