एकैदिन २२५ को मृत्यु पुष्टि, ९४८३ जना संक्रमित थपिए
मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो
नियन्त्रणका लागि स्वास्थ्य संकटकाल आवश्यक : स्वास्थ्य मन्त्री
अस्पतालमा अक्सिजनको हाहाकार
नागरिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौंका सरकारी अस्पतालमा कोभिड विरामीको मात्र उपचार गरिने
काठमाडौँ(जस)–नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल मंगलबार यसअघि मृत्यु भएर सरकारी आँकडामा छुटेका गरि कोरोनाबाट थप २२५ जनाको मृत्यु भएको पुष्टि गरेसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको हो । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.९९ रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै मंगलबार नेपालमा थप ९४८३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कुल ९४८३ जना संक्रमित थपिएको जानकारी दिएको हो । अहिलेसम्म कुल ४ लाख १३ हजार १११ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार ८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ३ लाख १२ हजार १९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७५.५ रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा २० हजार ५९६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २६ लाख ७२ हजार ७२६ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ४४८ जना रहेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् भने होम आइसोलेसनमा ८९ हजार ९१४ रहेका छन् । त्यस्तै अहिले नेपालमा १०८४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने २९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पाँच सयभन्दा भन्दा बढी सङ्क्रमण भएका जिल्ला ३० पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी –बर्दघाट सुस्तापूर्व), दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी –बर्दघाट सुस्तापश्चिम), सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् । आइसियुमा १,०८४ र भेन्टिलेरमा २९०
सङ्क्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा १२७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूररपश्चिममा २४ जना आइसियुमा छन् । यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।
स्वास्थ्य संकटकाल आवश्यक : मन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् । मन्त्रालयले मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा बन्दाबन्दी आवश्यक रहेको बताए । उनले भने,‘सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ ।’ उनले अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण यही गतिमा बढे सरकारसँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने चेतावनी दिए । उनले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न अनुरोध गरे ।
मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोपका सम्बन्धमा नबुझी जथाभावी नबोल्न आग्रह गरे । ‘खोप खरीदमा सरकारले कसैलाई पनि कमिशन दिएको छैन,’ उनले भने, ‘सरकारले प्रत्यक्ष खोप उत्पादक कम्पनीसँग चार डलरमा खरीद गरेको हो ।’ उनले ‘कोभिशिल्ड’ खोप उत्पादन कम्पनी सिरम इन्सिच्युट अफ इण्डियामा आगलागी र भारतमा सङ्क्रमण फैलिएकाले नेपालले खरीद गरेको १० लाख मात्रा खोप नआएको स्पष्ट गरे । ‘भारतमा पनि सङ्क्रमण बढेर निर्यात गर्न दिइएको छैन,’ उनले भने, ‘भारतले निर्यातका लागि अनुमति दिएपछि नेपालमा खरीद गरिएको १० लाख मात्रा खोप आउँछ ।’
उनले खोप नेपाल ल्याउनका लागि नेपालस्थित अमेरिका, रुस, चीन र बेलायतका राजदूतावाससँग परराष्ट्र मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए । सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउनेबारे मन्त्रालयले सुझाव दिइसकेकाले अब सरकारले नै आवश्यकताका आधारमा घोषणा गर्न सक्ने बताए । उनले स्वास्थ्य सम्बन्धी सामग्री, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसंँग रु १४ अर्ब मंगलबारै सुनिश्चित गरिएको जानकारी दिए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सकिने बताए । उनले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डिसिभिर सहज रुपमा उपलब्ध गराउन थालिएको जानकारी पनि दिए ।
सरकारी अस्पतालमा कोभिड विरामीको मात्र उपचार गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । सरकारीसँगै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए । अर्यालले मंगलबार पत्रकार सम्मेलनमार्फत् संक्रमितको संख्या उच्च भएकाले अक्सिजन आपूर्तिमा सरकारलाई चुनौति थपिएकाले भारत सरकारसँग लिक्विड अक्सिजन उत्पादन बढाउनेबारे छलफल भइरहेको पनि बताए ।
सचिव अर्यालका अनुसार हाल दैनिक १५ हजार सिलिन्डरसम्म अक्सिजन आवश्यक परेको बताए । तर अक्सिजन उद्योगले दिनमा १० हजार सिलिन्डर मात्र रिफिल गर्न सक्ने उनले जानकारी दिए । अस्पतालहरुको प्लान्टबाट दिनमा दुई हजार सिलिन्डर आपूर्ति भइरहेको उनको भनाइ छ ।अक्सिजनको आवश्यकता पूरा गर्न तत्काल आयात गर्नुको विकल्प नभएको पनि सचिव अर्यालले बताए । ‘हामीले तत्काल अक्सिजनको उत्पादन र आया बढाउनुपर्छ, लिक्विड अक्सिजनको प्रयोग गर्नुपर्छ’ उनले भने । चीनबाट एयर लिफ्ट गरेर २००० अक्सिजन सिलिन्डर ल्याउने र १० वटा लिक्वीड अक्सिजन खरिदका लागि बोलपत्र आह्वान भइसकेको पनि सचिव अर्यालले बताए । अक्सिजन आयात गर्नेका लागि सरकारले भन्सार छुट गरेको पनि उनले बताए ।
नागरिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनधुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न मंगलबार आदेश जारी गरेको हो ।काठमाडौं । औषधि र अक्सिजन सहज बनाउन र थप अस्पताल सञ्चालन गरी कोरोना संक्रमित बिरामीको उपचार सहज बनाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । अधिवक्ता शैलेन्द्र प्रसाद अम्वेडकरलगायतले दायर गरेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगातका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए जेठ ७ गतेभित्रमा पेश गर्न आदेश दिँदै निरुपणका लागि ९ गते पेश गर्न भनेको छ । आवश्यक औषधि र अक्सिजनको आपूर्तिको समस्या विरामीसँग प्रत्यक्ष सरोकार राख्ने र अस्पतालमा नभई नहुने भएकाले सहज व्यवस्था गर्न अन्तरिम आदेशमा भनिएको छ ।
‘संक्रमित व्यक्तिहरुको दिनदिनै बढ्दै गइरहेको संख्यालाई दृष्टिगत गरी उपचारबाट कसैले पनि विमुख हुन नपरोस भन्नाको लागि थप साधनयुक्त अस्पतालहरु संचालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नु पर्ने समेतका समस्याहरुको समयमै सम्वोधन हुनु पर्ने देखिएकाले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधानयुक्त अस्पताल संचालनमा ल्याउनु,’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नु ।’ यी विषयको व्यवस्थापनको लागि लागि आवश्यकता अनुसार सरोकारवालाको प्रतिनिधित्व समेत हुने गरी एउटा कार्य समिति समेत निर्माण गर्न सरकारलाई आदेश दिएको छ ।
अक्सिजनको हाहाकार
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भएपनि सात हजार २०० सिलिण्डर उत्पादन भइरहेको बताए । नौ वटा अक्सिजन प्लान्टले दैनिक उक्त उत्पादन गरेका हुन् । ‘दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइफ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको छ,’ उनले भने, ‘अक्सिजनको उत्पादन र मागबीच ठूलो अन्तर छ ।’ वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने बताइएको छ ।
‘विद्युतबाट अक्सिजन र पुराना अक्सिजन प्लाण्ट मर्मत गरेर उत्पादनको तयारीमा छौ’, उनले भने, ‘विदेशबाट तरल अक्सिजनको आयात चाँडै गरेर पनि यसको अभाव हुन दिँदैनौ ।’ उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको छ । प्लान्टमा समस्या भए नेपाली सेनाको टोलीले मर्मत सम्भार गरेर चलाउने छ । उपत्यकामा अभाव कम गर्न पोखरा, चितवन र वाराबाट अक्सिजन ल्याइएको छ । ‘धेरै बिरामीलाई अक्सिजन चाहिएको छ । उत्पादनको आधारमा पु¥याउन सकेका छैनौ’, उनले भने, ‘अक्सिजनको अभावले मानवीय क्षति हुन नदिन हामी सचेत छौ ।’
नेपालमा उत्पादन कम भएकोले दातृनिकायबाट तरल अक्सिजन ल्याउने जनाइएको छ । ति तरल अक्सिजन सिलिण्डरमा हालेर वितरण गर्ने तयारी छ । तरल अक्सिजन प्लान्ट तीन सरकारी र तीन निजी अस्पतालमा छ । तीमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा सञ्चालनमा छन् । सिसिएमसीले अस्पतालका बिरामीलाई अक्सिजन पुर्याउन आवश्यकताका आधारमा न्यूनतम कोटा निर्धारण गरेको छ । अक्सिजन उत्पादनमा समस्या पर्ने भएकोले नियमित विद्युत आपूर्तिको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij