शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्रीद्धारा बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमण, राहत र सहयोगको आश्वासन

विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह

शुक्रबार, कार्तिक ५ २०७८

काठमाठौं(जस)–प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएकोे बताए । बाढी डुबान पहिराबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उल्लेख गर्दै उनले भने, ‘बाढीपहिराबाट पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ, काठमाडौँ पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिने छ ।’
प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम नहटिसकाले यो रोगको रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘नेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।’ उनले जनतालाई कोरोनाविरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए । प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले विपत्तिको बेला जनतालाई व्यवस्थित र सही ढङ्गले राहत उपलब्ध गराउनुपर्ने बताए ।
उनले कर्णाली नदीमा आएको बाढीको वितण्डाले तटबन्धन भत्काइ टीकापुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै गम्भीर हुन आग्रह गरेका थिए । कार्यक्रमका वक्ताले वर्षापछि कैलालीमा भएको डुबान तथा कटानको विकराल समस्याले किसानको हजारौँ विगहामा लगाइएको धानबाली नष्ट भएको भन्दै पीडित किसानलाई नेपाल सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । प्रधानमन्त्री देउवा वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी , बझाङ, बैतडी, डडेलधुरा र कञ्चपुरमा भएको क्षतिको निरीक्षण अवलोकन गरी साँझ धनगढी पुगेका हुन् । प्रधानमन्त्री नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायरलगायत सहभागी थिए ।
उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइने
बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गरेका छन् । सो अवसरमा उनले बाढीपहिराले बझाङमा पु¥याएको क्षतिबारे विपद् व्यवस्थापन समितिका जिल्ला संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीबाट जानकारी लिए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङको तर्फबाट नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि चेतराज बजालले जिल्लामा नौ जनाको मृत्यु र २१ जना बेपत्ता रहेकाले उनीहरुको खोजी र पीडित पक्षलाई राहतको व्यवस्थापन गर्नुपर्ने, घरविहीन भएकालाई घर निर्माण तथा पुनःबासको व्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल जलविद्युत्, खानेपानी छिटो मर्मत तथा सञ्चालन गर्नुपर्नेलगायतका ६ बँुदे मागपत्र प्रधानमन्त्रीलाई बुझाए । उक्त मागपत्रका बारेमा प्रधानमन्त्री देउवाले बझाङमा भएको दुःखद् घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई आगाडि बढाउने बताए ।
प्रधानमन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी–पहिराले घर भत्किएकाहरूको घर निर्माणका लागि आर्थिक सहयोग दिने प्रधानमन्त्री देउवाले बताए । उनले भने, “बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाइँहरूले प्रभावितलाई चुस्त रूपमा सेवा दिनुहोला ।”
बिहीबार बाढी प्रभावित क्षेत्र सुदूरपश्चिमको डोटी पुगेका प्रधानमन्त्री देउवाले यहाँका बाढी प्रभावित क्षेत्रका व्यक्तिहरूको उद्धार र राहातका लागि निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।
प्रधानमन्त्रीसहितको उक्त टोली बाढीबाट प्रभावित भएको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको निरीक्षणका लागि जाने क्रममा अहिले दिपायल आइपुगेको हो । प्रधानमन्त्रीसहितको सो टोली बिहीबार बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो ।
प्रधानमन्त्री देउवासँगै निरीक्षणमा आएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आलेले बाढी–पहिरामा ज्यान गुमाएका, घरबारविहीन भएका नागरिकलाई सरकारी निकायबाट राहतसहित आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बताए । उनले भने, “बाढी–पहिरापीडित नागरिकको साथमा सरकार छ, पीडित भएका नागरिकको समस्या समाधान सरकारले गर्नेछ ।”सोही क्रममा मन्त्री आलेले बाढी–पहिराले अवरुद्ध भएका यहाँका राजमार्ग तथा ग्रामीण क्षेत्रका सडक सञ्चालनका लागि सम्बन्धित मन्त्रालयमार्फत निर्देशन भइसकेकाले तत्काल काममा खटिन कर्मचारीलाई पनि आग्रह गरे ।
डोटीमा मात्रै बाढी–पहिराका कारण १४ जनाको ज्यान गइसकेको तथा एक जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिएका थिए । सोही क्रममा प्रजिअ विष्टले जिल्लामा बाढी–पहिराले १३ जना घाइते, ३५ चौपाया मृत्यु, २५ घाइते तथा २० चौपाया बेपत्ता, घरधुरी ११०, विस्थापित नागरिक ५०० तथा दुईवटा झोलुङ्गे पुलमा क्षति भएको विवरण पेश गरेका थिए । बाढीको क्षतिबारे दिपायलमा जानकारी लिएर उक्त टोली बझाङ चैनपुर जाने कार्यक्रम तय भएको छ । यसैगरी उक्त टोलीले बझाङमा बाढी–पहिराले गरेको क्षतिका विषयमा अनुगमन तथा निरीक्षण गरी बैतडी र डोटीको सीमा क्षेत्र ढुङ्गाड जाने कार्यक्रम रहेको र ढुङ्गाडमा भएको क्षतिका विषयमा स्थलगत निरीक्षण गरी डडेल्धुरा सदरमुकाम पुग्ने बताइएको छ । बिहीबारै उक्त टोली जोगबुढाबाट कञ्चनपुर पुगी सदरमुकामका साथै त्यहाँका बाढी प्रभावित क्षेत्र दोधारा–चाँदनी, वह्मदेव क्षेत्रमा बाढीले गरेको क्षतिका बारेमा निरीक्षण अनुगमन गरी कैलालीको धनगढी फर्किने कार्यक्रम तय भएको छ ।
कर्णालीमा पु¥याएको क्षतिबारे जानकारी
बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पु¥याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिए । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पु¥याएकोमा आफू दुःखी बनेको बताए ।
“मौसमविद्ले जलवायु परिवर्तनका कारण ठूलो महाविपत्तिले क्षति पुगेको भनिरहेका छन्,” उनले भने, “सबैभन्दा बढी क्षति सुदूरपश्चिममा पु¥याएको छ, नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन सरकारले निर्णय गरिसकेको छ, समयमै राहत उपलब्ध गराउदछौं ।”
आइतबारदेखि परेको अविरल वर्षाका कारण कर्णालीमा बाढीपहिरामा परी आठ जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका छन् । नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरका सहायकरथी योगराज शर्माले प्रधानमन्त्रीलाई बाढीपहिराले पु¥याएको क्षतिबारे जानकारी गराए । सो अवसरमा प्रधानमन्त्रीलाई कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कांगे्रस महामन्त्री पूर्णबहादुर खड्का लगायतसँग विमानस्थलमा स्वागत भेट गरेका थिए । प्रधानमन्त्री देउवा कर्णालीपछि सुदूपश्चिम जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार