काठमाडौं(जस)–गत २४ घण्टामा छ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) संक्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला बुधबार संक्रमितभन्दा निको हुनेको संख्या बढेको हो । यस अवधिमा छ हजार ७१४ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या दुई जना बढी रहेको मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७६.९ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ८५३ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १९ हजार ३० पिसिआर परिक्षण भएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ७७ पुगेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ८ हजार ४५७ जना रहेका छन् भने होम आइसोलेसनमा एक लाख ८ हजार ६२० रहेका छन् । त्यस्तै अहिले नेपालमा १६७१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६८४५ पुगेको छ । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा छ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ४९३ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना थपिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभरमा संक्रिय संक्रमितको संख्या एक लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाकै कारण निधन भएको छ । हालसम्म मृतकको संख्या छ हजार ८४५ पुगेको छ ।