शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बिना अर्थको परीक्षाफल

आइतबार, साउन २४ २०७८

रमेश रेग्मी

विक्रम सम्वत 1990 देखि सुरु भएको एसएलसी परीक्षा निकै लामो समय राष्ट्रिय गौरवको परीक्षाको रुपमा रह्यो/ पुष्प भक्त मल्ल पहिलो बोर्ड फस्ट हुँदा देखि 2026 सालमा बाबुराम भट्टराई ,2031 सालमा ईश्वर थापा तथा 2038 सालमा पहिलो महिला फस्ट का रूपमा लुना भट्ट रहँदा सम्म गौरवपूर्ण नै रह्यो /यसै प्रकारको सान र मान 2061 सालमा समिर श्रेष्ठ बोर्ड फस्ट हुँदासम्म रहेको देखिन्छ/ त्यसपछि परीक्षा बोर्डले रेकर्डका रुपमा राखे तापनि सार्वजनिक रुपमा बोर्डमा पर्ने विद्यार्थीहरूको सूची प्रकाशित खासै गरेन/ 2071 सालमा दिक्षित पौडेल एसएलसी बोर्ड फस्ट भए भने 2073 सालको नयाँ शिक्षा ऐनले यस समयसम्म SLC नाममा लिएको परीक्षा SEE( Secondary education examination) नाम राखी कक्षा 12 पछि मात्र SLC लिने प्रावधान राख्यो/ त्यसैले 2072 साल र त्यो पछि ग्रेडिङ सिस्टममा SLC/SEE को नतिजा प्रकाशन गर्न थालिएकाले SEE बोर्ड फस्टको प्रावधान नै रहेन/

अहिले महामारीको समय छ/ गतवर्ष र यस वर्ष प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीका लागि आफै अङ्क दिएर परीक्षाफल तयार तयार गरेका हुन् / विद्यार्थीको वास्तविक क्षमता बुझ्ने शिक्षकहरुले नै हो , तर कतिपय विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई अङ्क प्रदान गर्ने बेलामा विवेक पुराएको देखिँदैन/ तीन वर्ष पहिला 10 जनाभन्दा कम विद्यार्थीले SEE मा A+ नतिजा ल्याएका थिए तर अहिलेको विषम परिस्थितिमा झण्डै 72 हजार विद्यार्थीले सबै विषयमा A र A+नतिजा ल्याएको देखिएको छ/ यति मात्रै होइन
काठमाडौंका मात्रै एक हजार दुइ सय जनाभन्दा बढीविद्यार्थीले A+ नतिजा ल्याएको पाइएको छ/ के यो नतिजा हेरेर अहिलेको अवस्थामा हाम्रो शैक्षिक गुणस्तर बढेको आकलन गर्न सकिन्छ त? परीक्षा बोर्डले कार्यविधि मार्फत 80 प्रतिशतभन्दा बढी अङ्क दिनुपर्ने भएमा यसको कारण खुलाउनु पर्ने व्यवस्था गरेको छ, तैपनि यस्ता नियमलाइ बेवास्ता गर्दै नाम चालेका सरकारी विद्यालयलेनै पनि धेरैभन्दा धेरै विद्यार्थीलाई A/A+ नतिजा दिएको देखिएको छ भने मनोमानी ढंगले अङ्क दिने चौबिस विद्यालय छानविनको घेरामा परेका छन्/ चौध लाख हाराहारी विद्यार्थी एक कक्षामा भर्ना भइरहँदा, पाच लाख भन्दा कम विद्यार्थीले एसईई परीक्षा दिएको पाइएको छ/ सम्पूर्ण शिक्षाक्षेत्रको ध्यान विद्यार्थीको छाड्ने प्रवृत्ति(Dropout) रोक्न र गुणस्तरिय शिक्षा प्रदान गरी, गरी खान सक्ने विद्यार्थी उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ/

शिक्षा केका लागि?

शिक्षा जीवनका लागि हुनुपर्छ/ शिक्षा हासिल गरिसकेपछि त्यसको प्रयोगले सहज जीवन यापनमा सहयोग गर्दैन भने त्यस्तो शिक्षा कुनै अर्थ छैन/ परीक्षामा धेरै अङ्क प्राप्त गर्नु मात्र जीवनको लक्ष्य हुनु हुँदैन/परीक्षामा धेरै अङ्क प्राप्त गर्ने व्यक्ति मात्र सफल व्यक्ति हुन्छन् भन्ने छैन/ यदि त्यसो हो भने हरिवंश आचार्य जस्ता व्यक्तिलाई के के भन्ने? विद्यालय तहको अध्ययनलाई कुरा गर्ने हो भने भगवान कोइराला पनि अत्यन्त कमजोर विद्यार्थीमा पर्छन्/ परिश्रम गर्यो भने जुनसुकै तहमा पनि राम्रो गर्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण भगवान कोइराला बाट सिक्न सकिन्छ/ इच्छाधीन गणितको कक्षाबाट हटाइएका विद्यार्थी जसले अनिबार्य गणित विषयमा 33 अङ्क मात्र ल्याएर एसएलसी उत्तीर्ण गरे उनी आज दक्षिण एसियाकै सर्वोत्कृष्ट मुटुरोग विशेषज्ञको रुपमा चिनिन्छन् / यो संसारमा असंख्य त्यस्ता व्यक्तिहरु छन् जो विद्यालयको परीक्षामा असल विद्यार्थी कहिल्यै भएनन् तर आफ्नो लगाव र परिश्रमका कारण सफल ब्यक्तीको दर्जामा उभिन सफल भएका छन्/ त्यसैले शिक्षा आर्जन गर्नु , धेरै अङ्क प्राप्त गर्नु मात्र होइन आफ्नो काम सफलतापूर्वक गर्न सक्नु हो/ तरअहिलेको युगमा पनि विद्यालय तथा शिक्षकहरुले समेत आफ्ना विद्यार्थीलाई धेरै अङ्क प्रदान गरेर आफ्नो सफलता पुष्टि गर्न खोज्नु बिडम्बना हो/

के विषय पढ्ने?
कुनैपनि विद्यार्थीले यही विषय पढ्नुपर्छ भन्ने छैन तर जे सुकै विषय पढे पनि त्यसमा राम्रो गर्न सक्नुपर्छ/ विद्यार्थीले अध्ययनका लागि विषय छनौट गर्दा आफ्नो रुचिको विषय छनौट गर्नुपर्छ र सबैभन्दा बढी आफ्नो क्षमताको ख्याल गर्नुपर्छ/ विद्यालयमा भौतिक रुपमा उपस्थित भई अध्ययन गर्दा जुन तहको ज्ञान हासिल हुन सक्थ्यो अनलाईनका माध्यमबाट उक्त तहको ज्ञान हासिल हुन सकेको छैन तर विद्यालयले आफ्नो विद्यालयको नतिजा उत्कृष्ट देखाउनका लागि विद्यार्थीको क्षमता भन्दा माथिल्लो तहका अङ्क प्रदान गरिदिएका छन्/ यदि विद्यालयले प्रदान गरेको अंकलाई आधार बनाएर विषय छनौट गर्ने हो भने अधिकांश विद्यार्थीको भविष्य अन्धकार मय हुनसक्छ/ कतिपय अबुज अभिभावकले आफूले पूरा गर्न नसकेका जीवनका लक्ष्य पूरा गराउन आफ्ना बालबच्चालाई आफ्नो छनौटको विषय पढाउन खोज्छन्, कतिपय विद्यार्थीहरू आफ्ना साथीभाइको दबाबका कारण आफ्नो क्षमता भन्दा बाहिरका विषय पढ्न खोज्छन्, त कतिपय विद्यार्थीले आफ्नो परिवारको आर्थिक सामाजिक र पारिवारिक अवस्था र क्षमतालाई ख्याल नगरी विद्यालय छनौट गर्दा मनोवैज्ञानिक प्रभावका कारण पनि अध्ययनमा राम्रो नगरेको देखिन्छ/ अध्यायन, ज्ञान सीप, विवेक..महत्वपूर्ण कुरा हुन्, अङ्क महत्वपूर्ण होइन/त्यसैले ज्ञानका लागि पढौं अंकका लागि होइन/हातमा डिग्रीको सर्टिफिकेट- पेसा गृहिणी भन्ने शीर्षकको पात्र शीर्षकको पात्र नबनौ/

प्रतिक्रिया
सम्बन्धित समाचार