बिहिबार, बैशाख ३० २०७८
काठमाडौं(जस)–राष्ट्रपतिले विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउन दलहरुलाई दिएको समय सीमा आज सकिदैं छ । राष्ट्रपति भण्डारीले विहिबार राति ९ बजेसम्म संबिधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बनाउने दाबी पेश गर्न समय दिएपछि वैकल्पिक सरकार बनाउने कसरत तीब्र बनेपनि बुधबारसम्म नयाँ गठबन्धनको स्पष्ट खाका बन्न सकेन । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माणको पहल गरेपनि जनता समाजबादी पार्टी र नेकपा एमालेको नेपाल–खनाल समूहले स्पष्ट निर्णय दिन नसक्दा अन्यौलता बढेको छ । काँग्रेसको मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो । मंगलबार साँझ एमाले नेता माधवकुमार नेपाल र भीम रावल बुढानीलकण्ठ पुगेर काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
अहिले संसदमा देखिएको समीकरण हेर्दा काँग्रेस र गठबन्धनका लागि तयार भएको माओबादी केन्द्रलाई एमालेको नेपाल पक्ष र जसपाकोे सहयोग आवश्यक देखिएको छ । काँग्रेस, माओवादी केन्द्र र जसपाको यादव पक्ष एक ठाउँमा आउदा १२४ मत मात्र भएकाले उनीहरुलाई सरकार बनाउन चाहिने १३६ मत पुर्याउन थप १२ मत आवश्यक पर्दछ । यसका लागि काँग्रेस र माओवादी केन्द्रसँग जसपाको ठाकुर पक्षलाई मनाएर बहुमत पु¥याउने विकल्प रहेको छ । जुन विकल्पमा अहिलेसम्म असम्भव देखिएको छ । त्यस्तै अब अर्को सम्भावित विकल्प भने र निर्णायक भूमिका भने एमालेकै नेपाल पक्षले निभाउने भूमिका हुनेछ । सोमबार विश्वासको मत लिदा अनुपस्थित रहेका नेपाल पक्षका २८ सांसदले राजीनामा दिएमा भने काँग्रेस–माओवादी र जसपाको यादव पक्ष मिलेर सजिलै सरकार गठन हुने अवस्था देखिएको छ ।
हाल संसदमा कायम रहेका २७१ सदस्यमा नेपाल पक्षका २८ जनाले राजीनामा गरेमा संसदमा कायम रहने सदस्य संख्या घटेर २४३ हुन आउछ । २४३ को बहुमत १२२ हुने हुनाले यो संख्या तीन पार्टीले सजिलै पुर्याउने र जसपाको ठाकुर पक्षको मत पनि आवश्यक नरहने देखिन्छ । सोमबार नै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्यमार्फत बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए । प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, कांग्रेसका ६३ (दुई निलम्बित), माओवादी केन्द्रका ५३ (चार निलम्बित), जसपाका ३४ (दुई निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह राजीनामाको निचोडमा पुगेको छ । उक्त समूहले सम्भवतः छिट्टै यसबारे निर्णय लिने बताइएको छ । सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने निर्णयमा पुगेको स्रोतले बतायो । माधव समूहका नेताहरुले राजीनामा दिए जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि माधव पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको तयारी भएको स्रोतले बतायो । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको माधव समूहका नेताहरुले बताएका छन् ।
‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उनलाई एमाले र कम्युनिष्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो’, खनाल–नेपाल पक्षका एक नेताले भने, ‘समस्या नै ओली हुन्, फेरि उनलाई नै निरन्तरता दिन सकिँदैन भन्ने निचोड हाम्रो रह्यो ।’ गत २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा माधव पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । त्यसको संकेत बुधबार बिहान घनश्याम भुसालले गरिसकेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण गर्न नसकिने प्रष्ट्याएका छन् । यस्तै नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । भीम रावल पनि त्यही मान्यतामा उभिएका छन् । उनले बुधबार माइक्रो ब्लगिङ साइट ट्वीटरमा लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ ।’
‘यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ’, उनले थप व्याख्या गरेका छन्, ‘यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’ एमालेको माधव नेपाल पक्षभित्र सामूहिक राजीनामा चर्चा चलिरहेका बेला रावलले पनि राजीनामा दिनुपर्ने मत सार्वजनिक गरेका हुन् । तर, नेपाल पक्षभित्र सामुहिक राजीनामा दिने कुरामा एकमत बन्न सकिरहेको छैन । नेपाली कांग्रेससहितका विपक्षी दलले वैकल्पिक सरकार गठनका लागि नेपाल पक्षको राजीनामाको अपेक्षा गरिरहेका छन् ।
एमालेका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा एमाले विभाजनको तयारी भइरहेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । बुधबार झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिंदैछ ।’ उनले लेखेका छन्, ‘बुधबार हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’ भुसालले यसो भनेर यदि जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा नउभिए केपी ओलीलाई सत्ताबाट हटाउन माधव नेपाल पक्षले सांसदबाट राजीनामा दिने संकेत गरेका छन् । यसअघि गत सोमवार भुसाललगायतका नेताहरुकै असहमतिले राजीनामाको निर्णय रोकिएर माधव पक्षका सांसद अनुपस्थित भएका थिए ।
ओलीपनि छलफलमा
विपक्षी गठबन्धन नयाँ सरकार गठनका लागि आवश्यक सांसद संख्या जुटाउन कसरत गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच बालुवाटारमा साढे तीन घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ०९ः३० बजेदेखि दिउँसो एक बजेसम्म छलफल भएको स्रोतले जानकारी दिएको छ । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ । बहुमतको सरकार गठनका लागि आह्वान भइरहेका बेला नेताहरुबीच छलफल भएको हो । जसपाको ठाकुर पक्ष प्रधानमन्त्री ओलीको समर्थनमा छ । त्यस्तै अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनको पक्षमा छन् ।
विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि कसरत गरिरहेको छ । तर, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद संख्याले पनि सरकार गठनका लागि संख्या अपुग हुन्छ । यसैले कांग्रेस सभापति देउवा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षकोे सहयोगको अपेक्षामा समेत बसेको देखिन्छ । यस्तै बुधबार मात्र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्रीको नेतृत्वमा सरकार बन्न नसक्ने संकेत गरेका छन् । पछिल्लो समय भाजपाका एक नेताले भारतको चाहना केपी ओली नेतृत्वको सरकार भएको प्रतिक्रिया दिएसँगै ओली, महन्त र राजेन्द्रबीचको छलफललाई बल पुगेको जानकार बताउँछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वहुमतको सरकार गठनका लागि बैसाख ३० गतेसम्मको समय सीमा दिएकी छिन् । यसैले अहिले विपक्षी गठबन्धन सरकार गठनमा जुटिरहेको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij