काठमाडौँ(जस)–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही साता अझै पनि चुनौतीपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताए । उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गरे । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको सङ्क्रमण बढिरहेको जनाए । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरेका छन् । उनले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताए ।
जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ उनले जारी गर्नु भएको सूचनामा भनिएको छ । यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सवैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्ने बताए । मन्त्रालयको अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ ।
५,७६७ जना कोरोना संक्रमित निको,
नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७६७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित उपचारपछि निको भएका छन् । सोमबार देशभरका प्रयोगशालामा २१ हजार ६५३ जनाको पीसीआर र ४३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९,२४७ जना संक्रमित थपिएका छन् । पिसिआरबाट ९,१९८ र एन्टीजेन विधिबाट ४९ संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१४ जनाको ज्यान गएको छ । नेपालमा हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ ।
यस्तै सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । ७०८ जना व्यक्ति क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २,३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।
भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश
सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको व्यवस्था गर्न भनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले आइतबार दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा उक्त आदेश जारी भएको हो ।
‘हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रा विशेषज्ञ पठाई उचित उपचारको व्यवस्था गर्नू,आइयियू तथा भेन्टिलेसनको प्रयोग गर्नका लागि विशेषज्ञको ब्यवस्था गर्नू’, आदेशमा भनिएको छ, ‘त्यतिकै थन्किएर रहेका आइसियू तथा भेन्टिलेसन मेसिनहरुलाई चुस्त र दुरुस्त बनाई प्रयोगमा ल्याउनू ।’ नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्न आदेशमा भनिएको छ ।
कोरोना संक्रमणबाट बचाउन माग गर्दै रिट निवेदन
सर्वोच्च अदालतमा कोभिड –१९ को संक्रमणबाट नागरिकलाई बचाउन सरकारले राज्यका सम्पूर्ण स्रोतसाधन लगाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, अर्थ, कानून, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई सोमबार दायर गरेको निवेदनमा स्वास्थ्य सामग्रीका अभावमा नागरिकको बाँच्न पाउने अधिकारबाट वञ्चित गर्न नमिल्ने माग गरिएको छ । निवेदनमा अस्पतालमा खचाखच भरिए पनि वैकल्पिक रुपमा खुला चौर, रंगशाला र होटलको जोहो गरी चिकित्सकीय निगरानीमा बिरामी जाँच्ने व्यवस्था मिलाउन तथा अक्सिजन अत्यधिक कम भएकाले अक्सिजन यथेष्ट आपूर्ति गर्न र खोप लगाउन नपाएकालाई त्यसको व्यवस्था गर्न माग गरिएको छ ।