शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री भट्टलाई विश्वासको मत

बुधबार, जेष्ठ २६ २०७८

धनगढी(जस)–नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा उनका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गरे । सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उनले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
एमालेले माग्यो स्पष्टीकरण
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई आज स्पष्टीकरण सोधिएको छ । एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीका विपक्षमा मतदान गर्ने सात सदस्यलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेको संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् । विपक्षमा मतदान गर्नेमा नेपालु चौधरी, गेल्बुसिंह बोहरा, लीलाधर भट्ट, रतनबहादुर थापा, माया तामाङ, पठानसिंह बोहरा र बलदेव रेग्मी रहेको जनाइएको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारका मुख्यमन्त्री पक्षमा संसदीय दलको निर्णयानुसार एमालेका १७ जनाले भने मत दिएका थिए ।
एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेश एमाले संसदीय दलमा पूर्वनेता माधवकुमार नेपाल पक्षको बहुमत छ । मुख्यमन्त्री भट्ट सत्तासाझेदार दल एमालेमा उत्पन्न आन्तरिक किचलोका बीच सदनबाट विश्वासको मत लिन सफल भएका छन् । उनले प्रदेशसभाका ५२ सदस्यमध्ये बहुमत अर्थात ३०मत पाएका छन् । एमालेका सात र राजपाका दुई गरी नौ जनाले विपक्षमा मत दिए । बाह्र सदस्य रहेको नेपाली कांग्रेस तटस्थ बसेको थियो । प्रदेशसभामा एमालेका सभामुखसहित २५ र माओवादी केन्द्रका १३ सदस्य छन् । सरकार गठनको तीन वर्ष पूरा हुँदा मुख्यमन्त्रीले प्रदेशसभामा आज पहिलो पटक विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार