काठमाडौं । ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार विहान सम्पन्न फाइनल खेलमा साविक विजेता ब्राजिललाई १-० ले हराउँदै २८ वर्षपछि उपाधि जितेको हो ।
अर्जेन्टिनाको जीतमा पहिलो हाफमा भएको एकमात्र गोल नै निर्णायक बनेको थियो । २१औं मिनेटमा रोड्रिगो डे पलको लामो पासमा एन्जेल डिमारियाले डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए ।
दोस्रो हाफमा ब्राजिलले निरन्तर आक्रमण गरेपनि खेल बराबरीमा ल्याउन सकेन । दोस्रो हाफमा रिचार्लिसनले गोल गरेपनि अफसाइड ठहर भएको थियो ।
अर्जेन्टिनाले पछिल्लोपटक सन् १९९३ मा कोपा अमेरिका जितेयता कुनै मुख्य प्रतियोगिता जित्न सकेको थिएन । स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
सन् २०१५ र १६ को कोपामा फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएको अर्जेन्टिना सन् २०१९ मा ब्राजिलसँग सेमिफाइनलमा स्तब्ध बनेको थियो ।