शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

चार एयरलाइन्सललाई नियमित अन्तरराष्ट्रिय उडानका लागि अनुमति

बुधबार, जेष्ठ १९ २०७८

काठमाडौं(जस)–सरकारले नेपाल वायुसेवा निगमसहित चार वायुसेवा कम्पनीलाई अन्तरराष्ट्रिय उडानका लागि अनुमति दिएको छ । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खुला गर्ने निर्णय गरेसँगै चार एयरलाइन्सले नियमित उडानको अनुमति पाएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् । नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले निमित उडानको प्रस्ताव पेश नगरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले स्वीकृत गरेको उडान तालिकाअनुसार अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने छ । टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबार हुनेछ । नेपाल वायुसेवाले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ ।

कतारमा नेपाल वायुसेवा र कतारले हरेक सोमबार उडान गर्नेछन् । दुबै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन् । नेपाल वायुसेवाको जहाज नयाँ दिल्ली भने हरेक बुधबार उड्नेछ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ । भारतमा एयर बबल स्किम अनुसार उडान भइरहेको छ । थप तीन मुलुकमा भने सरकारले एक साता अगाडि उडान खोल्ने निर्णय गरेको थियो ।

नेपालले नियमित अन्तराष्ट्रिय उडान बन्द गरेर चाटर्ड उडानमात्र सञ्चालन गरेसँगै बिदेश जान भिसा लिएका हजारौं नेपाली नेपालमै अडकिएका छन् । विशेष गरि वैदेशिक रोजगारीका लागि सबै प्रक्रिया पूरा गरेर बिदेश जाने तयारीमा रहेका युवा सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नियमित हवाई उडान रोकेसँगै समस्यामा परेको विरोध भएपछि भन्दै सरकारलाई नियमित उडान खोल्न दबाब परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार