काठमाडौँ(जस)– गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो । यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकोले तत्काल अन्तरराष्ट्रिय समूदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।
हवाई उडान सहजिकरण गर्न आग्रह
पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरराष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न सङ्घले अनुरोध गरेकोछ । विदेशबाट नेपाल फर्कदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायत विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजिकरण गरिदिन समेत सरकारसँग अनुरोध गरिएको छ ।
नागरिकतासम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण
लामो समयदेखि नै गैरआवासीय नेपाली सङ्घले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि सङ्घले नेपाल सरकारलाई अनुरोध गरेको छ ।