शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मनाङमा भिषण बाढी पहीरोः एक हजार भन्दा बढी बिस्थापित, १० वटा पुल बगे, अधिकांश सडक क्षतीग्रस्त

मंगलबार, असार ८ २०७८

काठमाडौ । हिमालपारिको जिल्ला मनाङमा लगातार परेको वर्षाका कारण मङ्गलबार एक हजार मानिस विस्थापित भएका छन् । जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित भएका अधिकांशलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।मनाङको उच्च हिमाली भेगमा यार्सागुम्बा टिप्न जाँदा मौसम बदली भएर अलपत्र परेका ५६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएका उनीहरु मौसम बदली भएर हिउँ पर्दा बिचल्लीमा परेका थिए ।असार ४ गते नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न जाँदा अलपत्र परेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको मनाङका डीएसपी सुवास खड्काले बताए । बाढीले ५५ घरमा क्षति पुगेको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मनाङको चामे, नासोङ्ग, डिस्याङ र नार्पाभूमि गाउँपालिकाबाट बाढीका कारण समस्यामा परेका ४७४ जनालाई उद्दार गरेर सुरक्षित ठाउँमा सारिएको छ ।

मनाङ्गको चामे र नासोङ्ग गाउँपालिमा बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । ‘मुख्यतः दुईवटा गाउँपालिका सबैभन्दा धेरै प्रभावित भएका छन्’ प्रजिअ लामिछानेले भने, ‘कसैले अनुमान नगरेको प्रकोप आइलाग्यो, यस्तो बाढी मनाङमा यसअघि कहिल्यै आएको थिएन ।’
गत जेठ १४ देखि १६ सम्म परेको अविरल वर्षाले पनि मनाङ र काठमाडौंबीच सडक सम्पर्क टुटाइदिएको थियो । आइतबारदेखि बल्ल मनाङमा ठूलो पानी रोकिएको छ ।बाढीले चामे गाउँपालिका–१ तिमाङस्थित स्याल्क्यू छहराको मोटरेबल पुल बगाएको छ । तिमाङको छहरामा रहेका दुईवटा पक्की पुल भत्काएपछि राजधानीसँगको सडक सम्पर्क जोडिन सकेको छैन । काठमाडौं र पोखरा हिँडेकालाई १७० जनालाई सुरक्षाकर्मीले तिमाङको छहराबाट उद्धार गरेर पठाएका छन् ।
बेंसीसहर–चामे सडक आयोजनाले बैकल्पिक तरिकाबाट सो बाटो खुलाउने प्रयास गरिरहेको प्रजिअ लामिछानेले बताए ।मनाङ सडक खण्डको करिब २५ प्रतिशत सडकमा बाढीले क्षतीग्रस्त बनेका छन ।नासोङ्ग गाउँपालिकामा मात्र ७ वटा झोलुंगे पुल बाढीले बगाएको छ । मर्स्याङ्दी र दुधखोलाका ८ ओटा झोलुंगे पुल र दुईवटा मोटरेवल पुल बगाएको प्रजिअ लामिछानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार