काठमाडौं(जस)- नेकपा एमालेको स्थायी समिति बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक केहीबेर अघिबाट सुरु भएको हो। बैठकमा नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल भइरहेको छ।
यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिएकी छन्। एमालेभित्र असन्तुष्ट माधवकुमार नेपालसहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको छ।
नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो। बैठकले लचकताका साथ प्रस्ताव ल्याएमा अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने जनाइएको छ।
प्रधानमन्त्री ओली सम्भावित सत्ता समीकरणमा आफ्नो हात माथि पार्न सक्रिय भएका छन्। उनले आफू विरुद्ध मोर्चाबन्दी गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूको राजीनामा रोक्ने अन्तिम कसरत गरेका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को एउटा पक्ष तयार भए पनि नयाँ गठबन्धन सरकारका लागि बहुमत नपुग्ने भएपछि काँग्रेसले एमालेको नेपाल पक्षका सांसदहरूको साथ खोजिरहेको छ।
नेपाल पक्षले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्ना सांसदहरूले सामूहिक राजीनामा गर्न सक्ने निर्णय गरिसकेको छ। बिहीबार त्यो घटनाक्रम अघि बढ्न सक्ने आकलन गरेर ओलीले सक्रियता बढाएका छन्। उनले आफूनिकट नेताहरूलाई सम्भावित राजीनामा रोक्नका लागि पहल गर्न खटाएका छन्।