बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

युरोकप फाइनलमा इटाली र इङल्याण्डबीच भिडन्त, कस्तो छ इतिहास ?

आइतबार, असार २७ २०७८

काठमाडौँ । युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरोकप अब अन्त्यतिर आइपुगेको छ । फाइनलमा उपाधिका लागि इटाली र ईङल्याण्ड भिड्ने भएका छन् । दुवै बीच आइतबार राति नेपाली समय अनुसार १२:४५ मा खेल हुने छ ।

इङल्याण्ड र इटाली अहिलेसम्म २७ पटक एक आपसमा खेलेका छन् । जसमा इङल्याण्डले ८ खेलमा जित हासिल गरेको छ भने इटालीले ११ खेलमा जित हासिल गरेको छ । त्यस्तै ८ खेल बराबरीमा सकिएका छन् ।

त्यस्तै इङल्याण्ड र इटाली २०१८ को मार्चपछि पहिलो पटक एकआपसविरुद्ध खेल्दै छन् । २०१५ मार्च र २०१८ मार्चमा भएको दुवै मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएका थिए ।

ठुलो प्रतियोगितामा दुवैबीच २०१४ को विश्वकपको समुह चरणमा प्रतिष्पर्धा भएको थियो । जसमा इटालीले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

दुवै टिमबीच युरोकपमा भने २०१२ मा प्रतिष्पर्धा भएको थियो । सो युरोकपको अन्तिम १६ को खेलमा निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि इटालीले पेनाल्टी सुटआउटमा ४-२ ले इङल्याण्डलाई पराजित गरेको थियो ।

इटाली :

युरोकपको इतिहासमा इटाली चौथो पटक फाइनल खेल्ने तयारी गरेको छ । इटालीले यस अघि एक पटक मात्र १९६८ को युरोकप जितेको छ । त्यस्तै सन् २००० र २०१२ मा फाइनल खेल्दै उपविजेतामा चित्त बुझाएको थियो ।

यस युरोकपमा भने इटालीको फाइनलसम्मको यात्रा शानदार रहेको छ । समुह चरणमा समुह ए मा तिनै खेल जितेर शिर्ष स्थानमा रहदै इटाली नकआउट चरणमा पुगेको थियो ।

इटालीले पहिलो खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने समुह चरणको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई पनि ३-० गोल अन्तरले नै पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेल्सलाई १-० ले पराजित गर्दै समुहमा शिर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको थियो ।

नक आउट चरणमा भने इटालीले अस्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो । ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले जित निकालेको थियो ।

त्यस्तै क्वाटरफाइनलमा भने बलियो मानिएको टिम बेल्जियमविरुद्ध २-१ गोल अन्तरकै शानदार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै सेमिफाइनलमा भने इटाली भाग्यमानी ठहरियो । सेमिफाइनलमा स्पेनविरुद्ध ९० मिनेटको खेलमा १-१ को बराबरी खेलेको इटाली ३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा इटाली ४-२ गोल अन्तरले विजयी हुदै युरोकपको फाइनलको यात्रा तय गरेको हो ।

यसरी यस युरोकपमा इटालीले कुल ५ खेलमा ११ गोल गरेको छ भने केबल २ गोल खाएको छ । इटालीका लागि अहिलेसम्म ५ खेलाडीले २-२ गोल गरेका छन् भएँ एक खेलाडीले एक गोल गरेका छन् । जसमा माटेओ पेस्सिना, फेडरिको चेइसा, किरो इमोबिल, लोरेन्जो इनसाइन् र म्यन्यूएल लोकाटेलीले २-२ गोल गरेका छन् । त्यस्तै निकोलो बरेलाले एक गोल गरेका छन् ।

३३ खेलमा अपराजित इटाली :

इटाली आफ्नो फुटबल इतिहासकै सुनौलो समयबाट गुज्रिएको देखिन्छ । इटालीले आफ्नै राष्ट्रिय टिमको सन् १९३९ को ३० खेलमा अपराजित भएको रेकर्डलाई तोडेर अब ३३ खेलमा अपराजित भएको छ । इटाली २०१८ देखि अहिलेसम्म अपराजित रहेको छ ।

त्यस्तै विश्वमा सबैभन्दा धेरै खेलमा अपराजित हुने टिममा भने तेस्रो स्थानमा रहेको छ । सबै भन्दा अगाडी ब्राजिल १९९३ देखि १९९६ सम्म ३५ खेलमा अपराजित रहेको थियो । त्यस्तै स्पेन २००७ देखि २००९ सम्म ३५ खेलमै अपराजित रहेको थियो । त्यस्तै इटाली हाल २०१८ देखि अहिलेसम्म अपराजित रहेको छ ।

चौथो स्थानमा अर्जेन्टिना १९९१ देखि १९९३ सम्मम ३१ खेलमा अपराजित रहेको थियो । त्यस्तै पाँचौ स्थानमा पनि इटाली नै रहेको छ । इटाली १९३५ देखि १९३९ सम्म ३० खेलमा अपराजित रहेको थियो ।

इङल्याण्ड :

युरोकपको इतिहासमा पहिलो पटक इङल्याण्ड फाइनलमा खेल्दै छ । यस अघि १९६८ र १९९६ मा सेमिफाइनलसम्म मात्र पुगेको इङल्याण्डले यस पटक इतिहास बनाउदै फाइनलसम्मको यात्रा तय गरेको छ । त्यस्तै इङल्याण्ड सन् १९६६ को विश्वकप जितेपछि कुनै पनि ठुलो प्रतियोगिताको फाइनल पहिलो पटक खेल्दै छन् ।

यस युरोकपमा इङल्याण्डको फाइनलसम्मको यात्रा इटालीको जस्तै शानदार रहेको छ । समुह चरणमा समुह डी मा रहेको इङल्याण्डले २ जित र एक बराबरीसहित ७ अंक बटुल्दै समुहमा शिर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको थियो । समुह चरणको पहिलो खेलमा क्रोसियालाई १-० गोल अन्तरले पराजित गरेको ईङल्याण्ड दोस्रो खेलमा स्कटल्याण्डसंग गोलरहित बराबरीमा रोकिएको थियो । त्यस्तै तेस्रो खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले हराएको थियो ।

त्यसैगरी नकआउट चरणमा प्रतियोगिताको प्रमुख दाबेदार मानिएको जर्मनीलाई २-० गोल अन्तरले पाखा लगाउदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै क्वाटरफाइनलमा युक्रेनविरुद्ध ४-० को सहज जित निकाल्दै सेमिफाइनलमा पुगेको इङल्याण्डले सेमिफाइनलमा डेनमार्कसँग अतिरिक्त समयमा निर्णायक गोल गर्दै २-१ को जित निकालेर फाइनलमा पुगेको हो ।

आफ्नो फाइनलसम्मको यात्रामा इङल्याण्डले कुल १० गोल गरेकोमा एक गोल आत्मघाती रहेको छ भने केवल १ गोल खाएको छ ।

इङल्याण्डका लागि अहिलेसम्म कप्तान ह्यारी केनले कुल ४ गोल गर्दै आफुलाई गोल्डेन बुटको दौडमा कायम राखेका छन् । गोल्डेन बुटको दौडमा अहिले क्रिस्टियानो रोनाल्डो ५ गोल गरेर सबैभन्दा अगाडी रहेका छन् । त्यस्तै इङल्याण्डक लागि रहिम स्टरलिङले ३ गोल गरेका छन् भने ह्यारी माग्युरे र जोर्डन हेण्डर्सनले एक एक गोल गरेका छन् ।

यसरी इङल्याण्डले फाइनलमा पुगेर इतिहास त बनाइसकेको छ र उपाधि नै जितेर इतिहास बनाउने संघारमा पनि रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार