काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा पिएसजीले जीत हासिल गरेको छ । पिएसजीले इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई २-० गोलअन्तरले हराएको हो ।
पिएसजीको जीतमा एड्रिसा गुए र लियोनल मेस्सीले १-१ गोल गरे । दुवै हाफमा १-१ गोल भएका थिए ।
खेलको आठौं मिनेटमा गुएको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । एमबाप्पेले दिएको क्रसलाई नेयमारले प्रहार गर्न नसक्दा गुएले गोल गरेका थिए ।
७४औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले किलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए । मेस्सीले नयाँ सिजनमा पिएसजीका लागि चार खेल खेल्दा पहिलो गोल गरेका छन् ।
यसै समूहको अर्को खेलमा जर्मन क्लब आरबी लेप्जिग घरेलु मैदानमा क्लब ब्रुगसँग २–१ ले पराजित भएको छ ।
यो नतिजापछि पिएसजी दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ भने पराजित सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
क्लब ब्रुग ४ अंक जोडेर दोस्रो स्थानमा रहँदा लेप्जिग अंकविहीन हुदै पुछारमा छ ।