बिहिबार, जेष्ठ १३ २०७८
काठमाडौं । नेपालीहरुको दुख सुखमा सारथीका रुपमा सधै क्रियाशील रहँदै आएका कतारमा रहेका नेपालीहरुले वर्तमान कोरोना संकटसँग जुध्न नेपाल सरकारलाई एक करोड बढीको स्वास्थ्य सामग्री सहयोगस्वरुप नेपाल पठाउने भएका छन् ।
कतारस्थित नेपाली व्यवसायीहरुले छाता संस्थाका रुपमा रहेको नेपाली व्यवासायी संघ कतारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र पल्स अक्सिमिटरलगायत एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउन लागेको हो ।
कतारका लागि नेपाली राजदूतावासको समन्वयमा संघले गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समेत समन्वयमा उक्त स्वास्थ्य सामग्री नेपाल पठाउन लागेको हो । संघका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईंका अनुसार १४ वटा भेन्टिलेटर, ५० वटा अक्सिजन कन्सन्ट्रेटर, तीन हजार वटा पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल पठाउन लागिएको हो । यी सामग्री १० दिनभित्र काठमाडौं आइपुग्नेछ । अध्यक्ष चौलागाईंले सामग्री स्वास्थ्य मन्त्रालयमार्फत आवश्यकताअनुसार सातै प्रदेशमा पठाइने बताए ।
‘देशले चित्कार गरेको आजको असामान्य परिस्थितिमा यो महामारीको अनियन्त्रित संक्रमणले सृजना गरेको विपत्तिबाट बाध्यात्मकरुपमा गुज्रिनु परेका तथा दुख पीडामा छटपटाइ रहेको नेपालीहरुको अवस्था देख्दा हामी चुप लागेर बस्न सक्ने अवस्था रहेन । हामी कतारवासी नेपालीहरुले हिजोका दिनमा पनि देशले रसमाजले मागेको वखत विभिन्न तवरले हाम्रो तर्फबाट सकेसम्मको सहयोग गर्दै आएका थियौं । आजको यो विषम परिस्थिति तथा महामारीको चपेटामा परी छटपटाई रहेको नेपालीको अवस्था तथा ठूलो संख्यामा अकालमा ज्यान गुमाउनु परेको परिस्थितिले हरेक नेपालीलाई शोकको अवस्थामा पुर्याएको यस घडीमा जसले जे सक्छ जति सक्छ त्यस्तो सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो , धर्म पनि हो र विदशमा रहेबसे पनि हरदिन मातृभूमि सम्झिने यस मनलाई शान्ति प्रदान गर्ने एउटा बाटो पनि हो ’, उनले भने ।
संघका महासचिव रमेश भट्टका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि आव्हान गरिएको सहयोग अभियानमा ६८ जना व्यवसायीले १ लाखदेखि ८ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । व्यवसायीहरुले यसअघि पनि ओमानबाट ५६० वटा अक्सिजन पठाउँदा पनि सहयोग गरेका थिए ।
कतारमा क्रियाशील नेपाली संस्थामध्ये नेपाली व्यवासायी संघ (नेपाल बिजनेस एसोसिएसन) मात्रै कानुनी मान्यता पाएको संस्था हो । कतारमा साढे तीन लाख बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन्भने नेपाली व्यवसायीहरुले रेष्टरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरुलगायत विभिन्न व्यवसायमा लगानी गरेका छन् ।
कतारमा रहेका नेपालीहरुले सहयोगको लागी गरेको अपिलः
कतारमा स्थापित सम्पूर्ण आदरणीय व्यवसायी साथीहरुमा हार्दिक नमस्कार ।
कतारलाई कर्मभूमि बनाई सामाजिक र सहयोगी कार्यमा सधै अग्रगामी नेतृत्व लिँदै आउनु भएका विभिन्न व्यवसायमा संलग्न सफल व्यवसायीहरु लगायत करीब ३ लाख ५० हजारको संख्यामा रहेका हामी सबैलाई विगत करीब डेढ वर्षदेखि कोरोना संक्रमणको कारण सृजित महामारी तथा यसबाट हुन गएको धनजनको क्षतिको बारेमा अवगतै छ ।
यो महामारीका कारण देश तथा विदेशमा ज्यान गुमाउनु हुने सम्पूर्ण नेपाली तथा गैर नेपाली दाजुभाई दिदीबहिनीहरुको आत्माको चीर शान्तिको कामना गर्दै कोरोनाबाट संक्रमित हुनु भएका सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस महामारीको कारण गत वर्ष विशेष गरी विदेशमा ठूलो नकारात्मक प्रभाव परेको थियो भने यस पटकको संक्रमणको दोस्रो लहरमा नेपाल तथा छिमेकी मुलुक भारतलगायतका देशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु यसको गम्भीर प्रभावबाट अछुतो रहन सकेनन् । महामारी आक्रामक रुपमा डढेलो झैं फैलिएपछि देशभित्र रहेको स्वास्थ्य संरचनाले थेग्न नसकी नेपालीहरुको जनजीवन ह्रदयविदारक तथा कहालीलाग्दो हुन पुगेको छ । एक मुठी स्वास फेर्न अक्सीजनको अभाव भएर, अस्पतालमा शैया नपाएर तथा समयमा कोरोना परीक्षण हुन नसकेर नेपालीहरुको अकालमा ज्यान गइरहेको खबर तथा कारुणिक दृष्यले हामी विदेशमा शान्तिसँग बस्न सकेका छैनौं । अमीलो मन र पोलेको छाती बोकेर हामी हाम्रो दैनिक काम गर्न बाध्य रहेको यथार्थ हामी सबैको साझा अनुभव हो ।
देशले चित्कार गरेको आजको असामान्य परिस्थितिमा यो महामारीको अनियन्त्रित संक्रमणले सृजना गरेको विपत्तिबाट बाध्यात्मकरुपमा गुज्रिनु परेका तथा दुख पीडामा छटपटाइ रहेको नेपालीहरुको अवस्था देख्दा हामी चुप लागेर बस्न सक्ने अवस्था रहेन ।
हामी कतारवासी नेपालीहरुले हिजोका दिनमा पनि देशले /समाजले मागेको वखत विभिन्न तवरले हाम्रो तर्फबाट सकेसम्मको सहयोग गर्दै आएका थियौं । आजको यो विषम परिस्थिति तथा महामारीको चपेटामा परी छटपटाई रहेको नेपालीको अवस्था तथा ठूलो संख्यामा अकालमा ज्यान गुमाउनु परेको परिस्थितिले हरेक नेपालीलाई शोकको अवस्थामा पुर्याएको यस घडीमा जसले जे सक्छ जति सक्छ त्यस्तो सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो , धर्म पनि हो र विदशमा रहेबसे पनि हरदिन मातृभूमि सम्झिने यस मनलाई शान्ति प्रदान गर्ने एउटा बाटो पनि हो ।
यसै सिलसिलामा कतारस्थित नेपाली राजदूतावासका महामहिम राजदूतज्यूको संरक्षकत्वमा नेपाली व्यवसायी संघ कतारको संयोजकत्वमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतार उपसंयोजक रहेको १६ सदस्य Covid-19 Crisis Relief and Support Group गठन भएको व्यहोरा यहाँहरूमा विदितै छ ।
जन्मभूमिमा आईपरेको विपदको यस घडीमा कतारमा रहेका व्यवसायीहरुको तर्फबाट पनि आवश्यक सहयोग हुने कुरामा महामहिम राजदूतज्यू बिश्वस्त हुनुहुन्छ । यसै सिलसिलामा दोहामा रहेका हामी व्यवसायीको तर्फबाट रक़म संकलन गरी कम्तीमा अमेरिकी डलर १० हजारको दरले सातै प्रदेशमा उपलब्ध गराउने उद्देश्यले अमेरिकी डलर ७० हजार बराबरको सहयोग गर्न सके हामीबाट देशले केही राहत महसुस गर्नेछ भन्ने हामीलाई लागेको छ । तसर्थ विपदको यस असामान्य परिस्थितिमा र देश आँसु र शोकमा डुबेको यस घडीमा सम्पूर्ण व्यवसायी साथीहरु सबैलाई आआफ्नो तर्फबाट सकेसम्मको आर्थिक सहयोग प्रदान गर्न र आआफ्नो सम्पर्कमा रहनु हुने बिभिन्न सेवा र जागिरमा रहने साथी भाई लगायत इच्छुक रोजगारदाता कम्पनीमा सम्पर्क गरी सहयोग रकम जुटाई दिनको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रा अग्रजहरूले सेवा दान सम्भव भएसम्म गोप्य नै रहनु पर्छ भन्ने दिब्य संदेश हामीलाई दिएर जानु भएको सर्वबिदितै छ। यद्यपि यसपालिको सहयोग सामूहिक हुने, धन राशी पनि धेरै नै संकलन हुने अपेक्षा भएकोले आर्थिक पारदर्शिताको लागि दाताहरुको नामावली र संकलित रकमबाट खरिद हुने सामाग्री, खर्च तथा आय व्ययको सम्पूर्ण बिवरण यस संस्थाको आधिकारिक प्रेस बिज्ञप्ती मार्फ़त तपाईहरूलाई जानकारी गराई नेपालका पत्र पत्रिकामा समेत समाचार सम्प्रेषण गरिने व्यहोरा अवगत गराउन चाहन्छु ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।
हार्दिक धन्यबाद सहित,
महेन्द्रप्रसाद चम्लागाईं
अध्यक्ष
नेपाली व्यवसायी संघ
कतार
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij