काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेलेपनि समग्रमा ३-१ को जीत कायमै राख्दै रियल अन्तिम ४ मा पुगेको हो ।
रियलले पहिलो लेगको खेलमा नै ३–१ को जित निकालेको थियो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा रियललाई दबाबमा राखेपनि गोल गर्न नसक्दा लिभरपुल अघि बढ्न सकेन ।
रियल मड्रिड दुई वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । रियलले अब फाइनल प्रवेशका लागि इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैबीच इंग्लिस क्लब म्यान्चेस्टर सिटी पनि अन्तिम चारमा पुगेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा बोरुसिया डर्टमुन्डलाई २-१ ले हराउँदै सिटीले समग्रमा ४-२ को जीत निकाल्यो । पहिलो लेगमा पनि सिटी २-१ ले विजयी भएको थियो ।
गएराति सिटीको जीतमा रियाद माहरेज र फिल फोडेनले १-१ गोल गरेका थिए । डर्टमुन्डका वुड बेलिङहामले १ गोल गरे ।
सिटीले फाइनल प्रवेका लागि पेरिस सेन्ट जर्मेन पिएसजीसँग प्रतिस्पर्धा गर्नेछ ।