काठमाडौंः माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज तेस्रो खेल भारतसँग खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल र भारतबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ भने भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ ।
सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ ।
प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो ।
साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।
भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ ।
भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।