काठमाडौं, २ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक जीत हासिल गरेको छ । बैंगलोरले सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गरेको हो ।
बैंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदराबादले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । कप्तान डेभिड वार्नरले ५३ रन बनाएपनि टोलीलाई जीत दिलाउन सकेनन् । मनिष पान्डेले ३९ रन बनाए । बैंगलोरका शाहबाज अहमदले ३,मोहम्मद सिराज र हर्षल पटेलले २-२ तथा काइल जेमिसनले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । उसका लागि ग्लेन म्याक्सवेलले ५९ रन बनाए भने कप्तान विराट कोहलीले ३३ रन बनाए । हैदराबादका जेसन होल्डरले ३, राशिद खानले २ तथा भुवनेश्वर कुमार, शाहबाज नदीम र टी नटराजनले १-१ विकेट लिए ।
लगातार दोस्रो जीत निकालेको बैंगलोर ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने हैदराबादको यो लगातार दोस्रो हार हो ।
प्रतियोगिताअन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ ।