आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

फिफा विश्वकप-२०२२ छनोटको अन्तिम खेलमा अस्ट्रेलियासँग नेपाल पराजित

शनिबार, जेष्ठ २९ २०७८

काठमाडौं । कुवेतको जबेर अल अहमद रंगशालामा नेपाल अस्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएको छ । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा अस्ट्रेलियाले नेपाललाई पराजित गरेसँगै नेपालको फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को यात्रा समाप्त भएको छ ।

अस्ट्रेलियाका खेलाडीहरू म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गर्दै अस्ट्रेलियालाई ३ गोलको अग्रता दिलाए । खेल सुरु भएको छैटौं मिनेटमा लेकीले गोल गर्दै अस्ट्रेलियालाई १-० ले अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेलसकिन ७ मिनेट बाँकी रहँदा फ्रान काराचिचले पुन: गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको इन्जुरी समयमा रेडकार्डको सामना गर्दै नेपाली खेलाडी रोहित चन्द मैदानबाट बाहिरिए । योसँगै नेपाली फुटबल टिम १० जना खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि खेलको ५७ औं मिनेटमा मार्टिनले गोल गर्दै अस्ट्रेलियालाई ३-० को जित दिलाए ।

नेपालमा हुनुपर्ने दोस्रो लेगको कोभिड-१९ को महामारीका कारण एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा गर्ने निर्णय गरेको थियो । अस्ट्रेलियाले गरेको लगातार प्रहारमा नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले धेरै गोल बचाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार