बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

आइपिएल क्रिकेट: कोलकातालाई हराउँदै पञ्‍जाब पाँचौं स्थानमा उक्लियो

शनिबार, असोज १६ २०७८

काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटअन्तर्गत गएराति भएको खेलमा पञ्‍जाब किङ्सले महत्वपूर्ण जीत हासिल गरेको छ । पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो ।

दुबईमा गएराति कोलकाताले दिएको १६६ रनको लक्ष्य पञ्‍जाबले ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । पञ्‍जाबको जीतमा कप्तान केएल राहुलले ६७ रन बनाए भने मयंक अग्रवालले ४० रन बनाए ।

शाहरुख खान १४ रनमा अविजित रहे भने एइडेन मार्करमले १८ रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिँदा शिवम मावी, सुनिल नारायण र भेनकटेश अय्यरले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो । भेनकटेश अय्यरले ६७ रन बनाउँदा राहुल त्रिपाठीले ३४ र नितिश रानाले ३१ रन बनाए ।

पञ्‍जाबका अर्शदीप सिंहले ३ विकेट लिँदा रवि विश्‍नोइले २ तथा मोहम्मद शामीले १ विकेट लिए । शामीले एक उत्कृष्ट रनआउट पनि गरेका थिए ।

यस जीतपछि पञ्जाबको १२ खेलबाट १० अंक भएको छ र पाँचौं स्थानमा छ भने पराजित कोलकाता समान खेलबाट समान अंकसहित नेटरनरेटका आधारमा चौथोमा यथावत् छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार