काठमाडा(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र चार पूर्व प्रधानन्यायाधीशप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले पूर्व प्रधानन्यायाधीशहरूप्रति यस्तो आक्रोश व्यक्त गर्दै सडकमा तमासा देखाएको आरोप लगाएका हुन् । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गर्दै संसद् विघटनलाई संविधान मास्ने खेलसँग तुलना गरेका थिए ।
‘उहाँहरू त्यही चाहिरहनु भएको छ । हामीले लेखेर दिएको फैसला पढि सुनाउने न्यायाधीश बाहेकलाई हामी मान्दैनौं । यस प्रकारका कुरा छन् । न्यायालय कुन अवस्थामा पुग्दैछ । कालोकोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पु¥याउँदै हुनुहुन्छ ? कुन हैसियतमा पु¥याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ । पूर्व न्यायमूर्ति, उहाँहरूले न्यायलयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर । आफ्नो समयमा केही नगर्ने ! अनि वर्तमान न्यायालयका काम कारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पु¥याउँछ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।
उनले यस प्रकारका ‘आउटडेटेड एलिमेन्ट’ हरूबाट देशलाई दुष्प्रभावित हुन नदिइने बताउँदै जोगाइने पनि दावी गरे । उनले अरू पनि यस्ता तत्व देखिएको बताए । ‘कसैलाई पूर्ण बजेट ल्याउनु हुँदैन, कसैलाई बजेट ल्याउनु हुँदैन, कसैले विकास बजेट ल्याउनु हुँदैन, विकासका कामलाई एक वर्ष ठप्प राख्नुपर्छ, जनताहरूलाई सेवा गर्न हुँदैन । सरकार, राज्यको काम जनताको सेवा गर्ने होइन, हो भने पनि यतिबेला स्थगित राख्नुपर्छ, महामारीको यस्तो बेला छ, जनतालाई उपचार गर्नुपर्छ’, उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा संबैधानिक इजलास गठनमा देखिएको विवादप्रति अहिले न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भनिरहेको आरोप लगाए । संसद विघटनविरुद्ध जारी संबैधानिक इजलास गठनको विवाद जारी रहेका बेला प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो । उनले सम्बोधनका क्रममा आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाए । ओलीले भने, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पु¥याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’
प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाउदै देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने बताए । प्रधानमन्त्रीले भने, ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’
युवा सङ्घको अध्यक्षमा पौडेल चयन
नेकपा एमालेको निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सङ्घको सोमबार भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए । सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेर हदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ । महासचिव आचार्यले सोमबारको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ । नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए । उनले परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए ।