आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कतारका सम्माननिय अमीर शैख तमीम बिन हमद अल थानीको जीवनी

बिहिबार, जेष्ठ २० २०७८

प्रोफेसर मोहम्मद रमजान अली मियाँ

काठमाडौं । शैख तमीम बिन हमद अल थानीको जन्म सन् १९८० को जुन ३ तारिखका दिन दोहामा भएको थियोे । पुर्व महाराज शैख हमद बिन खलीफा अल थानीको चौथो सन्तानको रुपमा रहेका शैख तमीम आफ्नी मुमा शैखा मोजा बिन्त ए नासरका दोस्रो छोरा हुन । शैखले प्राथमिक र माध्यमिक शिक्षा स्वदेसमै प्राप्त गर्नु भएको हो । हुने बिरुवाको चिल्लो पात भने झै शैख बाल्यकाल देखि नै अत्यन्तै बुद्धिमान र असाधारण क्षमतावान हुनु हुन्थ्यो । माध्यमिक शिक्षाको निरन्तरताको क्रममा शैखले बेलायतको सेरबोर्न स्कुलमा भर्ना भै सन् १९९७ मा माध्यमिक तहको शिक्षा पूरा गर्नु भयो । उच्च शिक्षा पनि शैखले बेलायत मै पूरा गर्नु भयो।त्यसपछि रोयल मिलिटरी एकेडेमी अफ सान्ध्रुस्टबाट सन् १९९८ मा स्नातक तहको अध्ययन सम्पन्न गर्नु भयो।त्यसपछि शैखले कतार फर्केर यहाँको सशस्त्र बलमा भर्ना भई सैन्य सम्बन्धि प्राज्ञिक र ब्यवहारिक अनुभव हासिल गर्नु भयो । शैखलाइ सन् २००३ को ५ अगस्टका दिन निवर्तमान अमीर शैख हमदको उत्तराधिकारी तथा सशस्त्र बलको डेपुटी कमान्डर इन चिफ घोषणा गरिएको थियो ।

आफ्नो उत्तराधिकारीलाइ राज्य कसरी चलाउनु पर्छ भनेर सिकाउने संसारको परम्परा निक्कै पुरानो रहिआएको छ।यहि परम्परा कतारमा पनि कायम रहिआएको छ । फलस्वरूप शैखलाइ ३३ वर्षको युवा उमेरमा सन् २०१३ को जुन २५ तारीखका दिन अमीरको उपाधी सहित कतार राज्यको सन्चालनको जिम्मेवारी प्रदान गरिएको थियोे । शैखले छोटो समयमै देश भित्र र देश बाहिर थुप्रै उत्कृष्ट कार्यहरु गर्न सफल हुनु भएको छ।नागरिक प्रति को जिम्मेवारी बहन गर्ने,देशलाई अग्रता दिने क्रममा देशमा सुप्रीम एजुकेसन काउन्सिल,सुप्रीम काउन्सिल फर हेल्थ,सुप्रीम काउन्सिल फर इन्भायरोमेन्ट एन्ड नेचर रिजर्भ्स लगायत सुप्रीम काउन्सिल फर इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी जस्ता विभिन्न क्षेत्रका उच्च निकायहरुको नेतृत्व गर्नु भएको छ । विभिन्न क्षेत्र तथा देशलाइ आर्थिक रूपमा सक्षम बनाउन र परनिर्भरतालाइ बिदा गर्ने यात्रामा आत्मनिर्भरतालाइ अंगाल्दै कतार इन्भेस्टमेन्ट अथोरिटिको सञ्चालक समिति,सुप्रीम कमिटी फर डिभलपमेन्ट प्लानिङ्ग,बोर्ड अफ ट्रस्टिज अफ कतार युनिभर्सिटी,कतार लिडरशिप सेन्टर जस्ता विभिन्न निकायमा प्रत्यक्ष सहभागी भएर उदाहरणीय एवं उत्कृष्ट कार्य गर्नु भएको छ ।

कतारको चौतर्फी बिकास योजनाको योजनाकार एवं नेतृत्वकर्ताको भुमिकामा रहनु हुने शैख हाल पनि देश भित्र र देश बाहिर रहेका दर्जनौं मामिलालाइ कुशलता पुर्वक संचालन गर्दै आउनु भएको छ ।छिमेकी राष्ट्र ,प्राय सबै पश्चिमा तथा युरोपियन देश लगायत बिश्वका प्रगतिशील मुलुक र टर्की,भारत,पाकिस्तान संगको पारस्परिक सम्बन्ध र सहकार्य गज्जबकै रहेको छ । जसले गर्दा कतार सबैको नजरमा प्रिय र हितैषी बन्न सफल भएको छ।कतार फि तकद्दुम व तमीम अल मज्दको भावना हरेक कतारी नागरिकमा बसाउन सफल अमीर शैख तमीम बिन हमद अल थानी सानै उमेरमा अन्तर्राष्ट्रिय जगतका दर्जनौं सम्मान र पदवीबाट सम्मानित भैसक्नु भएको छ भने मौसुफ अरब जगतकै भद्र,शालीन र बौद्धिक ब्यक्तित्व मानिनु हुन्छ ।
कतारी जनता लाइ एकताको सुत्रमा बाँध्न र बिश्व जगतमा कतारको छुट्टै पहिचान स्थापित गर्न शेखले खेलेको नेतृत्वदायी भुमिकाले आज सारा कतार गर्व गर्दछ ।यतिमात्र होइन बिश्व जगतलाइ नै मानवीय रुपमा एक हुन मौसुफले विभिन्न अन्तर्राष्ट्रिय मंचहरुबाट आह्वान गर्दै आउनु भएको छ । संसारको कुनै पनि कुनामा केही संकट पर्दा कतारका सहयोगी हातहरु सदैव अगाडि बढेको देख्न पाउँदा म स्वयं प्रसन्नताको आभास गर्दछु ।

आधुनिक कतारको अवधारणा तथा दिगो बिकासको परिकल्पना साकार पार्ने मार्गमा शेख निरन्तर लाग्नु भएको छ भन्ने कुरा मौसुफले कतार भिजन २०३० मा खेलेको रचनात्मक भुमिका र योगदानले नै प्रष्ट पार्दछ । नेशनल भिजन २०३० अनुरुप परियोजनाहरुको कार्यान्वयनको निरन्तर अनुगमनमा शेखको दृढ़ इच्छाशक्ति वास्तवमै अनुकरणीय रहेको छ । अत्यन्तै छोटो अवधिमा कतारले हासिल गरेका दर्जनौं दर्जन उपलब्धिहरुको पृष्ठभुमिमा शेख तमीमको बौद्धिकता र लगनशीलता प्रष्ट देख्न सकिन्छ । आफ्ना नागरिकमा देशप्रतिको मायाँ,मातृभुमि प्रतिको उत्तरदायित्व र राष्ट्रप्रेम जगाउन र बसाउन शेखले इतिहास लाई सधैं आत्मसात गर्नु भएको छ।कतारको आगामी पुस्ता कतारी इतिहास र आफ्ना पुर्वजहरु बारे जानकार हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै मौसुफले आफू उत्तराधिकारी भएकै बखतमा कतार राष्ट्रिय दिवसको अवधारणा अघि सार्ने भएको थियोे।फलस्वरूप कतारमा हरेक वर्ष १८ डिसेम्बरका दिन बडो हर्षोउल्लास पुर्वक Qatar National Day मनाइन्छ।जसमा कतारी नागरिक सहित आप्रवासीहरुको बिशाल सहभागिता हुने गर्दछ । ब्यक्ति र समाजको लागि स्वास्थ्यको महत्त्व प्रतिको मौसुफको चासो र चिन्ताको परिणाम हो हरेक वर्षको फेब्रुअरी महिनाको दोस्रो हप्तामा सार्वजनिक रुममा मनाइने कतार खेलकुद दिवस।यसको थालनी गरेर मौसुफले खुलकुदको गरिमालाइ उच्चता प्रदान गर्नु भएको कुरा इतिहासमा स्वर्ण अक्षरले लेख्न योग्य छ ।

३ श्रीमती बाट मौसुफका १२ सन्तान छन भने शेखलाइ टेनिस,फाल्कोन र कतारी तथा अरबी खेलहरुमा विशेष रुचि रहेको छ।भाषागत रुपमा आफ्नो मातृभाषा अरबी बाहेक फ्रेन्च र अङ्ग्रेजी भाषामा मौसुफ पोख्त हुनु हुन्छ।कतारको शासकीय इतिहासमा शेख मौसुफ कतारको आठौं अमीर हुनुहुन्छ । आजकै दिनमा पर्न गएको मौसुफको जन्मदिनको अवसरमा मेरो ब्यक्तिगत र कतारमा रहेको नेपाली समाजको तर्फबाट वहाँको सु-स्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै कतारको समृद्धि तथा समुन्नतिको शुभेच्छा ब्यक्त गर्दछु । (हाल राष्ट्रिय मानव अधिकार समिति कतार)

प्रतिक्रिया
सम्बन्धित समाचार