काठमाडौँ । युएइमा जारी टी-ट्वेन्टी विश्वकपको आयोजक भारत प्रतियोगिताको समुहचरणबाटै बाहिरिने खतरा बढेको छ ।
आइतबार भएको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको फराकिलो हारपछि भारतको प्रतियोगिताको सेमिफाइनल संभावना अब गणितीय रुपमा मात्र बाँकी छ।
यसअघि पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको भारत २० ओभरमा सात विकेट गुमाएर मात्र ११० रन बनाउन सक्यो । सातौं नम्बरमा ब्याटिङका लागि आएका रविन्द्र जडेजाको २६ रन सर्वाधिक रनका रुपमा रह्यो।
हार्दिक पाण्डे २३ रनमा आउट हुँदा ओपनर केएल राहुल १८ तथा रोहित शर्माले १४ रन मात्र जोड्न सके। त्यस्तै थप दोहोरो रनको स्कोरका रुपमा ऋषभ पन्तको १२ रन रह्यो। कप्तान विराट कोहली केवल १७ बलमा ९ रन बनाएर आउट भए।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिंदा ईश सोधिले २ तथा टीम साउदी र एडम मिल्नेले एक एक विकेट लिए।
न्युजिल्यान्डले भारत विरुद्ध ऐतिहासिक रुपमा सर्वाधिक फराकिलो जित निकाल्यो। उसले ३३ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
१११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले राम्रो सुरूवात गर्यो।
पहिलो विकेटका लागि २४ रनको साझेदारी भएपनि ओपनर डर्याल मिचहेलले ४९ रनको सानदार इनिङ खेले। उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थए। त्यस्तै ओपनर मार्टिन गुप्टिल २० रन बनाए।
कप्तान केन विलियमसन ३३ रनमा नटआउट रहँदा डेभन कनवे २ रनमा अविजित फर्किए। न्युजिल्यान्डले केवल १४।३ ओभरमानै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
टप अर्डर ध्वस्त
पाकिस्तानसँगको पहिलो खेलको एकहप्ता पछि खेल्दा पनि भारतीय टप अर्डर कमजोर सावित भयो । भारतले ४८ रन जोड्दा ४ विकेट गुमाएको थियो।
साथमा ढिलो रन स्कोर उसको अर्को चुनौती बन्यो। तेस्रो ओभरमा नै ४ रनको अबस्थामा ओपनर इशान किशन आउट भए। किशन आउट भएको अर्को बलमा रोहित शर्माले जिवनदान पाए। एडम मिल्नेले सहज क्याच मिस गरे । यद्धपि उनले त्यसको फाइदा उठाउन पाएनन् । उनी १४ रनमा नै आउट भए।
त्यसपछि कप्तान कोहलीपनि ९ रनको अबस्थामा आउट हुँदा भारतीय टप अर्डर तहसनहस भएको थियो।
मैदानमा भारतीय टीम
२०१३ पछि दोस्रो पटक रोहित शर्मा प्लेइङ ११ मा रहेरपनि ओपनिङ गर्न आएनन्। त्यस्तै केएल राहुलले आफ्नो ५० औ टी ट्वेन्टी अन्तराष्ट्रिय खेल खेले। पावर प्लेमा भारतको स्कोर २ विकेट गुमाएर ३५ रन रह्यो। भारतको आधा टीम ७० रनको अवस्थामा समेटियो। ११०र७ भारतको न्युजिल्यान्ड विरुद्ध टी ट्वेन्टी अन्तराष्ट्रियमा दोस्रो कम स्कोर हो। भारत विरुद्ध ट्रेन्ट बोल्टले टी ट्वेन्टी अन्तराष्ट्रियमा ५० विकेट पुरा गरे।
१८ बर्षदेखिको पर्खाइ, पर्खाइमै सिमित
भारतले न्युजिल्यान्डसँगको आईसीसी इभेन्टमा २००३ यता कुनै जित निकाल्न सकेको छैन। पछिल्लो एकदिवसीय विश्वकपमा सेमिफाइनल ९२०१९० तथा विश्व टेस्ट च्याम्पियनसिप फाइनल (२०२१) मा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो।
टी-ट्वेन्टी विश्वकपमा यसअघि दुबै टीमले दुई पटक एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए। दुबै पटक न्युजिल्यान्ड बाजि मार्न सफल भएको थियो। यो तेस्रो खेल पनि न्युजिल्यान्ड फराकिलो जित निकाल्न सफल भयो।
अंक तालिका
समूह २ मा पाकिस्तान ३ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जितसहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जितसहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जितसहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन् ।