शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

खोप लगाएका नेपालीले कतारमा क्वारेन्टिन बस्नु नपर्ने, यस्तो छ नयाँ नियम

सोमबार, साउन ११ २०७८

दोहा । खोप लगाएको १४ दिनपछि कतार आउने नेपालीले क्वारेन्टिन बस्नु नपर्ने भएको छ ।

कतारस्थित नेपाली दूतावासले नेपालबाट कतार आउने नेपालीहरुका लागि नयाँ मापदण्ड सम्बन्धी जानकारी गराउँदै कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्डबारे जानकारी दिएको छ । दूतावासले कतार सरकारको नयाँ नियम उल्लेख गर्दै खोप लगाएको कम्तीमा १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिनमा बस्नु नपर्ने बताएको छ । कतारले फाइजर, बायोन्टेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड÷अक्सफोर्ड) र जोन्सन एण्ड जोन्सनको खोपलाई मात्र कतारमा मान्यता दिइएको छ । दूतावासका अनुसार मान्यता प्राप्त खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्नेछ ।

प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम÷प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर र खोप लगाउने कार्यालयको छाप हुनुपर्ने छ । सिनोफर्म खोप लगाएका व्यक्तिको भने शरीरमा कोरोना प्रतिरोधी एण्टिबडी भए÷नभएको परीक्षण गरिने बताइएको छ ।

यस्तो छ नयाँ नियम

१. हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड- १९ नेगेटिभ पीसीआर रिपोर्ट लिएर मात्र यात्रा गर्न पाइने ।

२. यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राबेल परमिट प्रिन्ट गरी साथमा लिएर यात्रा गर्न पाइने ।

३. कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरुले खोप लगाएको १२ महिना अवधिभित्र पून: कतार प्रवेश गर्दा क्वारेन्टिन बस्नु नपर्ने ।

४.कतारले मान्यता दिएका फाइजर, बोयोएनटेक, मोडेर्ना, अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोपको मात्रा कुनै पनि देशमा पूरा गरेको १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने ।

५.राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, खोप लगाइएको मिति, खोपको नाम/प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर र खोप लगाउने निकायको सही छाप अनिवार्य हुनुपर्ने दूतावासले जनाएको छ ।

६. कतारमा कोभिड-१९ संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पून: प्रवेश गर्ने यात्रुले क्वारेन्टिन बस्नु नपर्ने ।

७. खोपको मात्रा पूरा नगरेका, खोपको मात्रा पूरा भएको १४ दिन पूरा नभएका वा खोप नलगाएका यात्रुको हकमा अनिवार्य रुपमा Discover Qatar वेबसाइटबाट बुकिङ्ग गरी १० दिन होटल क्वारेन्टिन वा १४ दिन मेखाइनिस क्वारेन्टिन बस्नुपर्ने दूतावासले जनाएको छ ।

कतार सरकारले जारी गरेको यो नियम जुलाई १२ अर्थात् गएको असार २८ गतेदेखि नै लागू भइसकेको छ । थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार