सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एमाले विवादमा नयाँ तरंग : ओली र नेपालको भेट, छलफल सकारात्मक भएको दाबी

कारवाही रोक्न माग गर्दै नेपाल–खनाल पक्ष सर्वोच्चमा

बिहिबार, बैशाख ९ २०७८

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) मा लामो समयदेखि बढेको विवाद र तिक्तताबीच नयाँ तरंग श्रृजना भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ । सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो ।
माओवादी केन्द्रसँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने र त्यसमा नेपाल पक्षका सांसदले मत दिन सक्ने अनुमानपछि अध्यक्ष ओली उक्त समूहप्रति कडा भएका छन् । दुवै पक्षबीच समूहगतरुपमा गत चैत २ गते पार्टीको कन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल भए पनि कुनै सहमति भएको थिएन ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिनको अघिल्लो दिन अध्यक्ष ओली र नेता नेपालबीच बुधबार साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भएको भेटवार्तापछि उनीहरूले त्यहाँ उपस्थित सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिए पनि दुवै प्रफुल्लित मुद्रामा बाहिरिएका थिए । अध्यक्ष ओली र नेता नेपालबीच करिब २ घण्टा एक्लै वार्ता भएको हो । उनीहरूबीच एकाएक भएको भेटवार्ताको समाचार सङ्कलन गर्न त्यहाँ पुगेका राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यका प्रतिनिधिले आग्रह गर्दा पनि नेता नेपालले प्रतिक्रिया दिन मानेनन् भने सुरक्षाकर्मीको घेराका कारण प्रधानमन्त्री ओली निस्कँदा पत्रकार उनी नजिक पुग्न सकेका थिएनन् ।
वार्तास्थलमा नेतासँगै उक्त होटेलबाट बाहिर निस्किएका प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार मोती दुगडले शीर्ष नेताहरूको संवाद हुनु सकारात्मक भएको उल्लेख गर्दै वार्तामा भएका विस्तृत विषयबारे भने अनभिज्ञता व्यक्त गरे । उनले भने, ‘मुलुकको विकास र परिवर्तनका लागि त्याग र सङ्घर्ष गरेका दुवै ठूला नेताहरू राजनीतिको क्षेत्रमा परिपक्व भएकाले उहाँहरू मिल्दा देश र जनतालाई लाभ हुन्छ । उहाँहरू प्रफुल्लित मुद्रामा बाहिरिनुभएको तपाईँहरूले पनि देख्नुभएको छ । यो सकारात्मक सङ्केत हो ।’
पार्टीविरोधी गतिविधि गरेको आरोपमा नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीले छ महिनाका लागि निलम्बन गरेको थियो भने दुई दिनअघि उनीहरूसहित २७ जना सङ्घीय सांसदलाई प्रतिनिधिसभा सदस्यका हैसियतमा थप स्पष्टीकरण सोधिएको थियो । एमालेका ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरी कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका प्रदेश सांसद प्रकाश ज्वालासहित पाँच जनालाई पनि स्पष्टीकरण सोधिएको छ ।
स्पष्टीकरणको जवाफ तयार हुँदै गरेको अवस्थामा अध्यक्ष ओली र नेता नेपालबीच बेग्लाबेग्लै संवाद भएपछि पार्टीमा हुने सक्ने विभाजन रोकिनसक्ने र मुलुकले राजनीतिक स्थिरता पाउन सक्नेमा नेता–कार्यकर्ता र जनस्तरमा सकारात्मक सन्देश प्रवाह भएको हो । विवाद बढेपछि अध्यक्ष ओलीले नेपाल पक्षसँग समूहमा वार्ता नगर्ने तर व्यक्तिगत तहमा वार्ता गर्न भने आफू तयार रहेको जनाउँदै आएका थिए भने नेता नेपालले आफू प्रधानमन्त्री ओलीको सरकारी निवासमा वार्ताका लागि नजाने र एक्कै वार्तामा नबस्ने अडान राख्दै आएका थिए ।
दुवै पक्षका दोस्रो तहका नेताले ‘जनताको बहुदलीय जनवाद’ को विचार र सूर्य चिह्नप्रतिको समान निष्ठा भएका नेता–कार्यकर्ताबीच व्यक्तिगत आवेगका आधारमा विभाजन हुन नहुने भएकाल वार्ताको पहल गर्दै आएका थिए । प्रधानमन्त्री ओलीसँग बुधबार नै एमालेका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले बालुवाटारमा भेटी अध्यक्ष ओलीले लचकताका साथ एकता बचाउन विशेष पहल लिनुपर्ने बताएका थिए ।
कारवाही रोक्न माग गर्दै नेपाल–खनाल पक्ष सर्वोच्चमा
काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल पक्ष सर्वोच्च अदालत गएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय रुपमा सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चमा निवेदन दिएका छन् । नेपाल–खनाल पक्षको निवेदन भने अध्ययन गर्न समय नपुगेको भन्दै दर्ता भने नभएको सर्वोच्च स्रोतले बताएको छ । निवेदनमा राजनीतिक दलको ऐन विपरित कारवाही गर्न लागिएको भन्दै सो रोक्न आदेश माग गरिएको छ । साथै निवेदनमा सर्वोच्चको फैसला अनुसार एमालेको २०७५ जेठ २ गतेको अवस्था रहने गरि आदेश माग गरिएको छ ।
नेपाल–खनाल पक्षले दिएको निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सर्वोच्चमा निवेदन दिएका हुन् भने नेपाल पक्षले कानुन व्यवसायी अधिवक्ता टीकाराम भट्टराईलगायतमार्फत सर्वोच्च अदालतमा निवेदन बुझाएका हुन् । ओलीले २७ संघीय सांसद्लाई मंगलबार पत्र पठाउँदै पार्टीबाट निष्काशित किन नगर्ने भन्ने प्रश्न सोध्दै दुई दिन भित्र जवाफ दिन पत्र पठाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार