आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएन मध्यपूर्वले ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउँदै, यही हप्ताभित्र नेपाल आइपुग्ने

मंगलबार, बैशाख २८ २०७८

काठमाडौं । कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि मध्यपूर्वमा रहेका नेपालीहरुले ६ सय अक्सिजन सिलिण्डर नेपाल पठाउने भएका छन् ।

गैरआवासीय नेपाली संघ मध्यपूर्वले ६ सय अक्सिजन सिलिण्डर यही हप्ताभित्र नेपाल पठाउने भएको हो । नेपाली दूतावास ओमानको सहकार्यमा ओमानबाट ४० लिटर क्षमताका ६ सय वटा सिलिण्डर नेपाल पठाउन प्रकृया अगाडि बढिसकेको यस अभियानका संयोजक तथा एनआरएन आइसीसी सचिव आरके शर्माले जानकारी दिए ।

‘कोभिडको विषम परिस्थितिमा सिंगो मध्यपूर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डर मार्फत दैनिक १२ सय नेपालीलाई जीवनदान’ भन्ने नाराका साथ एनआरएन मध्यपूर्वले अभियान थालेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘अहिले नेपालमा कोरोना संक्रमितले हस्पिटलमा बेंड नपाएर छटपटाई छटपटाई ज्यान गुमाउनु परेका हृदयविदारक अवस्था छ भने अक्सिजनका सिलिंडरको अभावले गर्दा बचाउन सकिनेको पनि ज्यान गइरहेको छ, आजको यो स्थितीमा हामी मध्यपूर्वबासी नेपालीले एक हप्ताभित्र अक्सिजनका सिलिंडर नेपाल पठाउन अभियान सुरु गरेका छौ’ संयोजक शर्माले बताए ।

मध्यपूर्वमा रहेका एनआरएन एनसीसी, संघसंस्था तथा सहयोगी हातहरुबाट रकम उठाएर पहिलो चरणमा नेपालमा अक्सिजन सिलिण्डर पठाउन लागिएको एनआरएन मध्यपूर्वका संयोजक प्रविन गुरुङले जानकारी दिए । ‘हामीले एनआरएन आइसीसीको कार्यक्रम अन्तर्गत मध्यपूर्वबाट छुट्टै अभियान थालेका छौं, यो सहयोगले केही हदसम्म टेवा पुग्ने आशा राखेका छौं’ गुरुङले बताए ।

अहिले नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिण्डर अभाव हुँदा विरामीले अक्सिजन पाउन सकेका छैनन् । ओमानमा सिलिण्डर खरिदका लागि प्रकृया अगाडि बढिसकेको र नेपाली दूतावास ओमानले सहजीकरण गरिदिएको जानकारी एनआरएन प्रवत्तmा तथा एनआरएन ओमानका संस्थापक अध्यक्ष डिबी क्षेत्रीले जानकारी दिए ।

एनआरएनएले कोरोना महामारीमा विभिन्न सहयोग कार्यक्रम ल्याइरहँदा एनआरएन मध्यपूर्वले तत्काल सिलिण्डर पठाउने अभियान थाल्दा अन्य क्षेत्रबाट पनि सहयोग गर्नुपर्ने आवश्यकता छ ।

एनआरएन सल्लाहकार टिवी कार्की, मध्यपूर्व उपसंयोजकद्वय मनोज गोर्खाली, राजेन्द्र अर्याल, एनआरएन ओमानका अध्यक्ष बिकल झाले मध्यपूर्वमा रहेका आम नेपालीलाई नेपालमा अक्सिजन सिलिण्डर पठाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । कोरोना विरामीले अक्सिजन अभावबाट मृत्यु हुन नपरोस् भन्ने मध्यपूर्वको अभियानमा सबैको साथ र सहयोगको जरुरी छ ।

हाल नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिण्डर अभाव हुँदा विरामीले अक्सिजन पाउन नसकेकाले ओमानमा सिलिण्डर खरिद प्रकृया अगाडि बढाएको एनआरएनए ओमानका अध्यक्ष झाले बताए यो कार्यक्रमका योजनाकार झाले सबै प्रक्रिया शुरु भएको र एक हप्तामा सिलिण्डर नेपाल पुर्याउने दाबी गरे झाले यो कार्यक्रम सफल पार्न नेपाली दूतावास ओमान र राजदुत सर्मिला पराजुली ढकालको ठुलो योगदान रहेको बताए उनले हाल ओमानको सरकारी प्रक्रियाको राजदुताबासले सहजीकरण गरिदिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार