सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरोना बढेपछि सरकारको नयाँ आदेश जारी : आजदेखि के–के गर्न पाइन्छ के–के गर्न पाइँदैन ?

मंगलबार, बैशाख ७ २०७८

# शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द
# सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितका खेल र मानिसको भीडभाड हुने सबै प्रकारका कार्य पनि वैशाख मसान्तसम्म बन्द
# सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
# होटेल तथा रेष्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइने

काठमाडौँ(जस)–कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । सरकारले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिका, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हटौँडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका, मेची नगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्था, विद्यालय, इन्स्टिच्युट, तालीम केन्द्रलगायतलाई यही वैशाख मसान्तसम्म भौतिकरूपमा उपस्थित नभई भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई सञ्चालन गर्ने आदेश जारी गरेको छ ।
विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन हुनेछन् । सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, डान्स क्लब, हेल्थ क्लब, जिम खाना, पौडी पोखरी, फुटसल, आमसभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितका खेल र मानिसको भीडभाड हुने सबै प्रकारका कार्य पनि वैशाख मसान्तसम्म बन्द गरिएको छ ।
मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्यपूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने, एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने, सामाजिक दूरी अवलम्बन गर्ने गरी शपिङ मल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने, मास्क र साबुनपानीको व्यवस्था व्यवस्थापकले नै गर्नुपर्ने, मेला, जात्रा, पर्व, विवाहलगायत धार्मिक अनुष्ठान र मलामीलगायत धार्मिक तथा परम्परागत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन । विवाह वा व्रतबन्धका लागि पार्टी प्यालेसको प्रयोग गर्नु पर्दा स्थानीय प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने, सभा, सम्मेलन, गोष्ठी, तालीमलगायत क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रूपमा उपस्थित भई गर्नै पर्ने भएमा बढीमा २५ जना मात्र उपस्थित हुनुपर्नेछ ।
सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोका र भित्र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्ने, चालक र सवारी चालकले मास्क अनिवार्य लगाउनुपर्ने, सवारी सधानलाई दैनिक निसङ्क्रमण गर्नुपर्नेछ । हवाईजहाजका चालक र यात्रुलाई अनिवार्य मास्क, जहाज र झोलालाई स्यानिटाइज गर्नुपर्ने, कार्यालय र पसलमा स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने, कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले रु १० लिई मास्क प्रदान गर्नुपर्ने, मास्क नलगाउने व्यक्तिलाई कार्यालय प्रवेशमा रोक लगाउने आदेश जारी गरिएको मन्त्री गुरुङले जानकारी दिए । यस्तै होटेल तथा रेष्टुरेन्टले बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सेवा दिनुपर्ने, अन्य समयमा होम डेलिभरी गर्नुपर्ने, राष्ट्रिय राजमार्गमा सञ्चालित होटेल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्ड पालना गरी भीडभाड हुन नदिने व्यवस्था मिलाउने, नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणाली लागू गर्न व्यवस्था मिलाउने, नियमित सञ्चालन हुने स्वास्थ्य संस्था स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्नेछ ।
थप एक हजार २८१ जनामा कोरोना पुष्टि
थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । थप सात हजार एक जनाको पिसिआर परीक्षण गर्ने क्रममा एक हजार २८१ जनामा तथा ५४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ५२ हजार ५०२ जना पुगेको छ ।
हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ६३४ जना रहेका छन् । काठमाडौँ ५०५, ललितपुर ९७ तथा भक्तपुरमा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।हालसम्म दुई लाख ७५ हजार ५५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । हाल सात हजार २५४ सङ्क्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय आठ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ९१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार