काठमाडौं(जस)– नेपाली काँग्रेसको १४औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउबालाई उनकै समूहका नेता तथा उपसभापति विमलेन्द्र निधिले चुनौती दिने भएका छन् । देउबाले थप कार्यकाल सभापति बन्ने भन्दै आफु उम्मेदावर बन्ने पक्का गरेसँगै निधि देउबालाई चुनौती दिने निष्कर्षमा पुगेका हुन् । निधिले यसैक्रममा आफ्नो सभापतिमा दाबेदारीसहित काँग्रेसका प्रमुख नेता तथा युवा नेताहरुसँग परामर्श अगाडि बढाएका छन् । निधिले यसपटक जसरी पनि नेतृत्व परिवर्तन गनैपर्ने बताउँदै सभापतिका आकांक्षी रहेका अन्य नेताहरुसँग छलफल थालेको उनी निकट स्रोतले बतायो ।
नेतृत्व परिवर्तनका लागि एकजुट हुनेमा सभापतिका तीन आकांक्षी सहमतिको नजिक पुगेको स्रोतले बतायो । सोमबार उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह निधि निवास बानेश्वरमा लन्चसहित बैठक बसेर सहमतिको खाकाबारे छलफल गरेका हुन् । तीन नेताले पावर सेयरिङको कुरा गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार सामूहिक नेतृत्वबाट पार्टी चलाउने, एक व्यक्ति एक पदको प्रावधानबाट सरकारमा जाने गरी सहमतिको खाका बनेको छ ।
संस्थापन पक्षमा रहेका निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रहेका कोइराला र सिंहबीचको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको दौउडमा देखिएका बेला नेतात्रयबीचको छलफलले नयाँ समीकरण सम्भवानालाई सतहमा ल्याइदिएको छ । शनिबार मात्रै पार्टी सभापति देउवा र निधिबीच उम्मेदवारीबारे सवाल जवाफ भएको थियो । दुबै जनाले एक अर्कालाई नछोड्ने अडानसहित उनीहरु छुटिएका थिए । आफूनिकट केन्द्रीय पदाधिकारी र सदस्यहरुसँग गरेको प्रदेशस्तरीय छलफलमा देउवाले सभापतिको उम्मेदवार आफैं हुने घोषणा गरेका थिए । निधिले १३ औं महाधिवेशनमा जनाएको प्रतिबद्धता र सरकारको नेतृत्वका लागि अघि बढिरहेको परिदृश्यमा सभापतिमा आफूलाई बनाएर सहयोग गर्न देउवासँग आग्रह गरेका थिए ।
निधि, कोइराला र सिंह तीनैजना सभापतिका आकांक्षी हुन् । निधिले आफूलाई नेतृत्वमा साथ दिन दुवैजना नेतासँग आग्रह गर्दै आएका छन् । कोइराला पनि नेतृत्वका लागि साथ दिन आग्रह गर्दै आएका छन् । सिंहले आफ्नो परिवारले पटक पटक त्याग गरेको स्मरण गराउँदै अब आफ्ना लागि त्यागको भावना देखाउन निधि र कोइरालालाई आग्रह गर्दै आएका छन् । निधि, कोइराला र सिंह दुवै विरासतको राजनीति गर्दै आएका नेताको परिचय बोकेका छन् । निधि महेन्द्र नारायण निधिका पुत्र हुन् । उनको मधेशमा राम्रो पकड छ । सशांक कोइराला काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र हुन् । उनी काँग्रेसभित्र लोकप्रियता मानिन्छन भने सिंह गणेशमान सिंहका पुत्र हुन् । उनको पनि काँग्रेसमा बलियो पकड छ । तीनैजना सभापतिका आकांक्षी हुन् । तर, पावर सेयरिङ गरेर तीनजना नेता सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । तीनजना मिलेर सभापतिको उम्मेदवार बनेमा वर्तमान सभापति शेरबहादुर देउवालाई ठूलो चुनौती बन्न सक्ने आँकलन गरिएको छ ।
यस्तै निधिले युवा नेताहरुसँग पनि छलफल थालेका छन् । काठमाडौंको बत्तिसपुतलीस्थित् अनुपम फूडल्याण्डमा भएको छलफलमा युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, सरिता प्रसाई, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार, बद्री पाण्डेलगायत सहभागी भएका थिए । आसन्न १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका निधिले राजनीतिक भेटघाट र सक्रियता बढाएका छन् । निधि संस्थापन इतरका युवा नेताहरुसँगे भेटवार्तामा जुटेका छन् । सभापति देउवाले यसपटक पनि आँफै सभापतिमा उठ्ने घोषणा गरेपछि निधि देउवासँग बिच्किएका छन् । उनले देउवाले आफूलाई धोका दिएको भन्दै अब ब्याक नहुने पनि स्पष्ट पारेका छन् । काँग्रेसको महाधिवेशन भदौमा हुने तय भएको छ । महाधिवेशनमा अहिलेसम्म सभापतिका एक दर्जन आकांक्षी देखिएका छन् ।