काठमाडाैं / राजधानीमा जारी त्रिदेशीय टी ट्वान्टी क्रिकेटमा नेपालले पहिले खेलमा नेदरल्यण्ड्सविरुद्ध सानदार जित निकालेकाे छ । आज भएको खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्ध ९ विकेटको जित निकालेको हो । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतीमा पूरा गर्यो ।नेपाललाई जित दिलाउन डेब्यु खेलाडी कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । नेपालका लागि कुशलले ६२ रनको योगदान दिए । यस्तै आसिफ ५४ र ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि जुलियन डी मेले एक मात्र विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि बास दी लिडले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै, स्कट एड्वार्ड्सले ३०, कप्तान पिटर सिलारले अविजित २३ रनको योगदान गरेका थिए । खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र शाहब आलम एक एकविकेट लिएका थिए ।
अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।